16 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

एघारबर्ष पछि भेरीको पुल सुचारु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ ११, २०७३  

कोहलपुर, जेठ ११
उपप्रधान एवं भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले छिन्चु जाजरकोट सडक अन्तर्गत सल्यानको देवस्थल र सुर्खेतको राकम जोड्ने भेरी नदीमा निर्माण भएको सडक पुलको उद्घाटन गरेका छन् । पुलको उद्घाटनसँगै यातायात सेवा संचालन हुन थालेको हो ।
११ बर्ष अघि निर्माण थालिएको पुल निर्माणको काम हालै सम्पन्न भएको हो । पुलको उद्घाटन गदै उपप्रधान मन्त्री गच्छदारले पुल निर्माणसँगै यस क्षेत्रका बासिन्दाको जनजीवन सहज हुने बताए । उनले २ बर्ष भित्र डोल्पा सदरमुकाम दुनैमा गाडी पुरयाउने दावी गरेका छन् । उनले आगामी ५ बर्ष भित्र उत्तर दक्षिण लोकमार्ग, भेरीकरिडोर लगायतका रणनैतिक सडकहरु निर्माण गरिने बताए । उनले डोल्पा सडक पुरयाउन यस सडक अन्र्तगत पर्ने विभिन्न पुल निर्माण र सडक निर्माणमा बजेटको कुनै कमी नहुने दावी गरे । २०६२ सालमा २ बर्षमा निर्माण सक्ने गरी पुल निर्माणको जिम्मा स्वच्छन्द ÷ काष्टमण्डप÷ धनथान÷ प्रदिप÷ रविन निर्माण सेवाले संयुक्त रुपमा लिएका थिए ।
तर, कामले गति लिन नसकेपछि कामको जिम्मा स्वच्छन्द निर्माण सेवा कम्पनीले लिएको हो । सडक निर्माणमा करीब १२ करोड रुपैया खर्च भएको सडक विभागका महानिर्देशक माधब कार्कीले बताए । १ सय ८० मीटर लामो पुलको निर्माण भएपछि यस क्षेत्रको विकासको ढोका खुलेको बताए ।
निर्माण कम्पनीले सडक डिभिजनका ईन्जिनियरको गलत लागत स्टमेटका कारण निर्माण कार्य ११ बर्ष लागेको आरोप लगाएको छ । लामो समयसम्म कम्पनीको लापरबाही र सरकारी उदाशिनताका कारण पुल निर्माणको काम लम्बिए पनि ढिलै भएपनि पुल बनेपछि स्थानिय खुसी भएका छन् ।
सरकारले शुरुमा गरेको स्टमेट विपरीत पिलरको जगमा ढुङ्गा लागेपछि निर्माण कम्पनीले तत्काल सरकारलाई स्टमेट परिवर्तन गर्न आग्रह गरेको थियो । सरकार र निर्माण कम्पनीका बिच लागत स्टमेटका बिषयमा बिबादले पुल निर्माणमा ढिलाइ भएपछि गत बर्ष सडक विभागले अन्तिम विकल्पका रुपमा माइक्रोपाइलिङ्ग प्रविधिबाट पुल निर्माण गर्न निर्माण कम्पनिलाई निर्देशन दिएको थियो ।
कम्पनीको यहि प्रविधिबाट पुल निर्माणको काम सकेको हो । पुल उद्घाटनपछि छिन्चु —जाजरकोट सडकको यातायात सेवा सहज हुने भएको छ । पुल उद्घाटनको खबरले जाजरकोट, रुकुम, सल्यान, डोल्पा, जुम्ला र सुर्खेत लगाएत जिल्लाका बासिन्दा खुशि भएका छन । पुल निर्माणपछि निर्माण सामग्री, खाद्यन्न लगायतका अन्य मालसमान ढुवानी र सिधा यातायात संचालनमा समेत सहजता आउने निर्माण ब्यवसायी संघ जाजरकोटका अध्यक्ष तेजविक्रम शाहले बताए । पुल निर्माणमा पहल गर्ने जाजरकोटका सभासदहरु र राजनैतिक दललाई जाजरकोटवासीले धन्यवाद दिएका छन् । उद्योग बाणिज्य संघ जाजरकोटका महासचिव बुद्धिबहादुर खत्रीले पुल निर्माण सँगै पटक पटक विग्रिरहने फेरीबाट यातायातका साधन तार्नु पर्ने झन्झट हटेको बताए । उनले अव ढुवानी तथा यात्रा सहज हुने बताए । जिल्लाबासीले बषौ देखी भोग्दै आएको यातायात असुविधा अव हटेर जाने उनले बताए । उद्घाटन कार्यक्रममा पुर्व गृहमन्त्री पुर्णबहादुर खड्का, सभासद् प्रकाश ज्वाला, हृदयराम थानी, तप्तबहादुर विष्ट, टेकबहादुर बस्नेत, रीता रावल लगायतको उपस्थिति रहेको थियो । पुल उद्घाटन गर्न गच्छदार सहितको जम्बो टोली हेलिकोप्टर चार्टर गरेर आएको थियो ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ ११, २०७३     11:50:03 AM  |