मृत्युको मुखबाट बचेर दृष्टि विशेषज्ञ बनेका दिपेन्द्र



जन्मेको केही दिनमा नाम राख्न नपाउँदै सिकिस्त बिरामी भएको रहेछु । २०५१ सालको कुरा हो । बाबा आमाले भनेअनुसार म बिरामी भएर सिकिस्त हुँदा अब यो म¥यो । जिउँदो छैन् भनेर सबैले आश मारिसकेका थिए रे । मलाई त यतिसम्म कि बित्यो भनेर गाड्नलाई खाडल समेत खनेको बाबाले सुनाउनु हुन्थ्यो ।

मेरो नाम दिपेन्द्रराज भट्टराई । अहिले पेशाले दृष्टि विशेषज्ञ । विगत ५ वर्षदेखि हालसम्म कोहलपुर नेत्रालय सञ्चालन गरिरहेको छु । मेरो जन्म बर्दिया जिल्लामा भएको हो । मेरो जन्म मध्यमवर्गीय परिवारमा भएको हो । बाबाले बाँसगढीमा रहेको मोतिपुर सहकारीमा काम गर्नुहुन्थ्यो । आमाले चाहीँ पढाउनु हुन्छ । अहिले पनि सरकारी विद्यालयमा पढाइरहनु भएको छ । मैले कान्छो छोराका रूपमा जन्म लिएँ । मेरो बाल्यकाल सामान्य रूपमा बित्यो । मैले धेरै दुःख पनि पाइन र धेरै सुख पनि पाइन । मेरो बाल्यकाल ठिकठिकै बित्यो । दिनचर्या अन्य व्यक्तिहरूको जस्तै मेरो पनि सामान्य थियो । तर, जन्मेको केही दिनमा नाम राख्न नपाउँदै सिकिस्त बिरामी भएको रहेछु । २०५१ सालको कुरा हो । बाबा आमाले भनेअनुसार म बिरामी भएर सिकिस्त हुँदा अब यो म¥यो । जिउँदो छैन् भनेर सबैले आश मारिसकेका थिए रे । मलाई त यतिसम्म कि बित्यो भनेर गाड्नलाई खाडल समेत खनेको बाबाले सुनाउनु हुन्थ्यो ।

पछि छिमेकीले नेपालगन्जमा उपचार गराउन र डाक्टरलाई देखाउन सुझाएपश्चात् नेपालगन्ज हस्पिटल लगेपछि अलि श्वास फेर्न सक्ने भएँ रे । त्यो बेला अहिलेको जस्तो विकास भएको थिएन । नेपालगन्ज पुग्न पनि समय लाग्ने । आमाले काखमा च्याँपेर नेपालगन्ज लगेर उपचार गरेपछि सन्चो भएर घर फर्कियौँ रे । मलाइ याद छ । दाइले गर्दा म २ वर्ष हुँदादेखि नै विद्यालय जान थालेको थिएँ । मेरो दाइको कारण मेरो पठनपाठनमा केही छिटो भयो । मलाई दाइले रहरले भाइलाई स्कुल लैजाउँ भनेर लानुहुन्थ्यो । त्यसबेला भर्खर बोडिङ स्कुलहरू गाउँमा खुलेका थिए । मैले पनि बोडिङ स्कुलमा एलकेजीसम्म पढ्दै गर्दा जनयुद्ध सुरु भयो । एक वर्ष पनि पढ्न पाइएन । पछि पुनः गाउँमा रहेको सरकारी स्कुल धर्मभक्त माविमा पढ्न थालेँ । त्यतिखेर आमाले पनि त्यतै स्कुलमा पढाउने गर्नु हुन्थ्यो । आमासँग सारै डर लाग्ने गथ्र्याे । विद्यालयमा पनि घरकै वातावरण जस्तै हुन्थ्यो । विद्यालयमा पनि कहीँकतै गल्ती गरे आमालाई भन्दिनु हुन्छ कि भन्ने डर लाग्ने गथ्र्याे । त्यस विद्यालयबाटै मैले २०६४ सालमा धर्मभक्त माविको पहिलो ब्याचका रूपमा एसएलसी दिएँ । मैले माध्यमिक तहसम्मको शिक्षा बर्दियाबाटै प्राप्त गरेँ ।

हामीले एसएलसी दिँदा रजिस्ट्रेसन फर्म भर्दा १५ वर्ष उमेर पुगेको हुनुपथ्र्याे । तर, मेरो एक महिनाले पुगेको थिएन । तर पनि मैले फर्म भरेर परीक्षा दिएँ । रिजल्ट पनि आयो । त्यतिखेर गोरखापत्र र मोबाइलमा पास फेल मात्रै हेर्न मिल्ने हुन्थ्यो । कति आयो भन्ने थाहा नहुने । परीक्षा नियन्त्रण कार्यालयले फर्म भर्दा मेरो जन्ममिति फरक परेछ । पछि २०१२ सालमा एसएलसी दिएको व्यक्ति पनि पास भयो भनेर चर्चा समेत भएको थियो । रेडियोहरूमा समेत प्रशारण गरे । जन्ममिति हान्दा रिजल्ट कतै छैन् । सिम्बल नम्बर हान्दा पास भएको देखाउने । जन्ममिति फरक परेको पछि थाहा भयो । मेरो जन्म मिति २०५१ हुनुपर्नेमा २०१२ भएको रहेछ । पछि सबै डकुमेन्ट सच्याउन तीन महिना लाग्यो । दसैँपछि मात्रै मैले प्रमाणपत्र हात पार्न सफल भएँ । त्यतिखेर अहिले जस्तो कोहलपुरदेखि सच्याउन सकिने अवस्था थिएन । काठमाडौँ जानुपर्ने बाध्यता थियो । त्यसले गर्दा पनि ‘प्लस टु’तर्फ कतै प्रवेश परीक्षा दिन पाइनँ । सबैतिर भर्ना बन्द भइसकेपछि काठमाडौँमा रहेको ल्याब्रेटरी कलेजमा जोइन भएँ । त्यसमा पनि नयाँ कलेज भएकाले कोटा खाली हुँदा पढ्न पाएँ । नत्र सायद यत्रै घरतिर फर्कनु पथ्र्याे ।

‘प्लस टु’ गणित लिएर पढँे । त्यसपश्चात् मेडिकल क्षेत्रमा आउने मन मेरो थिएन । सरकारी विद्यालय पढेकाले मेरो अंग्रेजी र रट्न सक्ने अवस्था थिएन । त्यसपछि त्रिचन्द कलेजमा फिजिक्स, क्यामेस्ट्री र गणित लिएर मास्टर गर्छु भनेर पढ्ने गएँ । त्यहाँ गएको वर्ष दिन हुन पाएको थिएन, एकदिन सरले कक्षा कोठामा पढाउँदा पढाउँदै एउटाको हात कताबाट केटाहरू आएर काटिदिएको देखेँ । त्यो दिनबाट मैले कलेज पढ्न जान छाडेँ । मलाई एकदमै डर लाग्ने । त्यतिखेर त्यहाँको वातावरण नै डरलाग्ने अवस्था थियो । त्यसपश्चात् मेरो ठूला बाबाको छोरा केशव दाइले अक्टोमेटिक पढ्छस् भनेर सोध्नु भो । पढ्न मन भएको ठाउँ त्यस्तो अवस्था देखेपछि यतै पढ्ने निर्णय गरे । तर, १७ वर्षको उमेर पुग्नुपर्ने रहेछ । त्यहाँ पनि उमेर पुगेन । १७ वर्ष नपुगेसम्म ब्याचलर पढ्न नपाइने रहेछ । त्यसपछि मैले एक वर्ष घरमा बिताएँ । पछि भारतको कलकता गएर ४ वर्षे अक्टोमेटिक पढेँ । सुरुवाती दिनहरूमा बंगाली भाषा बुझ्न गाह्रो थियो । अर्काे कुरा गुलियो धेरै खाने समस्या थियो । आफूलाई गुलियो भने पटक्कै मन नपर्ने । पछि बिस्तारै बानी बस्दै गयो । ४ वर्ष पढेर घर फर्किएँ ।

सर्टिफिकेट आएको थिएन । त्यसकारण काम गर्न पनि पाइएन । खोज्न जाँदा सर्टिफिकेट खोज्थे । पछि सर्टिफिकेट ५ महिनापछि आएपछि काम पाउन गाह्रो भयो । घर बस्दा पनि दिक्क भइसकेको थिएँ । मेरो एउटा मात्रै उद्देश्य जागिर खानै पर्छ भन्ने कहिले थिएन । तर, आफ्नै काम गर्छु भन्ने थियो । काठमाडौँका चस्मा पसल ‐अप्टिकल)हरूमा आँखा जाँच गर्ने व्यक्ति चाहिएको छ भन्दै काम खोज्न गएँ । यत्रो पढाइ पढेर सक्काएर आएर पनि त्यसरी काम खोज्न प¥यो । पछि अब लोकसेवा तयारी गर्ने सोच आयो । किताबहरू किने र पढ्न सुरु गरेँ । २०१५ मा एउटा दाइले दिउँसोको समय काम गर्न आउन भन्नु भो । म काम गर्न जान्थेँ । तलब थिएन तर, चेकजाँच गरेको मात्रै पैसा हुन्थ्यो । कहिलेकाहीँ बिरामी आउने कहिले त सधैँ खाली हुने । कोठाबाट बस चढेर आएको पैसासमेत कतिदिन उठाउन सक्ने अवस्था थिएन । पहिलोचोटी ३ जना आएका थिए । ५ सय रूपैयाँँ कमाएको थिएँ । मेरो पहिलो कमाइ ५ सय रूपैयाँँ हो । कति दिनसम्म त्यसलाई खर्च नगरेर राखेँ । त्यसपछि म राजस्थानबाट फर्किएँ ।

पछि चितवन आँखा अस्पतालको लागि अप्टन चाहिएको रहेछ । मलाईँ कल गरेर एक जना दाइले काम गर्नेगरी आउनु भन्नु भो । त्यतिखेर नेपाल भारत सीमा बन्दले पेट्रोल पाउन गाह्रो थियो । घरमा एउटा बाइक र बोतलमा पेट्रोल थियो । बाबाले मलाई बसालेर बर्दियादेखि नारायगढसम्म लैजानुभयो । त्यहाँ गएर कुरा गरेपछि त्यतै बस्ने कुरा भयो । मैले त्यतै पाँच वर्ष काम गरेँ । पछि मैले सेयर हालेर काम गर्न थालेँ । पछि हस्पिटल म्यानेजर हुँदै शाखाहरू विस्तार भए । पछि मैले कोहलपुरमा आँखा उपचार केन्द्र भनेर दुई जना मिलेर खोलेका थियौँ । कोरोना पछि लकडाउन भयो । त्यतिखेर म कोहलपुर आएँ ।

म त्यता छाडेर आएपछि आँखा उपचार केन्द्र एक जनाले मात्रै सञ्चालन गर्ने सहमति भयो । मैले छुट्टै कोहलपुर नेत्रालय सञ्चालन गरेको छु । अब आउने कात्तिकमा ५ वर्ष पूरा हुन्छ । मेरो सुरुवात सुखद नै भयो । मैले नेत्रालय निर्माण गरिहेको थिएँ । सामानहरू सबै जडान हुनेक्रममा थिए । एकदिन एउटा आमा आएर आँखाको उपचार गर्दिनु भन्नु भो । मैले आमा उद्घाटन भएको छैन् । त्यही पनि रोक्नुस् म नेपालगन्ज गएर आएपछि हेर्दिन्छु भनेर गएँ । आउँदासम्म कुरेर बस्नुभएको थियो । मैले उपचार गरेँ । एकपछि अर्काे गर्दै उपचारको लागि बिरामीहरू आउन थालेपछि उद्घाटन गर्ने समय नै मिलेन् ।

घरपरिवारको साथ र सहयोग छ । जागिर छाडेर आउँदा अलि चिन्ता गरेका थिए । आफ्नै लगानीमा गर्दा भोलि के हुने हो ? बिरामीले विश्वास गरे पो चल्ने हो । होइन भने त जे पनि हुनसक्छ । अहिलेसम्म सबैले विश्वास गरेर आउनु भएको छ । मैले आफूले जानेको र सिकेका कुराहरू बिरामीहरूलाई प्रदान गरेको छु । अहिले म यसैमा एकदम खुसी छु ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ १४ गते शनिबार