26 September 2021  |   आइतवार, अशोज १०, २०७८

यातना दिने श्रीमान र सासु धरौटीमा रिहा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, भदौ २०, २०७३  

कोहलपु,र, भदौ २०
दाइजो नल्याएको भन्दै नेपालगञ्ज १९ बालेगाउँकी १८ वर्षीया आसरुन जोलहालाई पटकपटक चरम यातना दिने श्रीमान् र सासू धरौटीमा रिहा भएका छन् । दाइजो नल्याएको आरोपमा कुटपिट गर्ने श्रीमान् २४ वर्षीय वसिम जोलहा र सासु बाबादैया जोलहा जनही १५ हजार धरौटीमा रिहा भएका हुन् ।
श्रीमान्, सासूसँगै ससुरा सब्बिर जोलहा र काकाससुरा नसिम जोलहाविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग मुद्दा चलाएको थियो । घटनापछि दुवै ससुरा हालसम्म फरार छन् । उक्त मुद्दामा थुनछेकको सुनुवाइ गर्दै बाँके जिल्ला अदालतले शुक्रबार पीडकहरुलाई धरौटीमा छाड्ने आदेश दिएको हो । फलामको पाइपले निर्घात कुटिएकी आसरुनलाई उपचारका लागि अस्पताल भर्ना भएपछि घटना सार्वजनिक भएको थियो । त्यसअघि दाईजोकै निहँुमा दर्जन बढी पटक यातना पाएको उनले बताएकी छन् । जिल्ला प्रहरी कार्यालय, बाँके मुद्दा शाखाका प्रहरी निरीक्षक वीरबहादुर थापाले दाइजोको आरोपमा कुटपिट गर्नेलाई कडा कारबाहीका लागि ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरेको बताए । यातना दिनेहरु धरौटीमा रिहा भएपछि पीडितका परिवारले न्याय नपाएको गुनासो गरेका छन् । उनीहरुले मुद्दालाई कमजोर बनाइएको आरोपसमेत लगाएका छन् । यातनापछि पीडित आसरुनले नेपालगन्ज २१ जयसपुरस्थित माइती घरमा शरण लिएकी छन् । उनलाई न्यायका लागि परिवारले साथ दिएका छन् । यसअघि आसरुनले परिवारभित्रैको कुरा हो भन्दै यातनाको घटनालाई लुकाउँदै आएकी थिइन् । उनले त्यस्ता घटनामा मिलापत्र समेत गर्दै आएकी थिइन् । अदालतले तीन वर्षभन्दा कम सजाय हुने मुद्दामा धरौटीमा राखेर मुद्दा पुर्पक्ष गर्ने आदेश दिन सक्ने कानुनी व्यवस्था छ । तर, मुलुकी ऐनको ज्यान सम्बन्धी महलको १५ नम्बरले ज्यान मार्ने मनसायले गोली चलाउने वा बम हान्ने वा घातक हतियारले काट्ने वा मार्नका लागि अरु जुनसुकै कुराको उद्योग गरी मार्नेसम्मको काम गरेकोमा कुनै कारणले ज्यान मर्न पाएको रहेनछ भने त्यस्तो काम गर्ने र गर्न लगाउने तथा सो ठाउँमा गै बचन दिने वा मद्दत गर्नेलाई ५ वर्षदेखि १२ वर्षसम्म कैद गर्नुपर्छ कानुनी व्यवस्था छ । वसिमले दुई वर्षअघि दाइजो नचाहिने भन्दै आसरुनसँग विवाह गरेका थिए ।

प्रकाशित मितिः सोमवार, भदौ २०, २०७३     12:03:54 PM  |