सुर्खेत, २२ फागुन / सुर्खेत कुनाथरी गाविसका सहविर थापा भारतीय सेनाका पेन्सन रिटायर्ड हुन् । केही वर्षअघि भारतमा रहेको उनको जागिर सकियो । जागिर सकिए पश्चात नेपाल फर्केर बाख्रापालन सुरु गरेका थापाले अहिले व्यावसायीक रुपमा बाख्रापालन गरेर वर्षेनी मनग्य आम्दानी गर्दै आएका छन् ।
अन्य व्यवसायभन्दा सहज हुने भएकाले आफुले बाख्रापालन सुरु गरेको थापाको भनाई छ । जिल्लामा व्यावसायिक बाख्रापालनमा कृषकहरुको आकर्षण सँगै, आम्दानीमा वृद्धि भएको छ । उनीहरु व्यवस्थित खोर बनाई बाख्रापालन गर्न लागेका हुन् । विगत ३ वर्षदेखि बाख्रापालन गर्दै आएका थापाले बाख्रापालनबाट राम्रो आम्दानी भएको बताएका छन् ।
बाख्रापालनका लागि व्यवस्थित खोर भएकाले खोरमै दानापानी र घा“स खुवाउने प्रबन्न्ध मिलाईएको छ, जसले गर्दा बाख्राको उचित वृद्धि विकास भएको थापाको भनाई छ ।
‘बाख्रा र खसी बिक्रीका लागि बजारको समस्या छैन,’ थापाले भने । उनी भन्छन्, ‘खोरमै खसीबोका किन्न ग्राहक आइपुग्छन्, एउटा खसी बेच्यो भने थोरै भने पनि १६÷१७ हजार रुपैयाँ हुन्छ । हेफरले अनुदानमा दिएका माउबाख्राहरुबाट जन्मिएका पाठा वा पाठी फेरि अन्य सदस्यलाई वितरण गर्ने गरेको थापाको भनाई छ ।
कुनाथरीका विभिन्न वडामा कुल समूह, बैनी समूह र उपहार समूह गठन गरी समूहमार्फत सदस्यहरुलाई बाख्रा उपलब्ध गराउने सफलता सामाजिक उद्यमी महिला सहकारीका अध्यक्ष चन्द्रा गौतमले जानकारी दिइन् ।
बाख्राहरुमा कुनै रोग देखा परे तत्काल उपचार गर्नका लागि एग्रोभेट तथा प्राविधिकहरुको व्यवस्था छ, उनले भनिन्, ‘हामीले कृषकको घरमै पुगेर उपचार गर्ने व्यवस्था पनि मिलाएका छौं ।’
सहविर मात्रै होईन्, सुर्खेत कुनाथरीका महिलाहरु बाख्रापालन व्यवसायबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । बाख्रापालनबाट सहजै जीवनयापन गर्न सकिन्छ भन्ने कुराको उदाहरण कुनाथरीका महिलाहरु बनेका छन् ।कुनाथरी गाविस ८ चन्द्रा गौतमले बाख्रापालन व्यवसायबाट आर्थिक रुपमा जीवन सहज हुँदै गएको बताइन् ।
हेफर ईन्टरनेशनल र सुन्दर नेपाल संस्थाले संयुक्त रुपमा साना किसान सुदृढिकरण परियोजना मार्फत छरिएर रहेका कृषकहरुलाई एकिकृत गरी बाख्रापालनका लागि आर्थिक तथा प्राविधिक सहयोग गरेपश्चात महिलाहरु बाख्रापालन तर्फ आकर्षित भएका महिलाहरु अहिले समृद्ध बन्दै गएका छन् ।
कुनाथरी गाविसमा रहेका ३० वटा महिला समूहहरु अहिले सफलता सामाजिक उद्यमी महिला सहकारीमा आवद्ध भएर संगसंगै व्यवसाय गर्दै आएका छन् ।हेफरले बाख्रापालनका लागि आधारशिला तालिम दिएपछि व्यवसायीक बाख्रापालनका लागि सहज भएको उनीहरुको भनाई छ । महिलाहरुले बाख्रापालनसंगै बोइलर तथा लोकल कुखुरा पालनलाई पनि संगसंगै लगेका छन् ।
सफलता सामाजिक उद्यमी महिला सहकारी कुनाथरीका अध्यक्ष चन्द्रा गौतम भन्छिन्, ‘सुरुसुरुमा थोरै बाख्रा हुन्थे, व्यावसायीक बाख्रापालनले आर्थिक पाटो बलियो हुन्छ भन्ने थाहा थिएन तर अहिले बाख्रा पालन नै यस गाविसका अधिकांश परिवारको रोजगारी हो ।’
सहकारीमा कुनाथरी गाविसका १७ सय घरधुरी जोडिएका छन् । सहकारीमा आवद्ध हुनको लागि विभिन्न व्यवसायमा आवद्ध भएकै हुनुपर्ने प्रावधान रहेको छ ।
अर्का किसान डिला सारुले पनि अहिले व्यावसायीक रुपमा बाख्रा पालन सुरु गरेपछि साना कामका लागि परिवारसँग हात थाप्नुपर्ने बाध्यता अन्त्य भएको छ ।
१० वटा बाख्राबाट व्यावसायीक रुपमा बाख्रापालन सुरु गरेकी पश्चिम सुर्खेतकी डिला सारुसँग अहिले ३० वटा बाख्रा छन् । खसीबाख्रा बेचेरै वार्षिक रुपमा लाखौं रुपैयाँ आम्दानी गर्दै आएकी सारुले जीवन पनि बाख्रा पाल्दै गएपछि सहज बनिरहको बताइन् । कुनाथरीका प्रत्येक परिवारले व्यावसायीक बाख्रापालन व्यवसायबाट वर्षेनी २ लाखसम्म कमाई गर्दै आएका
छन् । अहिले बाख्रापालन व्यवसाय फैलिदैँ गएको छ । सारुले भनिन्, ‘आफुले उत्पादन गरेका खसीबाख्रा बेच्नका लागि कुनाथरीमा रहेको पशु संकलन केन्द्रमा सजिलैसँग बिक्रि हुन्छ ।’ किसानको यो पेशाप्रति आकर्षण बढाउन हेफरले बेला बेलामा तालिम तथा तथा किसानका घरदैलोमा पुगी आवश्यक सरसल्लाह दिँदै आएको छ ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, फाल्गुन २२, २०७३