12 September 2024  |   बिहिबार, भदौ २७, २०८१

कानुनको कार्यान्वयन नहुँदा अखाद्य वस्तुको विक्री बढ्यो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, असार २५, २०७३  

कोहलपुर, असार २५
प्रयाप्त कानुन हुँदा हुँदैपनि त्यसको कार्यान्वयन नहुँदा अखाद्य बस्तु विक्री वितरण बढिरहेको छ । राज्यको कानुन दरिलो हुँदाहुँदै पनि सम्बन्धित निकायले कार्यान्वयन नगर्दा उपभोक्ताले अखाद्य बस्तु खान बाध्य भएका हुन् । फियान नेपाल, उपभोक्ता हित संरक्षण मञ्च नेपाल र खाद्य अधिकार संजाल बाँकेले संयुक्त रुपमा नेपालगञ्जमा आयोजना गरेको खाद्य पदार्थहरुमा अखाद्य वस्तुहरुको मिसावट तथा म्याद सकिएको खाद्य वस्तुहरुको विक्री वितरणमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले अखाद्य वस्तु बजारमा छ्यापछ्याप्ती रहेको बताएका हुन् । बजारमा विभिन्न किसिमका अखाद्यबस्तु विक्रि वितरण हुँदा समेत सम्बन्धित निकायले कडा कारवाही नगर्दा यस्तो कार्य दोहोरिदै आएको उनीहरुको ठम्याई रहेको छ । अझैपनि पसल तथा साईकलमा तरकारी बेच्न आउने व्यापारीले इट्टा र ढुङगाका ढक बनाएर बेचेको प्रशस्त उदाहरण भएको उपभोक्त हित संरक्षण मञ्च नेपालका सदस्य विकास आचार्यले बताए । गुणस्तरको विषयमा उपभोक्तालाई जानकारी नहुँदा फुटफाटमा विक्री भैरहेको पसलमा समान किन्ने जाने गरेको उनले बताए ।  होटलहरुमा विक्री वितरण गरिने सागमा समेत औषधी मिसावट हुदा सम्बन्धित निकायको ध्यान नजानु गम्भीर भएको उनीहरुको भनाई छ । स्वच्छ खाद्य उपभोक्ताले उपभोग गर्न पाउनु पर्ने मानिसको खाद्य अधिकार रहेको अधिवक्ता तथा उपभोक्त संरक्षण हित मञ्च नेपालका अध्यक्ष बसन्त गौतमले बताए । स्वच्छ खाद्य बस्तु उपभोग गर्न सार्वजनिक सरोकारको विषय भएको कारण यसबारे छलफल गर्न अति आवश्यक रहेको अध्यक्ष गौतमले बताए ।
बजारमा प्रशस्त अखाद्य बस्तु विक्री भैरहेको कारण यसमा उपभोक्ता पनि सचेत हुन जरुरी रहेको छ । खाद्य बस्तुमा मिसावटको समस्या रहेको बताउदै खाद्य तथा गुणनियन्त्रण कार्यालयका प्रमुख विमल दाहालले यसलाई निराकरण गर्न सबैको उत्तिकै जिम्मेवार रहेको बताए ।
यस्तै बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले अहिलेको विद्यमान कानुनलाई कार्यन्वयन गरे खाद्य अधिकारमा गुणस्तर कायम हुने दावी गरे । बजारमा गुणस्तरहिन खाद्य बस्तु वितरण सम्बन्धित निकायको प्रयासले मात्र सफल नहुने भएको हुनाले यसमा उपभोक्ताहरुले साथ दिन अपरिहार्य रहेको उनले जिकिर गरेका छन् । एक बर्षमा सयुक्त तथा एकल अनुगमन करिव सय पटक गरेको उनले जानकारी दिए ।

प्रकाशित मितिः शनिबार, असार २५, २०७३     12:22:49 PM  |