दाङका विपद् जोखिम क्षेत्र नक्साङ्कनमा



फागुन १६ दाङ । भूकम्पपछि सरकारले आपतकालिन कार्य सञ्चालन केन्द्रलाई सक्रिय बनाउन थालेको छ । केन्द्रमा राष्ट्रिय आपतकालिन कार्य सञ्चालन गरेको गृह मन्त्रालयले दाङसहित ४५ ओटा जिल्लामा जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापना गरेको छ ।

फोटो: विवद जोखिम क्षेत्रका आधारमा बनाइएको नक्सा ।

दाङमा सो केन्द्रले कुनै पनि विपद् सम्बन्धी सूचना, सरोकारावाला निकायसँग समन्वय, नीति नियमको जानकारी र तथ्याङ्क संकलन तथा बिश्लेशण गर्नेछ । केन्द्रले दाङमा कुन विपद्बाट कुन क्षेत्र जोखिममा रहेको छ भन्ने पनि नक्साङ्कन गरेकोे छ । दाङ जिल्लाको प्रकोप जोखिम नक्साङ्कन अन्तरगत केन्द्रले बाढी, पहिरो, आगलागी र सर्पदंश जोखिमलाई तयार पारिएको केन्द्रका सूचना अधिकारी खिलानाथ दाहालले अभियानलाई बताए । जसअन्तरगत बाढीको उच्च जोखिम क्षेत्रहरुमा पुरन्धारा, पन्चकुले, धनौरी, गोल्टाकुरी, उरहरी, डुरुवा, फुलवारी, ढिकपुर, धर्ना, सतबरीया, राजपुर, वेला, गढवा, चैलाही, सोनपुर, गंगापरस्पुर, सिसहनिया, गोबरडिहा र लालमटिया रहेका छन् ।

त्यसैगरी पहिरोको उच्च जोखिममा काभ्रे र लोहारपानी गाबिसलाई राखिएको छ । यस्तै पहिरोको मध्यम जोखिममा बाघमारे, शान्तिनगर, पवननगर, राजपुर, सैघा, स्युजा, हाँसीपुर रहेका छन् । आग्लागीको जोखिममा राजपुर, बेला, गढवा, गंगापरस्पुर, गोबरडिहा गाबिस रहेको छन् । त्यस्तै सर्पदंशको जोखिममा गढवा, गङ्गापरस्पुर र गोबरडिहा गाविस उच्च जोखिममा रहेका छन् ।

कुनै पनि बिपद्बाट बच्न र क्षतिलाई कम गर्न पहिलो चरणमा जोखिमताको बिश्लेषण गरी प्रतिकार्यको योजना बनाउने तयारीमा रहेको केन्द्रका सूचना अधिकारी दाहालले जानकारी दिए । केन्द्रलाई निरन्तर चलाएमान बनाउन विपद्को जोखिम व्यवस्थापनका लागि गृह मन्त्रालयले नीति तयार पारेको मन्त्रिपरिषद्को बैठकबाट पारीत हुने अबस्थामा रहेको समेत उनले बताए । केन्द्रले विपद्का बारेमा जिल्ला र केन्द्र विचमा समन्वय गरी जोखिम न्यूनिकरण र बच्ने उपायका बारेमा समेत समन्वयकारी भूमिका खेल्ने बताएको छ । विपद् व्यवस्थापनका लागि पूर्व तयारीमा सहयोग गर्नुका साथै उद्धार सामाग्रिको तयारी, सिकाई आदानप्रदान, स्थानिय जोखिम स्तरमा तालिम एवं ग्यापिङ फुलफिलका काम गर्ने दाहालको भनाइ छ ।

उनका अनुसार विपदको समयमा अस्थायी आवासकाको खोजी, राहत सामाग्रिको भण्डारण, खोज तथा उद्धार सामाग्रीको संकलन, जनशक्तिको व्यवस्थापनमा केन्द्रले अहिले काम गरिरहेको छ । सो केन्द्रमा सूचना अधिकृत दाहालसहित दुई जना शसस्त्र र एक जना नेपाल प्रहरी कार्यरत रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७२ फागुन १६ गते आइतबार