सुदूरपश्चिममा आज र भोलि सार्वजनिक बिदा



कैलाली ।

सुदूरपश्चिम प्रदेशमा मौलिक पर्वको गौराको रौनक छ । १२ भदौ अर्थात् पञ्चमीका दिनदेखि सुरु भएको गौरा पर्वको शनिबार तेस्रो दिन ‘ठुली गौरा’का रूपमा मनाइएको छ । शनिबार व्रतालु महिलाले गौरादेवीलाई गौराघरमा भित्र्याएका छन् । स्थानीय भाषामा भितरीकी गौरा अथवा ठुली गौरा भनिन्छ । व्रतालु महिलाले शनिबार गौरालाई गौरा घरमा भित्र्याउने चलन छ ।

व्रतालु महिला एक ठाउँमा जम्मा भएर फाग गाएर गौरादेवीको पूजा गर्ने चलन रहिआएको छ । गौराको मुख्य दिन भने आज हो । आज अर्थात् गौराष्टमीका दिन पूजाआजा गर्दै, मंगल गानका साथमा गौरा नचाइन्छ । त्यसैक्रममा गौरालाई गौराघरको आँगनमा ल्याएर राखिन्छ । गौरा महेश्वरको पूजाआजा गरी धमारी, फाग, देउडाजस्ता गीत गाउने र देउडा खेल्ने चलन छ ।

पौराणिककालमा हिमालयपुत्री पार्वतीले महादेवलाई पति पाउँ भनेर बालुवाको शिवलिङ्ग बनाएर कष्टसाध्य तपस्यापश्चात् बरदान पाएर शिवलाई पति बनाउन सफल भएको धार्मिक मान्यता छ । सोहीअनुसार गौरा पर्व मनाइँदै आइएको पाइन्छ । भगवान् शिव र पार्वतीको पूजाआरधना एवम् व्रत अनुष्ठानबाट सुस्वास्थ्य एवम् शौभाग्य र समृद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ । यस्तै गौराको अवसरमा सुदूरपश्चिम प्रदेशमा दुई दिन बिदा छ । भदौ १५ गते अर्थात् आज नेपाल सरकारले गौरा पर्वको बिदा दिएको छ । थप एक दिन भन्दै सुदूरपश्चिम सरकारले भदौ १६ गते अर्थात् भोलि पनि बिदा दिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ १५ गते आइतबार