बैजनाथको नीति तथा कार्यक्रम : जनमैत्री प्रशासन,नौवस्ता सञ्चालनदेखि सीमा विवादसम्म



शुभाकर विश्वककर्मा
कोहलपुर : बैजनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८००८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । शनिबार नियमित गाउँ सभामार्फत अध्यक्ष प्रकाश बहादुर शाहीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा स्वास्थ्य,शिक्षा, खानेपानी तथा सरसफाई,कृषि तथा सिँचाइ र भू–उपयोथ तथा सहकारी क्षेत्रलाई प्रमुख प्राथमिकता दिइएको छ ।


गाउँपालिका अध्यक्ष शाहीले जनमैत्री उत्तरदायी प्रशासन सञ्चालन,किसानसँग पालिका प्रमुख, सामुदायिक क्याम्पस सञ्चालन, लालपूर्जा वितरण, नौवस्ता औद्योगिक क्षेत्र भित्र रहेका बासिन्दाको व्यवस्थापन गरी औद्योगिक क्षेत्र सञ्चालनका लागि पहल गर्ने, बैजनाथ–४, कोहलपुर–१ र २ नम्बर वडाको सीमा विवादलाई समन्वय गरी समाधान गर्ने नीतिलाई प्राथमिकता दिइएको बताएका छन् ।

यस्तै नीति तथा कार्यक्रमा महिला, बालबालिका, जेष्ठ नागरिक तथा थारु समुदाय,लोपोउन्मुख, मधेशी, मुस्लिम र दलित समुदायलाई समेत नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समेटिएको हो ।

ती मध्ये जन्मेदेखि २० वर्षसम्म छोरी बिमा कार्यक्रम लागू गर्ने, एकल महिलालाई आयमुलक कार्यक्रममा लगाउने, गाउँपालिकामा रहेका एकल पुरुष आर्थिक सहयोग कार्यक्रम सञ्चालन तथा जेष्ठ नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता वितरण,जेष्ठ नागरिक देवा सेवा केन्द्र, मिलन केन्द्रदेखि सेवामा पहिलो प्राथमिकता दिने योजनालाई अघि सारिएको छ ।
स्वास्थ्य सेवातर्फ निःशुल्क एम्बुलेन्स सेवा, अपांगता भएका व्यक्तिलाई घरघरमै सेवा, अति विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिने,गर्भवती महिला वर्थिङ सेन्टरमा नियमित चेकजाँच गरी शिशु जन्माएमा प्रोत्साहन स्वरुप २५ सय रुपैयाँ दिने, १५ शथ्याको अस्पताल सञ्चालन, पोषणमैत्री गाउँपालिका बनाउने नीति लिइएको छ ।

शिक्षातर्फ स्थानीय प्रमुखसँग संवाद कार्यक्रम, माध्यमिक तथा आधारभूत तहका विद्यालयमा एक वडा, एक स्वास्थ्यकर्मी कार्यक्रम, पढ्दै कमाउँदै कार्यक्रम लागू गर्ने, प्रत्येक हप्ताको शुक्रबार झोलारहित कार्यक्रम, छारा आराम कक्षको व्यवस्था,एक वडा एक नमूना विद्यालयको अवधारणा ल्याउने र टिनको छानामुक्त विद्यालय बनाउने नीति गाउँपालिकाले लिएको छ ।

खानेपानी र सरसफाइतर्फ एक घर,एक धारा उपलब्ध गराउने, मुख्य बजार क्षेत्रमा ढलको व्यवस्थापन, प्रत्येक वडामा खानेपानी योजनाका लागि डीपीआर बनाउने देखि कृषि तथा सिँचाइ र भू–उपयोगतर्फ पुष्पखेती प्रवर्धन, एक किसान, एक व्यवसाय खेतीको नीति लिइने, दुई वटा कृषि एम्बुलेन्स सञ्चालन, उत्पादनको आधारमा कृषकलाई प्रोत्साहन भत्ता प्रदान, किसानसँग पालिका प्रमुख कार्यक्रम मार्फत विग बजेटको व्यवस्था, प्रत्येक वडामा उत्पादनको आधारमा पकेट क्षेत्र विस्तार, कृषि र पशुको लागि बजारीकरणको व्यवस्था र एक घर एक मौरिंगा अभियानलाई निरन्तरता दिइएको छ । सहकारी क्षेत्रतर्फ एक सहकारी एक उत्पादन कार्यक्रम अघि बढाउने,अर्थतन्त्र मैत्री सहकारी बनाउने भएको छ ।
पशुपन्छी र मत्स्यपालनतर्फ युवा उद्यमीलाई विशेष सहुलियत,एक वडा एक पशु स्वास्थ्य प्राविधिक, पशु बिमा कार्यक्रमको नीति लिइने, किसानको वर्गीकरण गरी परिचय पत्र उपलब्ध गराउने र छाडा पशुको उचित व्यवस्थापन गरिने भएको छ ।
युवा तथा खेलकूद शीर्षकमा फुटबल एकेडेमी सञ्चालन, खुल्ला पालिका प्रमुख फुटबल प्रतियोगिता सञ्चालन, उप–प्रमुख रनिङ शिल्ड प्रतियोगिता, बहु–उद्देश्यीय रंगशाला निर्माण गर्ने, युवासँग पालिका प्रमुख सञ्चालन गर्ने र पर्यटन प्रवद्र्धन र धर्म, संस्कृति र कला क्षेत्रको विकासका लागि एक वडा एक पर्यटकीय स्थलको पहिचान, पर्यटन गुरुयोजना निर्माण गर्ने,सीमसार क्षेत्रको संरक्षण र बैजनाथ थारुको शालिक निर्माण गर्ने कुरापनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
भौतिक पूर्वाधारतर्फ ‘हाम्रो बैजनाथ, सुरक्षित बैजनाथ’लाई साकार बनाउने,‘हाम्रो सडक हाम्रो सहभागिता,स्तरीय सडक, हाम्रो प्रतिबद्धता’ अन्तर्गत सडक सुधार कार्यक्रम, योजना बैंक स्थापना,हरित पूर्वाधारमा जोड, सामुदायिक विद्युतीकरण गर्ने तथा वन,वातावरण तथा विपद् व्यवस्थापनका लागि विद्युतीय चुल्होको प्रयोग गर्ने, एक गाउँ एक बगैचा, हरित गाउँपालिका, वातावरण मैत्री गाउँपालिका, प्रत्येक घरमा एक विरुवा लगाउनुपर्ने नीति लिइएको छ ।

यस्तै आपतकालीन सेवा केन्द्र सञ्चालन, गाउँपालिकामा विपन्न घर परिवारको सदस्यको मृत्यु भएमा वडाको सिफारिस र आवश्यकता अनुसार प्रतिव्यक्ति पाँच हजार रुपैयाँ दिने नीति लिने र टोल विकास समिति निर्माण गर्ने उनले बताएका छन् ।
सुशासन तथा सेवा प्रवाहका लागि भ्रष्टाचारजन्य क्रियाकलापमा शून्य सहनशिलता आत्मसाथ,अन्तर पालिका समन्वयमा जोड, गाउँपालिकामा रहेका कार्यालयहरुलाई सेवा मैत्री संरचना र सेवा मैत्री व्यवहार मार्फत गुणस्तरीय सेवा प्रवाहलाई जोड दिने, उपाध्यक्षसँग न्यायिक सरोकार कार्यक्रम सञ्चालन, वडा स्तरीय सार्वजनिक सुनुवाईलाई निरन्तरता दिने, सूचना मैत्री गाउँपालिका र प्रविधिमैत्री गाउँपालिका बनाउनुका साथै, मुस्कारसहितको सेवा सुरु गर्ने,नगर प्रहरीको व्यवस्थापन गर्ने र ८ वटै वडामा जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्ने नीति लिइएको छ ।
न्यायिक प्रक्रियाका लागि वडामा मेलमिलापकर्ता राख्ने, छुट्टै इजालास कक्षको व्यवस्था गर्ने, बालबालिकातर्फ बालमैत्री गाउँपालिका निर्माण, बालमैत्री स्थानीय शासन कार्यक्रम लागू गर्ने, बालबालिकासँग पालिका उपप्रमुख कार्यक्रम लागू गर्ने र बालविवाह मुक्त गाउँपालिकालाई दिगोपना दिने र थारु समुदायको बडघर प्रथालाई कानुनी मान्यता दिने, थारु कमलरीको लागि विशेष कार्यक्रम लागू गर्नेसम्म रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८० असार १० गते आइतबार