राम बहादुर रावत
कोहलपुर, माघ १०
तीव्र गतिमा विकास भैरहेको कोहलपुरमा रहेका अधिकांश होटलमा सरसफाइको कमी देखिएको छ । होटलहरुको विविध अवस्थाका बारेमा क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्ज, जिल्ला प्रशानस कार्यालय बाँके, उपभोत्ता मञ्च र वाणिञ्जय महासंघको टोलीले कोहलपुरका १७ वटा होटलहरुको अनुगमन गरेको छ ।
अनुगमनका क्रममा अधिकांश होटलहरुका भान्सा अत्याधिक मात्रामा फोहर देखिएका छन् । होटलको मूल्याङ्कन गरी प्राप्त अंकका आधारमा चार प्रकारका स्टिकर प्रदान गरिएको छ । जसमा हरियो रङ्गको स्टिकर उत्तम स्तर, पहेंलोमा एउटा वटा रातो गोलो भएको मध्यम स्तर, पहेंलोमा २ वटा रातो गोलो भएको न्यून स्तर र रातो स्टिकर गुणस्तरहिन होटल तथा रेष्टुरेन्ट अन्तर्गत पर्नेछन् ।
होटलको दर्ता प्रक्रिया, सरसफाइ, होटल र बाटोको दुरी, कामगर्ने कुक, वेटरको तालिम तथा सरसफाइ जस्ता २० ओटा आधारमा प्राप्त अंक अनुसार होटल तथा रेष्टुरेन्टको स्तरिकरण गरिएको छ ।
जसमध्ये होटप पप लाइफ, होटल सिटी प्लाजा, होटल मानसरोवर र होटल कोहलपुर पार्टी प्यालेसले मात्रै हरियो रङ्गको स्टिकर प्राप्त गरेका छन् । अन्य १३ वटा होटलहरुमा पहेंलोमा २ र १ वटा रातो गोलो स्टिकर प्रदान गरिएको छ ।
त्यस्तै रातो स्टिकर भने कसैले पाएका छैनन् । रातो स्टिकर पाउने होटलहरुलाई सुधार गर्ने निश्चित समय दिने यदि त्यो समय भित्र सुधार नगरेको खण्डमा होटल बन्द गरिने व्यवस्था रहेको जनाइएको छ ।
त्यस्तै कोहलपुरका केहि होटलहरु संचालकको नाममा समेत नभएको अनुगमनका क्रममा भेटिएका छन् । त्यस्ता होटल संचालकलाई आफ्नो नाममा होटल दर्ता गर्न टोलीले निर्देशन दिएको छ । कोहलपुरमा बाँकी होटलहरुको अनुगमन आइतबार गरिएको छ ।
खाद्य स्वच्छता अभियान कार्यक्रम अन्तर्गत राजमार्ग आसपासका होटल तथा रेष्टुरेन्टहरुमा अनुगमन, वर्गिकरण तथा स्तरिकरण गर्ने अभियानको शनिबारबाट शुरु गरिएको हो । क्षेत्रिय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलय नेपालगञ्जले कोहलपुरमा रहेको होटल पपलाइफमा गरी हरियो रङ्गको उत्तम स्तरको स्टिकर टाँस गरी प्रमुख जिल्ला अधिकारी बेद प्रकाश लेखकले उद्घाटन गरेका थिए ।
खाद्य स्वच्छताबारे सम्वन्धित पक्षलाइ जागरुक गराउन, उपभोक्ता हितको रक्षा गर्नका लागी लागि सरकारी तवरबाटै अभियान सुरु गरिएको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख विमल कुमार दाहालले बताएका छन् ।
प्रकाशित मिति : २०७२ माघ १० गते आइतबार
प्रतिक्रिया दिनुहोस्