19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

सातवटा गोलिया सालको काठ सहित तस्कर पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, साउन २८, २०७३  

केशव राना
कोहलपुर, साउन २८
बाँकेका वनहरुमा रातको समयमा काठ तस्करी व्यापक रुपमा हुने गरेको पाइएको छ । बाँकेको शितलछायाँ, रानी, उषा हरियाली लगायतका वनहरुमा व्यापक रुपमा तस्करी हुने गरेको पाइएको हो । राती वनमै सालका रुख ढाल्दै गोलिया बनाएर साइकलमा काठ तस्करी हुने गरेको छ । जिल्ला वन र शितलछायाँ सामुदायिक वन कोहलपुरको संयुक्त गस्ती टोलीले बिहीबार सालको काठ सहित तस्करलाई पक्राउ गरेको छ । राती साढे २ बजे ७ गोलिया काठ सहित कोहलपुर १३ सिमरीका दिलबहादुर वलीलाई सुगाखोलाबाट पक्राउ गरिएको हो । शितलछायाँ सामुदायिक वनमा रुख काटेर काठको गोलिया तस्करी गरिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको शितलछायाँ वनका अध्यक्ष हरिप्रसाद शर्माले बताए । ‘गस्ती गर्दै जाँदा सुगाखोलामा तस्करी गरिरहेको अवस्थामा एकजना तस्करलाई फेला पा¥यौं’ उनले भने ‘अन्य भने फरार भए ।’

1

 गस्ती टोलीले काठ बाँधिएको अवस्थामा ७ वटा साईकल, २ थान आरा र ४ थान बन्चरो बरामद् गरेको छ । बरामद् काठ १५.०५ क्यु फिटको रहेको लख्ना रेञ्जपोष्टका रेञ्जर रामकुमार चौधरीले बताए । बरामद् गरिएका काठ, साइकल र औजारहरु जिल्ला वन कार्यालयमा बुझाइएको छ । यसअघि पनि पटक–पटक तस्करी हुने गरेकोमा विगत ३ महिनादेखि रातोदिन गस्ती गर्दै आइरहेको अध्यक्ष शर्माले बताए । विगत ४ वर्षयता सय बढी रुखहरु काटेर सय बढी रुखहरु कटान गरी चोरी तस्करी भएको अध्यक्ष शर्माको भनाई छ । शितल छायाँमा मात्रै होइन आसपासका सामुदायिक वनहरुमा पनि रुखहरु कटान भएका छन् ।

प्रकाशित मितिः शुक्रबार, साउन २८, २०७३     11:44:49 AM  |