2 October 2023  |   मङ्लबार, अशोज १६, २०८०

टाचोरीसिकार नियन्त्रणमा युवाको महत्वपूर्ण भूमिका – मन्त्री सापको

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन २०, २०७२  

Agni Sapkotaगुलरिया (बर्दिया), फागुन २० गते  । वन तथा भूसंरक्षणमन्त्री अग्निप्रसाद सापकोटाले युवा सङ्गठित भए अपराध नियन्त्रण हुने र खराब काम गर्नेहरु निरुत्साहित हुने बताउनुभएको छ । उहाँले चोरी सिकार नियन्त्रणमा युवाको महत्वपूर्ण भूमिका रहने बताउनुभएको छ ।

विश्व वन्यजन्तु दिवस, चोरी सिकार नियन्त्रण युवा परिचालन अभियान दिवस, २०७२ को आज बिहान उद्घाटन गर्दै मन्त्री सापकोटाले गैँडा स्थानान्तरण अत्यन्तै उपलब्धिमूलक कार्य भएको बताउनुभयो । गैँडा स्थानान्तरण कार्य राम्रो होइन भन्नेहरुका लागि युवा चोरी सिकार नियन्त्रणमा सङ्गठित भई गैँडा संरक्षण कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेर गतिलो जवाफ दिनुपर्ने बताउनुभयो ।

उहाँले चितवन राष्ट्रिय निकुञ्जबाट बर्दिया राष्ट्रिय निकुञ्जमा पहिलो चरणमा पाँचवटा गैँडा स्थानान्तरण गरिने जानकारी दिनुभयो । युवा देशको ऊर्जाशील शक्ति हुँदाहुँदै पनि नेपालबाट ४० लाख युवा विदेशिन बाध्य भएको र उनीहरुलाई स्वदेशमै काम दिन नसकिएकोमा दुःख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – “अब युवाले विदेश होइन स्वदेशभित्रै नयाँ काम गर्न सक्नु आजको आवश्यकता हो ।”

संविधान निर्माणपछि कतिपय ठूलाबडा मुलुकले नेपालीलाई विभिन्न कोणबाट सास्ती दिएपनि नेपाली जनताको एकताले उनीहरु आफँै झुक्न र समीक्षा गर्न बाध्य भएको मन्त्री सापकोटाले उल्लेख गर्नुभयो ।

बर्दिया राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, चोरी सिकार नियन्त्रण युवा परिचालन अभियान बर्दियाले आयोजना गरेको उद्घाटन कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक फणीन्द्रराज खरेल, निकुञ्जका प्रमुख रमेश थापालगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष नेत्रराज आचार्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सञ्चारकर्मी तथा गायक प्रभात सुवेदीले गर्नुभएको थियो । रासस

प्रकाशित मितिः बिहिबार, फाल्गुन २०, २०७२     12:13:20 PM  |