काठमाडौं, माघ २९ । मेक्सिकोको एक जेलमा कैदीबन्दीको दुई समूहबीच झडप हुँदा ५२ जना मारिएका छन् ।
मेक्सिकोको उत्तरी नुएभो लियोन राज्यको मोन्टेरीमा रहेको जेलमा कैदीबन्दीका दुई विरोधी समूहबीच झडप भएको हो । झडपमा अरु १२ जना कैदी घाइते भएका छन् ।
कैदीबन्दीले झडपमा धारिलो हतियार तथा लठ्ठी प्रयोग गरेको त्यहाँका सरकारी अधिकारीले बताएका छन् । जेलको स्टोररुममा आगलागी पनि भएको छ ।
झडपछि अवस्था नियन्त्रणमा रहेपनि केही कैदी भागेको नुएभो लियोन राज्यका गभर्नर जेमी रोड्रिग्वेजले बताएका छन् ।
बन्दीका आफन्तले घटनाको वास्तविक सूचना दिन माग गर्दै जेलबाहिरको सडक अवरुद्ध पारेका छन् ।
जेलको मूल ढोका खोल्न माग गर्दै केहीले प्रहरीमाथि लाठ्ठी र ढुंगा प्रहार गरेका छन् । मध्यरातमा भएको भडप करिब ४० मिनेटसम्म चलेको थियो । (एजेन्सी)
प्रकाशित मिति : २०७२ माघ २९ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्