19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

विद्रोहीले कब्जा गरेका देशका सबै क्षेत्र फिर्ता लिन्छौं: सिरियाली राष्ट्रपति

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, फाल्गुन १, २०७२  

काठमाडौं, फागुन १ । सिरियाका राष्ट्रपति बशर अल असदले विद्रोहीले कब्जा गरेका देशका सबै क्षेत्र फिर्ता लिएरै छाड्ने दृढता व्यक्त गरेका छन् ।

समाचार संस्था एएफपीसँग कुरा गर्दै उनले विद्रोहीलाई आफ्नो शक्तिले मात्र हराउन भने केही समय लाग्न स्विकारेका छन् । विश्व शक्ति राष्ट्रहरुले एक साताभित्र संशस्त्र हिंसा बन्द गराउनसहमति जनाएकै समयमा असदको यो भनाइ बाहिर आएको हो ।

शान्ति वार्ताको समर्थन गर्दै असदले यही बहानामा अतिवादीविरुद्धको युद्ध भने नरोकिने पनि प्रष्ट गरे । अन्तर्राष्ट्रिय मध्यस्थतामा विद्रोही र सिरियाली सरकारबीच यही महिना सुरु भएको वार्ता २५ फेब्रुअरीसम्मका लागि स्थगित गरिएको छ ।

यता, संयुक्त राष्ट्र संघले भने आउँदो २४ घण्टाभित्र सिरियाको सबैभन्दा संकटग्रस्त क्षेत्रमा मानवीय सहायता सुरु गर्न सकिने अपेक्षा गरेको छ । राष्ट्र संघको अनुमानमा डेढ करोड सिरियाली मानवीय सहायताको पर्खाईमा रहेका छन् ।

उता, जर्मनीको म्युनिखमा अमेरिका, रुस र राष्ट्रसंघबीच सिरियामा एक साताभित्र हिंसात्मक संघर्ष रोक्ने सम्बन्धमा सहमति बनेको थियो ।

राष्ट्रपति बशर अल असदको तानाशाही शासन व्यवस्थाविरुद्ध सन् २०११ बाट शुरु भएको पाँच वर्ष लामो संघर्षका क्रममा करिब पाँच लाख सर्वसाधारण मारिएको तथ्यांक छ भने दशौं लाख मानिस घाइते बनेका छन् ।

लाखौलाख सिरयाली भूमिबाट पलायन भएर विभिन्न देशमा शरणार्थी बनिरहेका छन् । मृत्युको यो संख्या सिरयाली जनसंख्याको झण्डै १२ प्रतिशत मानिएको छ ।

सन् २००० मा सत्तामा आएका असदको शासनविरुद्ध शुरुमा त्यहाँका विपक्षीले मात्र संघर्ष थालेको भएपनि हाल सिरियामा आईएस जस्ता मुस्लिम अतिवादी संगठनको समेत प्रवेश भएको छ । जसका कारण सिरिया एउटा रणभूमिका परिणत हुँदै गएको छ ।  (एजेन्सी)

प्रकाशित मितिः शनिबार, फाल्गुन १, २०७२     11:34:00 AM  |