27 April 2024  |   शनिबार, बैशाख १५, २०८१

जनताले सूचना नपाएकाले भ्रष्टाचार मौलायो ः सूचना आयुक्त

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख १८, २०७३  

कोहलपुर, बैशाख १८
राष्ट्रिय सुचना आयोगका सूचना आयुक्त यशोदादेवी तिम्सिनाले जनताले सूचना नपाएकै कारण भ्रष्टाचार दिनप्रतिदिन मौलाउँदै गएको बताएकी छन् । आयोगको आठौ स्थापना दिवसका अवसरमा शुक्रबार कोहलपुरमा गरिएको सुचनाको हक कार्यान्यन सम्बन्धी क्षेत्रिय स्तरिय अभिमुखिकरण कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
जनताले सूचना पाए देशमा सुशासन, पारदर्शिता र जवाफदेहिता कायम हुने बताउँदै उनले हरेक नागरिक सूचना पाउने हक संविधानले सुनिश्चित गरेको बताइन् ।
कार्यक्रममा उपस्थित सम्पूर्ण कार्यालय प्रमुख तथा सूचना अधिकारीहरुलाई नागरिकले चाहेको खण्डमा सहज रुपमा सूचना उपलब्ध गराउनुपर्ने सुझाव दिइन् । ‘सूचना पाउनु हरेक नागरिकको हक हो’ उनले भनिन् ‘कानूनले गोप्य भनेका बाहेक सबै सूचनाहरु निर्धक्कसँग उपलब्ध गराउनुहोस् ।’
उनले आफूले गल्ती नगर्न र अरुले गल्ती गरेको भए सूचना आयोगमा जानकारी गराउन आग्रह गरेकी छन् ।
उनले यस्ता सूचना दिने सूचनादाताको पहिचान गोप्य राखिने समेत स्पष्ट पारिन् । साथै उनले कर्मचारीले व्यवहार सुधार्न जरुरी रहेको बताएकी छन् । कर्मचारी पनि नागरिक भएकाले सेवाग्राहीलाई मुस्कान सहितको सेवा दिनुपर्ने धारणा राखिन् ।
कार्यक्रममा निमित्त क्षेत्रिय प्रशासक नारायणप्रसाद सापकोटाले हरेक नागरिकले सूचना मागेको खण्डमा उपलब्ध गराउनु प्रत्येक कर्मचारीको कर्तव्य हुने बताएका छन् । साथै उनले कानूनले तोकेका गोप्य
सूचनाहरु भने सार्वजनिक गर्नुनहुने बताए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले पारदर्शी बनाउन सूचनाको हकले सहयोग पु¥याएको बताएका
छन् । उनले अहिले सार्वजनिक तथा सरकारी निकायमा सूचनाको हककै कारण अभिलेखिकरण गर्नेमा व्यापक सुधार भएको बताएका छन् । साथै उनले सूचना दिँदा प्रविधिको प्रयोगमा जोड दिनुपर्ने धारणा राखे ।
कार्यक्रममा पत्रकार महासंघ बाँके अध्यक्ष रुद्र सुवेदी, नेकपा एमाले बाँके अध्यक्ष अशोक कोइराला, एमाओवादी बाँके सचिव कृष्णा केसी लगायत मध्यपश्चिम क्षेत्रका कार्यालय प्रमुख तथा सूचना अधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः शनिबार, बैशाख १८, २०७३     8:30:56 AM  |