19 May 2024  |   आइतवार, जेष्ठ ६, २०८१

सहायक नाकाबाट तस्करी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ ७, २०७३  

तिलक गाउँले
कोहलपुर, जेठ ७
सशस्त्र प्रहरी राजश्व भन्सार गुल्मले सीमा नाकामा कडाइ गरेपछी नेपालगन्ज भन्सार कार्यालयको राजश्व ह्वात्तै बृद्धी भएको छ ।
भारतीय बजारबाट किनमेल गरि ल्याएका हरेक सामाग्रीमा भन्सार शुल्क अनिवार्य गरिएपछि भन्सारको राजश्व ४ गुणाले बृद्धि भएको छ । भारतीय १ सय रुपैया माथिका हरेक सामानमा नियम अनुसारको भन्सार शुल्क तिर्न अनिवार्य गरी भन्सार नाकामा कडाइ गरेपछि सीमापारी किनमेलमा जानेहरुमा कमी आएको छ । सीमामा भन्सार शुल्क अनिवार्य गरेपछी नेपालगन्जमा भने ब्यापार ब्यवसाय फस्टाउन थालेको छ । सस्तो पाइने आसमा रुपैडियामा किनमेल गरेर फर्किएका सर्बसाधारणहरु भन्सार शुल्क तिर्न परेपछी नेपालगन्जमै खरिदका लागी फर्कने गरेका  छन् ।

सीमा नाकामा सशस्त्र प्रहरीले कडाइ गरेपछी भन्सार चोरी पैठारी गर्ने गिरोहहरुले साहायक नाकाहरुबाट तस्करी गर्ने गरेको रहस्य खुलेको छ । मुख्य नाकामा कडाइ भएपछि रुपैडिया आसपासका नाकाहरुबाट तस्करको गिरोहले ठूलो परिमाणमा अबैध सामाग्रीहरु भित्राउने गरेका छन् । तस्करहरुले रातीको मौका छोपेर नेपालतर्फ अबैध सामान भित्राइरहेको अबस्थामा ३ लाख मुल्य बराबरको कुर्ता सुरवाल सशस्त्र प्रहरीको राजश्व भन्सार सुरक्षा गुल्मले पक्राउ गरेको छ । रुपैडियाको रेलवे स्टेशन पछाडीबाट लुकाइ छिपाइ भित्राइरहेको अवस्थामा गस्तिमा रहेको सशस्त्र प्रहरीको टोलीले सो परिमाणको कपडा बरामद गरेको हो ।  प्रहरीलाई देख्ने बित्तिकै तस्करमा संलग्नहरुले भने सामान फालेर भागेको सशस्त्र प्रहरी राजश्व भन्सार गुल्मका प्रहरी नायब उपरिक्षक जहरसिंह बुढाले जानकारी दिए ।

भन्सार शुल्कमा कडाइ गरेपछि नेपालगन्जका ब्यबसायीहरुले स्वागत गरेका  छन् । ब्यवसायीहरुले रुपैडियामा सस्तो पाइने भ्रममा नपर्न समेत सर्वसाधारणलाई अनुरोध गरेका छन् । सशस्त्र प्रहरीले गरेको कडाइ नियमीत हुनुपर्ने नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले बताए । उनले नेपालगन्ज जस्तै अन्य नाकामा पनि कडाइ गर्न सके नेपाली बजार फस्टाउने बताए । तर भारतीय ब्यापारीहरुले भने सीमामा भएको कडाइको बिरोध गरेका छन् ।  सर्बसाधारणमा भन्सार शुल्क तिर्नुपर्छ भन्ने सोचको विकास गर्नका लागि आफुहरुले भन्सार शुल्कमा कडाइ गरिएको सशस्त्र प्रहरी राजश्व भन्सार गुल्म नेपालगन्जका प्रमुख सशस्त्र प्रहरी नायब उपरिक्षक जहरसिंह बुढाले बताए ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ ७, २०७३     12:25:05 PM  |