27 February 2021  |   आइतवार, फाल्गुन १६, २०७७

क्रिकेट प्रतियोगीता शुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, फाल्गुन २२, २०७३  

कोहलपुर, २२ फागुन / स्व. रणेन्द्र बहादुर हमाल भाइराजा स्मृति क्रिकेट प्रतियोगिता शनिबारदेखि नेपालगन्जमा सुरु भएको छ । सांसद मैकुलाल बाल्मिकीले ब्याटिङ तथा राष्ट्रिय खेलकुद परिषदका कोषाध्यक्ष सुरेन्द्र हमालले बलिङ गर्दै प्रतियोगिताको उद्घाटन गरे ।
उद्घाटन खेलमा युनाइटेड भिजन कोहलपुरले घरवारी टोल युवा क्लबलाई ५ रनले पराजित गर्न सफल रह्यो । टस जितेर पहिले ब्याटिङ रोजेको युनाइटेडले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो । जसमा संदीप नेपालीको ३६ रन, सागर शाहीको २६ रन र सुजित आचार्यको २० रनको योगदान रहेको थियो । घरवारी टोलका सौरभ पाण्डेले ३ तथा अमर श्रेष्ठले २ विकेट लिए ।
१ सय ८७ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रिएको घरवारी टोलले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८१ रन बनाएपछि ५ रनको झिनो अन्तरले खेल गुमाउन पुग्यो । घरवारी टोलका म्यान अफ म्याच घोषित सितांसु पाण्डेले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ६९ रन बनाएका थिए । अरमेश सोनी र सिद्धार्थ थापाले क्रमशः २३ र २० रन बनाएका
थिए । युनाईटेडका मनोज केसीले २, सुनील खड्काले १ तथा प्रवेज खानले १ विकेट लिना सफल भए ।
सांसद मैकुलाल बाल्मिकीको संसदिय विकास कोषबाट संचालित भाइराजा क्रिकेट प्रतियोगिता २०७३ मा ८ वटा क्लबको सहभागीता रहेको छ । विगत २०४९ सालदेखि संचालनमा रहेको भाइराजा स्मृति क्रिकेट प्रतियोगिता विशेष कारणवस निरन्तर संचालन हुन नसकेपनि अवदेखि निरन्तर संचालन हुने प्रचार प्रसार संयोजक जावेद अहमदले जानकारी दिए ।
नेपालगन्जको मंगलप्रसाद उच्चमाविमा सुरु हुने क्रिकेट प्रतियोगितामा कुल ३ लाख ५८ हजार २ सय खर्च हुने बताइएको छ । नकआउट प्रणालीमा संचालन हुने प्रतियोगिताको विजेता टिमलाई ५१ हजार तथा उपविजेतालाई २५ हजार पुरस्कार प्रदान गरिने प्रतियोगिता संचालन समितिका संयोजक सुनील सिंह हमालले जानकारी दिए ।

प्रकाशित मितिः आइतवार, फाल्गुन २२, २०७३     11:44:52 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *