19 May 2024  |   आइतवार, जेष्ठ ६, २०८१

रातको समयमा मध्यवर्तीबाट काठ तस्करी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन २०, २०७२  

केशव राना
कोहलपुर, फागुन २०
बाँकेका जंगलहरुमा रातको समयमा काठ तस्करी व्यापक रुपमा हुने गरेको पाइएको छ । बाँकेको महादेवपुरी ढकेरीस्थित झिँझरी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुह, उषा हरियाली सामुदायिक वन लगायतका वनहरुबाट काठ तस्करी भएको पाइएको हो ।
राती वनमै सालका रुख ढाल्दै गोलिया बनाएर साइकलमा ल्याउने गरेका छन् । करिब २० देखि २५ जनाको समूहमा रहेका व्यक्तिहरु संलग्न रहेको हुन सक्ने झिँझरीका वन हेरालु जयबहादुर खड्काले बताए । उनले दिनभर आफूले चौकीदारी गरेपनि रातको समयमा तस्करले काठ तस्कर गर्ने गरेको बताए ।
झिँझरीमा गत पुष १९ गते ४ वटा सालका रुख, माघ १९ गते ३ रुख र माघ २८ गते ७ वटा रुख काटेर गोलिया बनाई साइकलमा काठ तस्करी भएको छ । जंगलको बीच भागमा काटिएका सालका रुखका ठुटाहरु भेटिएका छन् भने कतिपय काटेर तयार पारिएका गोलियाहरु पनि भेटिएका छन् । जंगलकै बाटो हुँदै पिपिरी, राँझासम्मका सः मिलहरुमा काठ पु¥याउने गरेको स्रोतले जनाएको छ । तस्करहरुले ५ देखि ८ फुटसम्मका गोलियाहरु बनाउने गर्दछन् । सःमिलकै निर्देशनका आधारमा गोलियाका आकारहरु पनि त्यसैअनुसार काट्ने गरेको पाइएको छ ।
तस्करहरु सम्पूर्ण हातहतियार सहित जंगल पस्ने गरेका छन् । जंगलमा छुरी भेटिएपछि यो कुराको पुष्टी भएको छ । काठ काट्नका लागि प्रयोग हुने औजार बाहेकका धारिलो हातहतियारहरु पनि तस्करहरुले ल्याउने गरेका छन् । ‘तस्करहरुले छाडेको छुरी भेटिएको थियो’ वन हेरालु जयबहादुर खड्काले भने ‘सम्पूर्ण तयारीका साथ वनमा आउने गरेको थाहा हुन्छ ।’
वनमा रातको समयमा तस्करी हुने गरेको पाइएपछि बाँके राष्ट्रिय निकुञ्जले सहायक संरक्षण अधिकृत रविन चौधरीको संयोजकत्वमा छानबिन टोली बनाएको छ । छानबिन टोलीले सो सामुदायिक वनलाई ३ दिनको अल्टिमेटम दिई प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । छानविन टोलीका संयोजक चौधरीले अनुसन्धान भैरहेको चाँडै तस्करहरु पत्ता लाग्ने बताएका छन् ।
यता वनमा काठ तस्करी बढेपछि उपभोक्ताहरु पनि चिन्तित देखिएका छन् । ‘हामीले घाँस दाउरा गर्न पाउँदैनौं’ महादेवपुरी ३ की सितला ओलीले भनिन् ‘तस्करहरुले वन सिध्याइसके ।’
वनको संरक्षणका लागि झिँझरी वनका उपभोक्ताले पनि बनहेरालुसँगै पालैपालो चौकीदारी गर्ने गर्दछन् । त्यसैक्रममा भेटिएकी उपभोक्ता निर्मला विष्टलाई भने बाहिरी मान्छेको हात छ जस्तो लाग्दैन । उनले भनिन् ‘नजिकैका व्यक्तिहरु हुन्, टाढाका मान्छे होइनन्, आँखाले नदेखेसम्म भन्न पनि नमिल्ने ।’
बाँके राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत बाँके राष्ट्रिय निकुन्जले झिँझरी वनको विषयमा तथ्यांक संकलन गरिसकेको बताएका छन् । ‘तस्करहरु भाग्न सक्ने भएकाले घटना बाहिर नल्याइएको हो’ उनले भने ‘अनुसन्धान भैरहेको छ, घटनामा संलग्नलाई पक्राउ गरी कारबाही हुन्छ ।’

प्रकाशित मितिः बिहिबार, फाल्गुन २०, २०७२     12:10:16 PM  |