केशव राना
कोहलपुर, चैत्र ८
महादेवपुरी ७, ओभरीकी सावित्रा वली बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी गर्न पाउँदा निकै खुशी भइन् । जंगल सफारी कहिल्यै नगरेकी उनले पहिलोपटक जंगल सफारी गर्न पाएकोमा खुशी व्यक्त
गरिन् ।
जंगल सफारीकै क्रममा चौका, बँदेल, चित्तल, जरायो लगायतका जनावर र अन्य विभिन्न किसिमका पंक्षीहरु पनि देखेको बताइन् । ‘एकदमै खुशी लागेको छ, जंगल घुम्नुका साथै विभिन्न प्रजातीका जनावरहरु देख्न पाइयो’ उनले भनिन् ।
देशकै कान्छो बाँके निकुञ्जले पहिलो पटक यति लामो जंगल सफारी गराएको हो । चोरी शिकारी नियन्त्रणमा लागिरहेका युवालाई पहिलो पटक ८० किलोमिटरको जंगल यात्रा गराइएको हो । साथै निकुञ्जको अनुमति लिएर २ वटा निजी गाडी पनि पहिलो पटक जंगल सफारी गरेको निकुञ्जले जनाएको छ ।
सुतैया पोष्टबाट शुरु भएको जंगल सफारी क्रममा गिद्देनीचौर, जलसैनी, चुनभट्टी, बुच्चापुर, ठुरिया लगायत विभिन्न ठाउँका घाँसेमैदान र पानी पोखरीको अवलोकन गरिएको थियो । साथै निकुञ्जभित्रको प्रकृतिदेखि जनावर, पंक्षीहरूको अवलोकनका लागि बनाइएको काठका मचानहरु पनि अवलोकन गरेको सफारीमा सहभागी मनिषा बुढाथोकीले बताइन् ।
निकुञ्जका अनुसार खड्गवार–सल्यान घुइयाबारी, ठुरियाखोला–हातीदमार सल्यान, अगैया–पानीमुहान दाङ र सुतैया–ओभरीसम्म जंगली सफारी र पैदलयात्रा गर्न मिल्ने सडक बनाइएको छ । सफारीका सडक सञ्जाल विस्तार भएको छ, जहाँ बाह्रै महिना गाडीमा र पैदल सफारी गर्न सकिन्छ ।
आन्तरिक र बाह्य पर्यटनका लागि निकुञ्जलाई अवलोकनका लागि खुला रहेको र आवतजावत सुरु भइसकेको बाँके निकुञ्जका सूचना अधिकारी रविन चौधरीले जानकारी दिए । निकुञ्जले तत्काललाई दर्जन क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा स्वीकृत गरेको छ ।
सफारीका लागि नेपालीलाई प्रतिव्यक्ति रु. २०, सार्क देशका नागरिकलाई २०० र अन्य विदेशी पर्यटकलाई ५ सय रूपैयाँको टिकटको व्यवस्था गरिएको छ । त्यस्तै हात्तीबाट जंगल सफारीका लागि नेपालीलाई ५ सय, सार्क देशका नागरिकलाई एक हजार ५ सय र अन्य विदेशीका लागि दुई हजार ५ सय शुल्क तोकिएको सूचना अधिकारी चौधरीले जानकारी दिए । आन्तरिक र बाह्य पर्यटकले टिकट अनुमति लिएर, गाडीमा, पैदल जंगली सफारी गर्न व्यवस्था गरिएको
छ ।
२०६७ मा पाटे बाघ संरक्षणका लागि विस्तारका लागि स्थापना भएको यो निकुञ्जमा दर्जनौं पर्यटन आकर्षण केन्द्रहरू निर्माण गरिएका छन् । अन्य पर्यटकीय केन्द्रहरु अझै निर्माणको चरणमा छन् । कुल ५५० वर्ग किलोमिटर क्षेत्रफल रहेका निकुञ्ज र मध्यवर्ती क्षेत्र बाँके, दाङ र सल्यान जिल्लाको ३४३ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको
छ ।
निकुञ्जमा जैविक, प्राकृतिक, जीवजन्तुबाट पर्यटन आकर्षण सम्भावनासँगै सिमसार क्षेत्र, डाँडाकाँडा, खोला–नदीनाला लक्षित गरी पर्यटन विस्तार भएको छ । यस्तै जंगलभित्र बाटो पत्ता लगाउनका लागि संकेत निर्माण समेत गरिएको छ ।
पाटे बाघ संरक्षणका लागि विस्तार भएको बाँके निकुञ्जमा अहिलेसम्म ६ देखि ९ वटा बाघ रहेको निकुञ्जको भनाई छ । यहाँ हात्ती, चौका, चितुवा, भालु, मृग, चित्तल, बँदेल, अजिंगर सर्प, २०० बढी प्रजातिका चराचुरुङ्गी, माछा लगायतका पशुपंक्षी रहेको निकुञ्जले जनाएको छ ।
प्रकाशित मिति : २०७२ चैत ८ गते सोमबार
प्रतिक्रिया दिनुहोस्