जलयात्रा, होमस्टे र जङ्गल सफारीमा ह्यारी व्यस्त (फोटो फिचर)  



बर्दिया, चैत ८ । बेलायती राजकुमार हेनरी चार्ल्स अल्बर्ट डेभिड सोमबार बिहानै बर्दिया राष्ट्रिय निकुञ्ज पुगेर जलयात्राको मज्जा लिनुका साथै निकुञ्जका वन्यजन्तुको अवलोकन गरेका छन् ।

बिहानै हेलिकप्टरबाट हिमाली दृश्यको अवलोकन गर्दै बर्दिया अवतरण गर्नासाथ राजकुमार ह्यारीले गैडामोचर पोस्टबाट बघौरा फाँटसम्म ४० मिनेट जलयात्रागरे । त्यसपछि झन्डै आधा घन्टा उनले जङ्गलमा पैदलयात्रा गरे ।

राजकुमार ह्यारी पैदल जङ्गल अवलोकन गरेको कार्यलाई त्यहाँ बाघको गतिविधि ट्र्यापिङ गर्दै आएको क्यामरामार्फत ‘ट्रयापिङ’ गरिएको थियो । आफूले बाघजस्तो हिँडेको गतिलाई ल्यापटपमार्फत हेरेपछि उनी खुसीले दङ्ग भए ।

सन् ९० को दशकबाट सुरु भएको बाघ ट्र्यापिङ प्रणाली सन् २००० बाट पूर्णरुपमा कार्यान्वयनमा आएको थियो । ट्र्यापिङका लागि तीनसय क्यामरा राखिएका छन् ।

हिजोअस्ति वन्यजन्तुको गतिविधिको निगरानी गर्ने क्यामराले आज भने मानवीय गतिविधिको ट्र्याप गर्‍यो । बेलायती राजकुमार ह्यारीले सम्भवतः जीवनको पहिलोपटक नै बाघ हिँडेको जस्तो हिँडाइ गरी त्यो ट्र्यापिङ कार्यबारे जानकारी पनि लिए ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्राविधिक र विश्व वन्यजन्तु संरक्षण कोषका प्राविधिकले बाघको ट्र्यापिङ प्रविधिबारे राजकुमार ह्यारीलाई अवगत गराएका थिए । निकुञ्जभित्र ५० वटा बाघ रहेको सहायक संरक्षण अधिृकत अशोक भण्डारीले जानकारी दिए ।

जिन्सको पाइन्ट, नीलो आकासे सर्टमा मफलर झुन्ड्याएका राजकुमार ह्यारीले त्यहाँ रहेका वन्यजन्तुको अवलोकन गरेका थिए ।

हिमाल, प्रकृति, पर्यावरण र वन्यजन्तु संरक्षणमा विशेष रुची बोकेका ह्यारीले बाघको जस्तो हिँडाइ गरिरहँदा सो दृश्यलाई कैद गर्न सञ्चारकर्मी तँछाडमछाड गरेका थिए ।

प्रकृति, पर्यावरण, हिमाल र वन्यजन्तुप्रति विशेष चासो राख्ने राजकुमार ह्यारीले बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकनका बेलामा निकुञ्जका विविध पक्षका बारेमा जानकारी लिए । झन्डै हजार वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यहाँ मुख्यतः हात्ती, गैंडा, बाघ र २५० प्रजातिका चराचुरुङ्गी पाइन्छन् । यो निकुञ्ज दक्षिण एसियामा सबैभन्दा ठूलो बाघ भएको क्षेत्र हो ।

विश्ववन्य जन्तु कोषले सो निकुञ्ज संरक्षणका लागि आर्थिक एवम् प्राविधिक सहयोग पुर्‍याउँदै आएको छ । यहाँका वन्यजन्तु हेर्न हरेक वर्ष करिब १० हजार विदेशी पर्यटक जाने गर्दछन् । निकुञ्जका विभिन्न चार ठाउँमा राखिएका हात्तीले राजकुमार ह्यारीको स्वागत गरेका थिए ।

हात्तीको शरीरमा ‘वेलकम टु ह्यारी इन नेपाल’ भनेर लेखिएको थियो । बाघको ट्र्यापिङसम्बन्धी जानकारी लिएपछि ह्यारीले बर्दिया सूर्यपटुवा गाविसको जैविक मार्गमा रहेको थारू घरवास (होमस्टे)को समेत निकै चाखपूर्वक अवलोकन गरे ।

थारू होमस्टे अवलोकनका अवसरमा थारू नाच र संस्कृति प्रदर्शन गरिएको थियो ।

पर्या–पर्यटनमा सौखिन राजकुमार ह्यारी नेपाल–बेलायत कूटनीतिक सम्बन्धको द्विशतवार्षिकीका अवसरमा पाँचदिने भ्रमणका सिलसिला चैत ६ गते नेपाल आएका हुन् । राजधानीमा व्यस्त कार्यक्रमका बीच राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेका राजकुमार ह्यारी नेपाल सरकारका तर्फबाट आयोजित स्वागत समारोहमा सहभागी भएका थिए । उनले भक्तपुर र पाटनका ऐतिहासिक, पुरातात्विक महत्वका भूकम्पले क्षति पुर्‍याएको क्षेत्रको भ्रमण गरी त्यहाँ भइरहेको पुनःनिर्माणका कार्यबारे जानकारी लिए ।

सोमबार र मंगलबार राजकुमार ह्यारीले बर्दिया, लमजुङ, पोखरामा समय बिताउनेछन् । पर्वतीय पदयात्रामा सौखिन राजकुमार ह्यारी लमजुङमा पदयात्रामा जानेछन् । उनले गोर्खाका परिवारजनसित भलाकुसारीसमेत गर्नेछन् ।

सुन्दर पर्यटकीय नगरी पोखराको प्राकृतिक दृश्यावलोकन गर्न त्यसतर्फ जाने यहाँस्थित बेलायती दूतावासले जनाएको छ । (रासस)

  • No tags available
प्रकाशित मिति : २०७२ चैत ८ गते सोमबार