माघ ११
काठमाडौं– नेपाली कांग्रेसको आज बसेको केन्द्रिय समिति बैठकले १० बुँदे निर्णय गरेको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा मात्रै ३० मिनेट बसेको बैठकले उक्त १० बुँदे निर्णय गरेको हो ।
प्रवक्ता दिलेन्द्र प्रसाद बडूले दिएको जानकारी अनुसार बैठकले पार्टीको १३ औं महाधिवेशन निर्धारित मितिमै गर्ने, आमसंचार प्रतिष्ठानबाट स्वर्गिय नेता, कृष्णप्रसाद भट्टराईको नामनै हुनुपर्ने लगातार दुई कार्यकाल जिल्ला सभापति भएकाले १३ औं महाधिवेशनमा जिल्ला सभापति हुन नपाउने निर्णय गरेको छ ।
यस्तै चैतसम्म आफुहरु महाधिवेशनमा लाग्नु पर्ने भएकाले संसद बैठक स्थगित गर्न माग गर्दै बैठकले मोर्चालगायत सबैलाई महाधिवेशनमा सहयोग गर्न र सरकारसँग पनि आवश्यक सुरक्षाको ब्यवस्थापन गरिदिन माग गरेको छ ।
पार्टी कार्यालयमा घाम ताप्दै चलेको बैठकले सरकारले मनपरी आफ्ना सरकारको पालामा भएको नियुक्तिको वदर गरेको विरोध गर्नुका साथै , अखण्ड नेपाल पार्टी समानान्तरका संयोजक दयाराम पाण्डे सहितका सदस्यहरुलाई पार्टीमा स्वागत गर्नेलगायतका निर्णय गरिएको पनि १० बुँदे निर्णयमा उल्लेख गरिएको छ ।
यस्तो छ कांग्रेसको १० बुँदे निर्णय
१. पार्टीको एघारौँ महाधिवेशनमा जिल्ला कार्यसमितिको एक कार्यकाल अवधि पुरा गरी बाह्रौँ महाधिवेशनमा पनि सभापति निर्वाचित भई अवधि पूरा गर्नेहरुका लागि पार्टीको विधानको धारा ४९ को उपधारा १७ को व्यवस्था लागू हुनेछ । तर समायोजन हुँदा सहसभापति हुनेहरुका हकमा यो व्यवस्था लागू हुने छैन ।
२. पार्टीको १३ औँ महाधिवेशन सम्पन्न गरी पार्टीको विधान कार्यान्वयन गर्न विधानको धारा ५० बमोजिम विधानको धारा ४ को उपधारा १३ को व्यवस्था निलम्वन गरिएको छ ।
३. नेपाली कांग्रेसको १३ औँ महाधिवेशनको सन्दर्भमा पार्टीको वडा, नगर, गाउँ तहका अधिवेशनहरु यही २०७२ माघ १५ गतेबाट प्रारम्भ हँुदैछन् । देशभरका नेपाली कांग्रेसका सम्पूर्ण कार्यकर्ताहरु यी अधिवेशनहरुमा सहभागी हुनेछन् । वडा, गाउँ, नगर, क्षेत्र, जिल्ला अधिवेशनहरु सम्पन्न गरी २०७२ फागुन २०, २१, २२ र २३ गते पार्टीको तेह्रौँ महाधिवेशन अत्यन्त ठूलो हौसला र उमङ्गका साथ काठमाडौँमा सम्पन्न गरिनेछ । शान्तिपूर्ण वातावरणमा पार्टीका यी सबै कार्यक्रमहरु सम्पन्न गर्न सद्भाव र सहयोग पु¥याउन आन्दोलनरत लगायत सबै राजनीतिक दलहरुसँग यो बैठक आग्रह गर्दछ । साथै, शान्ति सुरक्षाको प्रत्याभूति दिन सरकारसँग अनुरोध गरिन्छ ।
४. नेपाली कांग्रेसको नेतृत्वको सरकारको कार्यकालमा संविधान संशोधन विधेयक प्रस्तुत भएको र विधेयक उपर परेका संशोधन प्रस्तावहरु र छलफलमा उठेका विचारहरु समेतलाई आधार मानी परिमार्जन सहित संविधान संशोधन विधेयक पारित भएकोमा नेपाली कांग्रेस खुशी प्रकट गर्नुका साथै अन्य सबै विषयहरु संवाद र छलफलकै माध्यमबाट समाधान गर्न सकिने कुरामा नेपाली कांग्रेस विश्वास व्यक्त गर्दछ । साथै, सिमावर्ती क्षेत्रका केही ठाउँमा आपूर्तिमा भएको अवरोध हटाउन सम्बन्धित सबै पक्षसँग नेपाली कांग्रेस आग्रह गर्दछ ।
५. क्रियाशील सदस्यता छानविन समितिले प्रस्तुत गरेको पहिलो प्रतिवेदन, पुनः परिमार्जन गरि पठाएको प्रतिवेदन र पदाधिकारी बैठकले मिति २०७२ पुस २७ मा गरेको निर्णय बमोजिम क्रियाशील सदस्यता नवीकरणको सूची र नयाँ क्रियाशील सदस्यको सूचीमा त्रुटि देखिएमा निर्वाचन समितिले प्राविधिक त्रुटि मानी सच्याई लागू गर्नेछ ।
६. विगत सरकारले स्थापना गरेको श्री कृष्णप्रसाद भट्टराई राष्ट्रिय आम संचार प्रतिष्ठानबाट नेपाल पत्रकार महासंघका प्रथम अध्यक्ष भट्टराईज्यूको नाम वर्तमान सरकारले हटाउन खोजेकोमा सरकारको यस कार्यको घोर विरोध गर्दै यथावत उहाँको नाम समावेश गर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ ।
७. गत वैशाख १२ गतेको महाभूकम्पबाट घरवार विहिन भई चिसोले कठ्याङग्रिएर कष्ट भोगिरहेका जनताको उद्धारमा भैरहेको ढिलासुस्ती हटाउन सरकारसँग जोडदार आग्रह गर्दै पुननिर्माण कार्यमा एकतर्फी र अपारदर्शी ढंगले काम गर्ने सरकारको नीति र रवैयाका साथै देशमा व्याप्त महंगी र कालो बजारी नियन्त्रण गर्न सरकार पूर्णतः उदासिन रहेकोले सरकारको यस गैर जिम्मेवार कार्यको समेत नेपाली कांग्रेस घोर विरोध गर्दछ ।
८. विगतको संयुक्त सरकारको पालामा सरकारबाट विभिन्न निकायमा नियुक्त भई कार्यरत व्यक्तिहरुलाई प्रचलित कानून, अदालतको निर्णयको नजिर र परम्पराको विपरित पदावधि समाप्त नभई पूर्वाग्रही ढंगबाट सरकारद्वारा बर्खास्त गरिएकोमा केन्द्रीय कार्यसमितिको यो बैठक गम्भीर आपत्ति प्रकट गर्दै बाँकी अवधिसम्म नियुक्ति पाएको पदमा तत्काल वहाल गर्न आग्रह गर्दछ । साथै, निजामति सेवामा कार्यरत कर्मचारीलाई नियम विपरित राजनीतिक पूर्वाग्रह राखी गरिएको सरुवा तत्काल सच्याई पूर्ववत रुपमा खटिएको कार्यालयमा फिर्ता पठाउन सरकारलाई आग्रह गर्दछ ।
९. अखण्ड नेपाल पार्टी समानान्तरका संयोजक दयाराम पाण्डे सहितका सदस्यहरुले नेपाली कांग्रेसमा प्रवेश गर्न आवेदन गर्नु भएकोमा उहाँहरुलाई स्वागत गर्दै पार्टीमा प्रवेश गराउने निर्णय गरिएको छ ।
१०. २००७, २०१८ र २०४६ को लोकतान्त्रिक आन्दोलनहरुमा अनवरत सहभागी रहनु भएका हाल जनमैंत्री अस्पतालमा उपचाररत स्वतन्त्रता सेनानी नारायणप्रसाद जोशीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।