जुम्ला, माघ २६ गते । नेपाली कांँगे्रसका सभापति सुशील कोइरालाको आकस्मिक निधनले जुम्ला शोकमा डुबेको छ । पार्टीका केन्द्रीय सदस्य दीनबन्धु श्रेष्ठले सभापति कोइरालाको निधनले आज गर्ने भनिएको कांग्रेस जुम्लाको छैटौँ जिल्ला अधिवेशनको उल्लास विस्मात्मा परिणत भएको बताउनुभयो । “हामी सबै मर्माहित भएका छौँ, मुलुकमा लोकतान्त्रिक सङ्घीय गणतन्त्र नेपालको पहिलो संविधान ल्याउने देशकै अभिभावक गुमाएका छौँ”, श्रेष्ठले थप्नुभयो । यस शोकाकूल घडीमा आफू आजै काठमाडौँ जाने उहाँको भनाइ थियो ।
“एकाबिहानै सुनेको खबरले आफूलाई पत्यार नै लागेन, तर टेलिभिजन हेर्दा, रेडियो सुन्दा मात्र सभापतिको निधन पक्कै भएको रहेछ भन्ने विश्वास लाग्यो”, कावा सभापति दीपबहादुर शाहीले भन्नुभयो । सभापति शाहीले जीवनका सबैखाले रुचिलाई छाडेर बिपी कोइरालाको समाजवादी नीतिलाई अँगाल्ने र विधिको सम्बन्ध जोड्ने कुराको समेत परित्याग गर्नुभएका कोइरालाको निधनबाट सम्पूर्ण काँग्रेसी नेता, कार्यकर्ता, आस्थावान् र शुभचिन्तकलाई अपूरणीय क्षति पुगेको भनी दुःख व्यक्त गर्नुभयो ।
काँग्रेस जुम्लाका कावा सचिव कर्णबहादुर शाहीले पार्टीको १३औँ महाधिवेशन सम्पन्न गर्ने दौडानमा जुटिरहेको यस घडीमा उहाँको आकस्मिक निधनको खबरले काँग्रेस मात्र नभई सिङ्गो मुलुकलाई विशाल क्षति पुगेको बताउनुभयो । काँग्रेस जुम्लाका नेत्री कान्तिका सेजुवालले नैतिकवान् चरित्रयुक्त सभापतिको निधनले मर्मघात बनाउनाका साथै सिङ्गो देशले सन्तनेता गुमाएको भन्दै दुःख व्यक्त गर्नुभयो ।
जिल्ला कार्यसमिति सदस्य चक्रबहादुर शाहीले एक्कासि बिहान साढे ५ बजे खबर सुन्दा आकाशबाट खसे झैँ भएको तर विश्वस्त भइनसकेको बताउनुभयो । सिआइएनको खबरले मात्र आफ्नो अभिभावक गुमेको प्रस्ट भएपछि आफू निकै विचलित भएको उहाँले बताउनुभयो । शोकको यस घडीमा काँग्रेस जुम्लाले अब कसरी जाने भन्नेमा पार्टी केन्द्रीय समितिको अहिले ११ बजे बस्ने आकस्मिक बैठकको निर्णयको पर्खाइमा रहेको जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्