कांग्रेस महाधिवेशन : पौडेल फकाउँदै, देउवा पर्खंदै



काठमाडौं, फागुन १७ – कांग्रेसमा पार्टी सभापति सुशील कोइरालाको निधनपछि कार्यवहाक सभापतिको जिम्मेवारी सम्हालेका उपसभापति रामचन्द्र पौडेल अबको कांग्रेस आफ्नै नेतृत्वमा चल्नेमा आशावादी हुनुहुन्छ ।

अनि सुशीलको शेषपछि कोइराला परिवारको बिँडो थाम्ने अरु कोही नभएकाले आफ्नो पालो आयो भन्दै वरिष्ठ नेता शेरबहादुर देउवा फुरुंग हुनुहुन्छ । तर कांग्रेसमा अबको नेतृत्व पौडेल, देउवा या अरु कुन नेताको हातमा जान्छ भन्ने अझै ठोकुवा गर्न गाह्रो छ ।

महाधिवेशन आउन तीन दिन मात्रै बाँकी छँदा समेत नेताहरुले आधिकारिक रुपमा उम्मेदवारी घोषणा गर्न सकेका छैनन् । मंगलबारसम्म उम्मेदवारी घोषणा गर्ने दुवै पक्षको तयारी छ । संस्थापन पक्षमा पौडेलसँगै कृष्णप्रसाद सिटौला र सुजाता कोइरालाले समेत दावी छाडेका छैनन् । संस्थापनले घोषणा गरेपछि मात्र आफुले प्यानल सहित उम्मेदवारी घोषणा गर्ने देउवाको तयारी छ ।

पौडेललाई मिलाउनै सकस

संस्थापन पक्षबाट पौडेल मात्र होइन, महामन्त्री कृष्णप्रसाद सिटौला र नेतृ सुजता कोइरालाले पनि सभापतिको दावी गर्दै आएका छन् । कोइरालाको बिँडो थाम्न पौडेलले सक्दैनन् भन्ने सिटौला र सुजतालाई लागेको छ । त्यसमाथि कोइराला परिवारको भएकाले संस्थापनबाट आफैं सभापतिको उम्मेदवार हुनुपर्ने सुजाताको दावी छ । अनि गिरिजाप्रसाद कोइराला र सुशील कोइराला दुवैको वैचारिक उत्तराधिकारी भएर पार्टीमा उल्लेखनीय भूमिका खेलेकाले सभापतिमा सिटौलाको पनि दावी छ ।

सुजाता र सिटौलाको भन्दा पौडेलको सम्भावना बलियो भएपनि दुवैलाई मनाउन नसक्दासम्म जित्ने सम्भावना हुँदैन । त्यसैले आफु मात्रै उम्मेदवार बन्न पौडेल कस्सिएर लाग्नुभएको छ ।

कार्यवहाक सभापति पौडेल पार्टीमा पदाधिकारीको संख्या बढाएर सिटौला, सुजाता सहित अरु निकट नेताहरुलाई उचित पदमा राखेर सहज व्यवस्थापन गर्ने दाउमा हुनुहुन्थ्यो ।

तर पदाधिकारी संख्या बढाउने प्रयास विफल भएपछि पौडेलले संसदीय दल र पछि बन्ने सरकारमा उचित भूमिका दिने भन्दै फकाउन थाल्नुभएको छ । सिटौलालाई संसदीय दलको नेता र सुजातालाई उपप्रधानमन्त्री बनाउने उहाँले आश्वासन दिइसक्नुभएको छ । तर सिटौला र सुजाताले मानिसकेका छैनन् ।

मौकाको फाइदा उठाउँदै देउवा

संस्थापन पक्षमा असन्तुष्टी बढ्दै जाँदा त्यसको फाइदा देउवालाई भएको छ । उहाँको समूहबाट सभापतिमा दाबी गर्ने अरु कोही छैनन् । महामन्त्री लगायतका अरु पदमा पनि खासै विवाद देखिंदैन । महामन्त्रीमा उहाँले अर्जुननरसिंह केसीलाई उठाउने तयारी गर्नुभएको छ । तर संस्थापन पक्षका कुनै प्रभावशाली नेता आफुमा आए उसलाई महामन्त्री दिने समेत उहाँले योजना बनाइसक्नुभएको छ । संस्थापनमा विवाद बढिरहँदा पौडेललाई कमजोर बनाउँदै आफ्नो सम्भावना बलियो बनाउने देउवा पक्षको तयारी छ ।

पार्टीमा प्रभावशाली भूमिकामा रहेका खुमबहादुर खड्कालाई मनाउन देउवाले पहिलेदेखि नै प्रयास गरिरहनुभएको छ । संस्थापनमा चुलिंदो विवाद र खुमबहादुर आफ्नो पक्षमा आउने भएपछि देउवा बढी आशावादी हुनुहुन्छ ।

तर पनि आफू पक्षका नेताहरु पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, बालकृष्ण खाँड, चित्रलेखा यादव, गोपालमान श्रेष्ठ लगायतको चित्त बुझाउन उहाँलाई पनि सकस छ ।

  • No tags available
प्रकाशित मिति : २०७२ फागुन १७ गते सोमबार