नेपालगञ्ज– फागुन १६ । बर्दिया राष्ट्रिय निकुञ्जमा ५ वटा गैंडा स्थानान्तरण गरिने भएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट यही १९ गतेदेखि गैँडा स्थानान्तरण सुरु गरिने भएको हो । त्यसका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको बताइएको छ । स्थानान्तरण गरिने पाँचमध्ये दुई वटा भाले र तीन वटा पोथी रहेका छन् । पहिलो दिन १९ गते दुई वटा र फागुन २३ गते तीन वटा गैँडा स्थानान्तरण गरिँदैछ । ती गैँडालाई बर्दियाको बबई उपत्यकामा छाडिनेछ ।
पहिलो चरणमा गैँडा स्थानान्तरणका लागि ८३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । तयारीका लागि ३० वटा हात्ती, जनशक्ति, खोरलगायत आवश्यक उपकरण तयार गरिएको छ । तीन वर्षभित्रमा बर्दियामा २५ वटा गैँडा स्थानान्तरण गर्ने योजना छ । जसमध्ये २० वटा पोथी र पाँच वटा भाले रहेका छन् । यो आर्थिक वर्षमा पाँच वटा मात्र लगिन लागेको हो ।
बर्दियाको कर्णाली नदी तटमा हाल २९ वटा गैँडा छन् । सन् २००३ पछि सरकारले अहिले गैँडा स्थानान्तरण गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस्