कृष्ण अधिकारी नेपालगन्ज, फागुन ९
अबैधरुपमा ‘लिचिएन एसपीपी’ नामक झ्याउ भन्डारण गरेको अभियोगमा बाँकेमा एकजनालार्इ प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले अबैधरुपमा भण्डारण गरिएको ५ सय ४२ बोरा अर्थात करिब १ सय ३५ क्वीन्टल अबैध झ्याउसहित जडिबुटी व्यवसायी संघका केन्द्रीय अध्यक्षसमेत रहेका व्यापारी याकुब अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले अन्सारीलाई गएराति पक्राउ गरी जिल्ला वन कार्यालय बाँकेमा बुझाएको छ।
प्रहरीको विशेष ब्युरोले अन्सारीको नेपालगन्ज बिमानस्थल नजिकै रहेको गोदाममा छापा मारेर अबैधरुपमा भन्डारण गरी राखेको १ सय ३५ क्वीन्टल अबैध झ्याउ फेला पारेको थियो। अन्सारीलाई वन कार्यालयले अाफ्नो नियन्त्रणमा राखेर थप अनुसन्धान सुरु गरेको छ।
गोदाममा झ्याउ फेला परेको जनाउँदै प्रहरीले अध्यक्ष अन्सारीलाई पक्राउ गरेको संघका महासचिब टंक मणि शर्माले बताए। सरकारले झ्याउको संकलन र ओसार पसारमा प्रतिबन्ध लगाए पनि जडिबुटी ब्यबसायीले बढी मुनाफा कमाउने लोभमा बन कर्मचारीसंग मिलेमतो गरी झ्याउको संकलन र ओसार गर्ने गरेको पाइएको छ।
झ्याउ पाइन्ट, कपडामा लगाइने रंग र धुप बनाउन प्रयोग हुने व्यवसायीहरु बताउँछन्।
प्रकाशित मिति : २०७२ फागुन ९ गते आइतबार
प्रतिक्रिया दिनुहोस्