18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

मसालका महामन्त्री मोहनविक्रम र समकालीन खगुलाल गुरुङले खेले फिल्म प्यूठानको किसान आन्दोलनको इतिहास : ‘फागुन–२४’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, अशोज २४, २०७३  

fagun24-copyप्रज्वल पहाडी

fagun24-copyप्यूठान । नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहद्धारा लिखित ऐतिहासिक ‘फिल्म’ ‘फाल्गुण–२४’ छायाकङ्न गरिएको छ । २०१० सालमा प्यूठानमा सञ्चालन भएको किसान आन्दोलनलाई लक्षित गर्दै तत्कालीन अवस्थामा किसानहरुमाथि गरिएको शोषण र आन्दोलनको उपलव्धिमा केन्द्रीत रहेको सिंहको कृतिमाथि फिल्म छायाङ्कन गरिएको हो ।

‘फिल्म’का लेखक तथा तत्कालीन किसान आन्दोलनका नेतृत्वकर्ता मोहनविक्रम सिंह, खगुलाल गुरुङ लगायतले खेलेको भूमिका र तत्कालीन अवस्थामा किसानहरुलाई अधिनमा राख्दै आएका साहु महाजनको भूमिकालाई विभिन्न पात्रहरुको माध्यमबाट ‘फिल्म’मा चित्रण गरिएको छ ।

“तत्कालीन अवस्थामा किसानहरुमाथि भएको शोषण र साहुहरुका विरुद्ध चलेको किसान आन्दोलनलाई फिल्ममा उजागर गर्न खोजिएको छ”, फिल्मका लेखक सिंहले भने, “किसान आन्दोलनको इतिहासको संरक्षण र नयाँ पुस्ताका लागि समेत फिल्म उत्प्रेरणादायी छ ।” कम्युनिष्ट आन्दोलनको क्रममा २०२२ सालतिर जेलमा रहँदा नाटकको रचना गरेको र त्यसलाई परिस्कृत गर्दै अहिले फिल्मको रुपमा छायाङ्कन गरिएको उनले बताए ।khagulal-gurung

रातामाटाको राजनैतिक तथा शारीरिक शिविर र नारीकोटका साहुहरुको विरुद्ध किसानहरुले गरेको संघर्ष र प्राप्ति फिल्मको मुख्य भाग रहेको उनले जानकारी दिए । “नारीकोटका किसानहरुबाट साहुहरुले गरेको दमन विरुद्ध उजुरी आएपछि नारीकोटमा त्यसका विरुद्ध संघर्ष गर्न अस्थायी शिविर सञ्चालन गरिएको थियो” सिंहले भने, “अस्थायी शिविरमार्फत साहुहरुको अन्यायपूर्ण कदमका विरुद्ध लगातारको संघर्ष पछि किसानलाई न्याय दिलाउन शिविर सफल भएको थियो ।”

लगातारको संघर्षपछि २०१० साल फागुन २३ गते साहुहरुले किसानसमक्ष माफी मागेको र २४ गते विजय उत्सवको दिनलाई इंगित गर्दै फिल्म “फागुन २४” नामाकरण भएको उनले बताए । साहुहरुको विरुद्ध लगातारको संघर्षपछि उनीहरुलाई गिरफ्तार गरी मच्छी लिएपछि आमरुपमा उनीहरुले माफी मागी कीर्ते कागजातहरु समेत जलाई किसानहरुले विजय उत्सव मनाएको उनले बताए ।

तत्कालीन अवस्थामा रातामाटामा सञ्चालन भएको शिविर, नारीकोटमा सञ्चालन अस्थायी शिविर र आन्दोलनको स्वरुपलाई दर्शाउने गरी फिल्म छायाङ्कन गरिएको निर्देशक हेमराज आश्रमले बताए । “तत्कालीन अवस्थाको किसान आन्दोलनको स्वरुपलाई फिल्ममा चित्रण गर्नेगरी दृश्यहरु फिल्ममा समेटिएको छ”, निर्देशक आश्रमले भने ।

फिल्ममा तत्कालीन किसान आन्दोलनका नेतृत्वकर्ता मोहनविक्रम सिंह श्यामको भूमिकामा, उनका समकालीन खगुलाल गुरुङ्ग हर्केको भूमिका र साहुहरु फिल्मको मुख्य भूमिका रहेको निर्देशक आश्रमले बताए । आउँदो फागुन पहिलो सातासम्ममा फिल्म प्रदर्शनमा आउने उनको भनाई छ । रक्तिम साँस्कृतिक अभियान महानगर समिति काठमाडौको टिमले फिल्म छायाङ्कन गरेको हो । रक्तिम साँस्कृतिक परिवारका उपाध्यक्ष नारायण योगी, रक्तिम कलाकार रेम राना, टीका संगम, मानबहादुर भण्डारी, जीवन शाही, प्रतिभा शर्मा, सुप्रभा थापा, मधुर बस्नेत लगायत दुई दर्जनभन्दा बढी रक्तिमका कलाकारहरुको अभिनय रहेको छ । प्यूठानको ओखरकोटका विभिन्न स्थानहरुमा फिल्म छायाङ्कन गरिएको हो ।

प्रकाशित मितिः सोमवार, अशोज २४, २०७३     9:34:58 AM  |