20 April 2021  |   मङ्लबार, बैशाख ७, २०७८

सुकेको घाँसको बेर्ना वितरण गरेपछि किसान आन्दोलित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, असार ३०, २०७३  

 नयाँ घाँसका बेर्ना वितरण गर्छौ ः जिल्ला पशु सेवा कार्यालय प्रमुख
 आर्थिक पारदर्शिता नभएसम्म नयाँ घाँसका बेर्ना पनि लिन्नौं ः किसान

केशव राना
कोहलपुर, असार ३०
सुकेको घाँसका बेर्ना किसानहरुलाई वितरण गर्न थालेपछि यस क्षेत्रका व्यवसायीक किसानहरु आन्दोलित भएकाछन् । बुधबार पशु सेवा केन्द्र कोहलपुरले उन्नत जातको घाँस भन्दै सुकेको घाँसका बेर्ना वितरण गरेपछि किसानहरु आक्रोशित भएका हुन् ।१ लाख ८० हजार रकम बराबर उन्नत जातको घाँसको बेर्ना वितरणको नाममा सुकेका बेर्ना वितरण गर्न खोजेपछि आन्दोलित हुनुपरेको किसानहरु बताउँछन् । आन्दोलित किसानहरुले आफूहरुलाई सुकेको बेर्ना दिएर ठग्न खोजेको भन्दै कोहलपुर पशुसेवा केन्द्रका प्रमुख पशु चिकित्सक कृष्ण बहादुर कुँवरलाई ४ घण्टा बढी उनकै कार्यकक्षमा थुनेका थिए । किसानहरुले थुनेपछि प्रमुख कुँवरले जिल्ला पशु सेवा कार्यालयका प्रमुखलाई खबर गरेका थिए । किसानहरुको मागका बारेमा आफूले जिल्लामा जानकारी गराएको बताए ।
घाँसको बेर्ना पाइने आशामा गएका किसानहरु रित्तो हात फर्कनु परेको छ । नवलपरासीबाट ल्याइएको सो घाँस कामै नलाग्ने गरी सुकेको किसान गंगाबहादुर कार्कीले बताए । ‘घाँसको नाममा पराल वितरण गर्न खोजेपछि हामी आन्दोलनमा उत्रिएका हौं ।’जिल्ला पशु सेवा कार्यालय बाँके प्रमुख डा. बेद बहादुर केसीले नवलपरासीबाट ल्याउने क्रममा ढिलाई भएकाले घाँसका बेर्ना ओइलिएको स्वीकार गरेका छन् । उनले किसानहरुलाई नयाँ घाँसको बेर्ना दिइने बताए । यता व्यवसायीक किसानहरुले संघर्ष समिति बनाएर आन्दोलनमा उत्रिएका छन् । किसान गंगाबहादुर कार्कीको संयोजकत्वमा ९ सदस्यीय संघर्ष समिति निर्माण गरिएको छ । सो समितिले आर्थिक पारदर्शीका साथै नयाँ घाँसको बेर्ना वितरण गर्नुपर्ने माग राखेको छ । समितिले घाँसको बेर्नामा आर्थिक अनियमितता भएको आरोप लगाएको छ । ‘आर्थिक पारदर्शी नभएसम्म हामी नयाँ घाँसका बेर्ना पनि लिन्नौं’ संयोजक कार्कीले भने ‘हामी व्यवसायीक किसान, पत्रकारहरुका अगाडि खर्च, आम्दानी विवरण सार्वजनिक गर्नुपर्छ ।’

प्रकाशित मितिः बिहिबार, असार ३०, २०७३     11:41:18 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *