विद्यालय सुधारका लागि स्थानीयहरुको चासो



 

कोहलपुर  फागुन ५

मटैहिया गाविसस्थित विद्यालयहरुमा पठन पाठन र विद्यालयको अवस्था सुधारका लागि गाविसका स्थानीयहरुले चासो देखाएका छन् । इन्सेक नेपालगञ्जको आयोजनामा फागुन ४ गते मटैहिया गाविसमा शिक्षाको अधिकार सम्बन्धी विद्यालय व्यवस्थापन समिति, शिक्षक,बिद्यार्थी बीच सम्पन्न गाविसस्तरीय छलफल कार्यक्रमका वक्ताहरुले उक्त कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा सहायक जिल्ला शिक्षा अधिकारी गोरखबहादुर थापाले विद्यालय सुधार, गुणस्तरीय शिक्षाका लागि व्यवस्थापन समिति र अभिभावकहरुको महत्वपुर्ण भूमिका रहने गरेको बताउदै व्यवस्थापन समिति र अभिभावक जागरुक भएका स्थानहरुमा विद्यालयको अवस्था राम्रो रहेको बताए । उनले अभिभावकले विद्यार्थी विद्यालय पठाउने र शिक्षकले आफ्नो कर्तव्य जिम्मेवारीपूर्वक पुरा गरे धेरै समस्याहरु समाधान हुने धारणा राखेका थिए । उनले गाविसस्थित विद्यालयका प्रअ र शिक्षकहरुलाई आफ्नो कर्तव्य जिम्मेवारीपूर्ण तरिकाले पुरा गर्न समेत अनुरोध गरेका छन् ।

कार्यक्रम फोकल पर्सन सरस्वती मल्लले स्थानीय समुदाय सचेत भएर अगाडी बढे शिक्षा लगायतका क्षेत्रमा रहेको समस्या समाधान गर्न सकिने बताइन् ।

कार्यक्रममा बोल्ने वक्ताहरुले केही विद्यालयहरुमा शिक्षकहरु नियमित र समयमा उपस्थित हुने गरेको व्यवस्थापन समितिले मनपरी तरिकाले अभिभावक भेला नगराई निर्णय गर्ने गरेको आरोप समेत लगाएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७२ फागुन ५ गते बुधबार