काठमाडौं ।
सरकारले किसानलाई वितरण गर्न पठाएको दुई सय बोरा अनुदानको मल लुकाएर आफ्नो गोदाममा राख्ने व्यापारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको कटारीस्थित आशुतोष ट्रेडर्स एण्ड जनरल स्टोर्सका सञ्चालक दिलीप चौधरी रहेका छन् ।
उनलाई पक्राउ गरेर मंगलबार मात्रै जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय कटारीका डीएसपी कमल बजगाईँले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय उदयपुरको बजार अनुगमन टोलीले १२ भदौमा अनुगनमन गर्दा चौधरीले सञ्चालन गरेको आशुतोष ट्रेडर्स एण्ड जेनरल स्टोर्सको गोदाममा अनुदानको मल फेला परेको थियो ।
अनुदानको मल अवैध तरिकाले लुकाएर राखेको पाइएपछि शिलबन्दी गरेर अनुसन्धान अघि बढाइएको थियो । उक्त मल सर्वदलीय छलफलपछि अहिले किसानलाई वितरण गर्ने काम अघि बढाइएको छ । १७५ बोरा मल वडा नं १ देखि ७ नम्बर वडासम्म वितरण गर्ने निर्णय गरिएको थियो ।
इलाका प्रहरी कार्यालय बाट किसानलाई वितरण गर्न मल वडा वडामा लगिसकेको डीएसपी बजगाईंले बताए । नगरपालिकाले वितरण गरेको मलको मूल्य एक हजार लिएर किसानलाई वितरण गरिने सर्वदलीय बैठकले निर्णय गरेको छ । मल वितरणको रकम भने राजस्वको खातामा जम्मा गरिने भएको छ ।









प्रतिक्रिया दिनुहोस्