काठमाडौं, माघ ३ । सिरियाको दिर अल जोर क्षेत्रमा इस्लामिक अतिवादी समूह आइएसले गरेको आक्रमणमा १ सय ३५ जनाको मृत्यु भएको छ ।
मानवअधिकारवादी संगठन सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले ८५ जना सर्वसाधारण र ५० जना सैनिकको मृत्यु भएको जनाएको हो । तर सिरियाली सरकारी समाचार एजेन्सी सानाले करिब तीन सय नागरिकको मृत्यु भएको जनाएको छ ।
यसैबीच संयुक्त राष्ट्र संघले दिल अल जोरको अवस्था लगातार बिग्रँदो रहेको भन्दै चेतावनी दिएको छ । त्यस क्षेत्रमा झन्डै २ लाख नागरिकको बसोबास छ । त्यहाँका महिला तथा बालबालिकाको अवस्था अति नै नाजुक रहेको भन्दै राष्ट्र संघको मानवीय सहायता समन्वय कार्यालयले चिन्ता व्यक्त गरेको छ ।
सरकारी सेनाको नियन्त्रणमा रहेको दिर अल जोरमा आइएसले शनिबार बेलुकादेखि आक्रमण गरेको हो । आइएसका कार्यकर्ताले कार बम विस्फोट गराएका छन् । सरकारी सेनाले हवाई आक्रमण गरिरहेको स्थानीयले बताएका छन ।
आइएसले शहरको ६० प्रतिशत भाग कब्जा गरेको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । सिरियामा गएको पाँच वर्षदेखि जारी द्वन्द्वका क्रममा अहिलेसम्म २ लाख ५० हजार भन्दा बढीको मृत्यु भइसकेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्