26 September 2021  |   आइतवार, अशोज १०, २०७८

पत्रकार चौधरीलाई धम्की, घटनाको चौतर्फी विरोध

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, साउन ३, २०७३  

कोहलपुर, साउन ४
समाचार लेखेकै आधारमा पत्रकार हेमन्त चौधरीलाई धम्की आएको छ । नेकपा एमाले कोहलपुर नगर कमिटी अध्यक्ष खिलप्रसाद भुषालले सार्वजनिक ठाउँमा गालीगलौज गर्दै समाचार लेख्नेलाई ठिक पार्ने भन्दै धम्की दिएको पत्रकार चौधरीले
बताए । नेपाल पत्रकार महासंघ बाँकेका कार्यसमिति सदस्य र मिडिया नेपाल बाँके अध्यक्ष चौधरीलाई आएको धम्कीपूर्ण अभिव्यक्तिको चौतर्फी भत्र्सना गरिएको छ । घटनाप्रति यहाँका विभिन्न पत्रकार संघसंगठनहरुले प्रेस विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण जनाएका छन् ।
आइतबार नेपाल पत्रकार महासंघ र पत्रकारहरुका संघसंगठनहरुले प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति घोर आपत्ति प्रकट गर्दै दोषीलाई कडा कारवाहीको माग गरेका छन् । नेपाल पत्रकार महासंघ बाँके शाखा, नेपाल प्रेश युनियन, प्रेस सेन्टर नेपाल, मिडिया नेपाल, क्रियाशिल पत्रकार समूह कोहलपुर लगायत पत्रकार संघका विभिन्न भातृ संगठनहरुले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको छानविन गरी दोषीलाई कारवाहीको माग गरेका छन् ।नेपाल पत्रकार महासंघ बाँकेले जारी गरेको विज्ञप्तिमा सार्वजनिक स्थानमा गाली गलौज गर्दै समाचार लेख्नेलाई ठिक पार्नलाई युवा संघलाई जिम्मा दिइएको भन्ने अभिब्यक्ति र सोही विषयमा युवा संघ नेपाल बाँकेले जारी गरेको प्रेस बिज्ञप्ती प्रति ध्यानार्कषण भएको जनाइएको  छ ।
नेपाल पत्रकार महासंघ बाँकेका जिल्ला सचिव तिलक गाउँलेले जारी गरेको विज्ञप्तिमा सार्वजनिक स्थानमा गाली गलौज गर्ने र ठिक पार्नका लागि युवाहरु परिचालन गर्ने सम्मको धम्कि दिनु प्रेस स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप भएको उल्लेख छ । यसैगरी प्रेस युनियन बाँकेका सचिव अर्जुन ओली, प्रेस सेन्टर नेपाल बाँकेका सचिव केशव राना, मिडिया नेपाल केन्द्रीय सचिव टेकराज शाही, क्रियाशिल पत्रकार समुह कोहलपुरका सचिव केशव रानाले छुट्टा छुट्टै विज्ञप्ति जारी गरेर ठिक पार्ने सम्मको धम्की दिनुले लोकतान्त्रिक मुलुकमा प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजेको ठहर गरेको गर्दै पीडित पत्रकार चौधरीको जिउँ ज्यानको सुरक्षाका साथै स्वतन्त्र र भयरहित वातावरणमा काम गर्ने व्यवस्था मिलाउन प्रहरी, प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मितिः सोमवार, साउन ३, २०७३     2:10:49 PM  |