जाजरकोट २०७२ पुष ७
दुर्गम दूरदराजका महिलाले अहिले पनि गाईभैँसी बाँध्ने गोठमा सुत्न बाध्य छन् ।
महिनावारी हुँदा घरमा सुत्दा देवी देवता रिसाउने डरले गर्दा आफूहरु गाईभैँसी बाँध्ने गोठमा सुत्न बाध्य भएको नायकवाडा– ७ की काली सिंहले बताइन् ।
महिनावारी हुँदा दुहुना गाईभैँसीलाई छोएमा गाईभैँसी बिरामी हुने, दूध नदिनेजस्ता कारण गोठमा सुत्न बाध्य पारिएको अर्की सीता सिंहले दुःखेसो पोखिन् । आफूहरुले दुःख गरी ल्याएको घाँस पशुचौपायालाई दिन मिल्ने तर हामीले छुन नमिल्ने भएका कारण निकै पीडित हुनुपरेको सिंहको भनाइ छ ।
महिनावारीको समयमा दूध, दही, मही र घ्यूसमेत देवी देवता रिसाउने डरले आफूहरुलाई नदिने चलन रहेको स्थानीयहरु बताउछन् । रोकायगाउँकी राधिका शाहीका अनुसार महिनावारी हुदा नुन र मकैको रोटी आधा पेट खाएर सात दिनसम्म कष्टपूर्ण तरिकाले गोठमा बस्नुपर्छ ।
जिल्लाको बारेकोट क्षेत्रका चारवटा गाविसमा महिनावारी हु्दा देवी देवदा रिसाउने डरले गोठमा सुत्न बाध्य बनाएर महिलामाथि अत्यधिक शोषण हुने गरेको वीरेन्द्र ऐश्वर्य उच्च मावि, लिम्साका प्राचार्य गोरखबहादुर सिंहले बताए ।
गाईभैँसी गोठमा सुत्दा अधिकांश महिला बिरामी हुने गरेका छन् । चिसोका कारण मङ्सिर, पुस र माघमा बढी समस्या हुने गरेको रामीडाँडाकी महिला स्वायम्सेविका पुतली थापाले बताइन् ।
यो क्षेत्रमा पुरुषले भन्दा महिलाले बढी श्रम गर्ने गरेका छन् । यहाँ नपढेका मात्र होइन पढेलेखेकाको घरमा समेत यो कु–संस्कारले जरो गाडेर मौलाएको स्वास्थ्यकर्मीको भनाइ छ । कैयौँ महिलाको यो समयमा गोठमा बस्दा चिसोका कारण कठ्याङ्गिएर मृत्युसम्म भएको नायकवाडाका स्थानीय अगुवा जनकबहादुर शाहीले बताए । रासस
प्रतिक्रिया दिनुहोस्