भगतराम थारु
कोहलपुर, साउन २६
बाँकेमा दाइजो नल्याएको निहुँमा एक महिलालाई निर्घात कुटपिट गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका–१९ बालेगाउँकी १९ वर्षीया आसरुन जोलहालाई दाइजोकै कारण पटकपटकको यातनापछि कुटपीट गरिएको पीडितका माइती पक्षले बताएका छन् । श्रीमान, सासु ससुरा तथा श्रीमानका काकाबाट समेत कुटिएकी महिलाको संवेदनशील अंग आँखालगायतमा चोट लागेको छ । उनको दुबै आँखामा गम्भीर चोट लागेको छ । उनको नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचार भइरहेकोमा मंलगबार उनलाई भेरी अंचल अस्पताल रिफर गरिएको बुझिएको छ । २ वर्षअघि आसरुनको बसिम जोलहासंग मागी विवाह भएको थियो ।
दाइजो नल्याएको भन्दै घरमा श्रीमान, सासु सुसुराले कुटपीट गर्ने गरेका पीडित पक्षले जनाएका छन् । प्रहरीले आसरुनलाई कुटपीटमा संलग्न उनका श्रीमान २४ वर्षीय वसिम जोलहा उनकी सासु बाबादैयालाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार ससुरा सब्बिर जोलहा र काका नसिम जोलहा भने फरार छन् । पीडितका अनुसार दाइजोको विषय लिएर श्रीमान लगायत घररिवारले यातना दिने र अर्कैसंग बिहे गराई दिन्छौं भन्नेलगायतका मानसिक यातना तथा ४ महिनादेखि कुटपीट गर्दै आएका थिए । यसअघि उनका परिवारले जिल्ला प्रहरी कार्यालयमा कुटपीट नगर्ने भन्दै माफी गरेर प्रतिवद्धतासमेत गरेका थिए ।