बर्दिया : महिलामा मानसिक रोगको समस्या बढी  



dipressionगुलरिया (बर्दिया), ६ माघ । महिलाहरु मानसिक रोगीको सिकार बन्दै गइरहेका छन् । ।

जीवनका सामान्य तनाव सहन गर्न नसकी मानसिक रुपमा अस्वस्थ हुने क्रम बढेसँगै महिला मानसिक रोगीको सङ्ख्या बढ्दै गएको हो । बर्दियामा हालसम्म ८३ महिला र २५ पुरुष मानसिक रोगी रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वृषबहादुर शाहीले बताए ।

विशेष गरी दिक्दारीपन, चिन्ता, मानसिक असन्तुलन, छारेरोग, मद्यपानको समस्या, निद्रासम्बन्धी समस्या, विकृत तनाव, यौनजन्य मानसिक समस्या, टाउकामा चोटपटक, वंशानुगत गुणलगायत कारणले मानसिक समस्या देखिने उनको भनाइ छ । विश्वमा करिब ४५ करोड मानिस मानसिक रोगको समस्यामा रहेको बताइन्छ ।

सीएमसी नेपालले मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र स्थापना गरी मानसिक रोगका सम्बन्धमा विभिन्न काम गर्दै आएको संस्थाका संयोजक राजेशकुमार झाले बताए । उनले ९० प्रतिशत आत्महत्याको कारण मानसिक रोग भएको प्रस्ट पारे ।

केन्द्रले मानसिक तथा मनोपरामर्श तालिम, मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना तथा पैरवी, औषधि सहयोग गर्दै आएको छ । विशेषज्ञ चिकित्सक नहुनु, औषधिको नियमित आपूर्ति तथा व्यवस्थापन नहुनु, जनचेतनाको कमी तथा रोगीलाई पुनःस्थापन गर्न नसक्नु मुख्य चुनौती रहेको संयोजक झाको भनाइ छ । रासस

  • No tags available
प्रकाशित मिति : २०७२ माघ ७ गते बिहीबार