2 October 2023  |   मङ्लबार, अशोज १६, २०८०

मृतक व्यवसायीका परिवारलाई नमस्ते नेपालको सहयोग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, साउन ३०, २०७३  

कोहलपुर, साउन ३०
नमस्ते नेपाल यातायात व्यवसायी समिति कोहलपुरले सवारी दुर्घटनामा मृत्यु भएका बस व्यवसायीलाई साढे दुई लाख बढी आर्थिक सहयोग गरेको छ । समितिले पहिलो पटक साउन १३ गते सडक दुर्घटनामा मृत्यु भएका समितिमा आवद्ध व्यवसायी तथा चालक जितबहादुर गुरुङ्ग परिवारलाई शनिबार घरमै पुगेर दुई लाख ५५ हजार नगद सहयोग गरेको हो ।
नमस्ते नेपाल समितिले एक लाख एक हजार, आवद्ध व्यवसायीले एक लाख २३ हजार र समितिका कर्मचारी युनियनले ३१ हजार सहितको नगद चेक मृतक व्यवसायी तथा चालक गुरुङ्ग पत्नि प्रियालाई समिति अध्यक्ष निरज चलाउनेले रकम प्रदान गरे । १३ दिनको पुण्यतिथिको अवसर पारी समितिले घरमै पुगेर आफ्नै प्रयासमा नगद सहयोग गरेको हो । आफ्ना समितिका व्यवसायी धनी, चालक वा सहचालक मृत्यु हुँदा समितिले आर्थिक सहयोग गरेको पाईदैन् । २०६३ सालमा स्थापना भएको नमस्ते समितिले पहिलोपटक सडक दुर्घटनामा मृतक परिवारलाई सहयोग गरेको पहिलो रेकर्ड भएको अध्यक्ष चलाउनेले बताए । ‘यो अवधिमा हामीले तीन जना यातायात व्यवसायी गुमायौ,’ उनले भने, ‘समितिले सहयोग गरेको पहिलो रेकर्ड नै हो ।’ अन्य यातायात समितिले समेत यसरी आफ्ना व्यवसायी र चालक मृत्यु हुँदा आर्थिक सहयोग गर्ने संस्कार विकास नगरेको उनले भने ।
यातायात व्यवसायी, चालक वा कर्मचारी सडक दुर्घटनामा मृत्यु हुँदा चरा मरेजस्तो एक्लो, सहयोगी हात नउठ्ने संस्कार नमस्ते नेपाल यातायात समितिले तोडेको समितिका वरिष्ट उपाध्यक्ष गोविन्दप्रसाद पौडेलले बताए । समितिले आर्थिक बाहेक व्यवसायी गुरुङ्ग परिवारलाई क्षतीग्रस्त बस निर्माण, बिमा क्षतीपुर्ती, छोराछोरीको शिक्षादिक्षामा समेत सहयोग गर्ने उनले भने ।  समितिले मृतक गुरुङ्गप्रति एक मिनेट मौनधारण समेत आयोजना गर्यो । आर्थिक सहयोग तथा पुण्यतिथिमा नमस्ते नेपाल यातायातमा आवद्ध पदाधिकारी, व्यवसायी, कर्मचारी र मजदुरको उपस्थिती रहेको थियो । यातायात व्यवसायी गुरुङ्ग आफै चालक बनाएर चलाएको यात्रु बस नेपालगन्जबाट काठमाण्डौ जाने क्रममा साउन १३ गते कचनापुर जिरोमा टिप्परसंग ठोकिएको थियो । उक्त दुर्घटनामा उनको मृत्यु भएको थियो ।

प्रकाशित मितिः आइतवार, साउन ३०, २०७३     12:42:37 PM  |