20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

यस्तो हुन्छ अमेरिकी राष्ट्रपतिको दैनिकी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, साउन १९, २०७३  

वासिंटन, साउन १९ । अमेरिकी राष्ट्रपतिलाई विश्वकै शक्तिशाली राष्ट्रप्रमुखका रुपमा लिइन्छ । विश्वकै शक्तिशाली राष्ट्रप्रमुखको दैनिकी कस्तो होला ? जिज्ञासाको विषय बन्न सक्छ ।

ह्वाइट हाउसमा २४ घण्टा बिताएर एनबीसी न्यूजले तयार पारेको रिपोर्टमा अमेरिकी राष्ट्रपतिको दैनिकी बुझ्न धेरै हदसम्म सहज भएको छ ।

अमेरिकी राष्ट्रपति बाराक ओबामा प्रत्येक दिन बिहान करिब ४५ मिनेट शारीरिक व्यायाम गर्दछन् । जिमखानामा उनी नियमित व्यायाम गर्दछन् ।

स्नान तथा नित्य कर्म सकेर सामान्य खाजा खाइ प्रत्येक दिन ८ः३० देखि ९ः०० बजेभित्र उनी आफ्नो कार्यालय पुग्ने गर्दछन् । पोशाकमा उनी खास ध्यान दिदैंनन् । आज यस्तो पोशाक लगाउने भन्ने कुनै योजना उनी बनाउँदैनन् ।

कार्यालय पुगेर उनी सबैभन्दा पहिला केही पत्रिका पढ्छन् । ४/५ वटा पत्रिका पढिसकेपछि उनको नियमित कार्य सुरु हुन्छ । यस क्रममा उनले नीजि सचिवसँग दिनभरीको कार्यक्रमबारे जानकारी लिन्छन् । यस्ता कार्यक्रममा कसलाई कतिबजे टेलिफोन गर्ने, कोसँग भेटघाट गर्ने लगायतका विषय पनि पर्दछन् ।

दैनिक १० बजे उनले राष्ट्रिय सुरक्षा सल्लाहकारसँग ब्रिफिङ गर्छन् । विभिन्न मुद्दाका बारेमा उनी आफ्ना कर्मचारीसँग आफूले बनाएको रणनीतिका बारे छलफल गर्दछन् । यही सेरोफेरोमा उनले खाना खान समय निकाल्छन् ।

दिउँसो ‘ह्याण्डशेक सेसन’ का क्रममा ह्वाइट हाउसमा उनले केही अथितिसँग भेट गर्दछन् । कुनै खास विषयमा उनी यसै समयमा संचारकर्मीसँग समेत कुरा गर्न भ्याउँछन् ।

सामान्यतः राष्ट्रपति कार्यालयमा रहेर उनी साँझ ६ः३० बजेसम्म औपचारिक रुपमा काम गर्दछन् । त्यसपछि उनी परिवारका साथ खाना खान्छन् ।

बेलुकाको खानापछि उनी आफ्ना छोरीहरुलाई केही समय दिन्छन् ।

त्यसपछि केहीबेर उनी ईमेल आदान–प्रदान र फोन कल लिने काम गर्दछन् । यो क्रम राति ८ः३० बजेसम्म चल्छ ।

राति करिब ११ः३० सम्म विभिन्न डकुमेन्ट अध्ययन लगायतका पेपर वर्कमा उनी व्यस्त हुन्छन् । सुत्नुभन्दा अघि करिब आधा घण्टा उनी अध्ययनको समय निकाल्छन् । त्यसपछि आफ्नो मनपर्ने ड्रिङ्क मार्टिनीको केही घुट्को पिएर उनी सुत्छन् । (एजेन्सी)

प्रकाशित मितिः बुधबार, साउन १९, २०७३     10:41:07 AM  |