
नेपालगन्ज ।
डा. गोविन्द आचार्यद्वारा रचित ‘दङ्गि उर्वशी’ महाकाव्यमाथि नेपालगन्जमा विमर्श गरिएको छ । शाश्वत आचार्य स्मृति प्रतिष्ठानको आयोजनामा आचार्यद्वारा लिखित उक्त महाकाव्यमाथि विमर्श गरिएको हो । प्रतिष्ठानका उपाध्यक्ष किरण पौडेल (आचार्य)को सभापतित्वमा तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य महानन्द ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महाकाव्यमाथि विविध कोणबाट समीक्षा गरिएको थियो ।
महाकाव्यमाथि समालोचक तथा कवि चरित्रा शाह, अध्येता डा. राजमुमार थारू र पत्रकार विश्वराज पछ्लदंग्याले आफ्नो अनूभूति र दृष्टिकोण राखेका थिए । त्यसक्रममा उनीहरूले ‘दङ्गि उर्वशी’ महाकाव्य नलेखिएका एउटा मिथकमाथि लेखिएको अर्थपूर्ण साहित्यिक कृतिका रूपमा लिनुपर्नेमा एकमत राखेका थिए । कार्यक्रममा तीनजना विमर्शकर्ताका अतिरिक्त राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष्य कमलमणी देवकोटा, प्राध्यापक जनार्दन आचार्य, डा. हरिप्रसाद तिमिल्सेना लगायतले उक्त महाकाव्यको महत्व र रचनाकार डा. अचार्यको व्यक्तित्वका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै रचनाकार डा. आचार्यले महाकाव्य लेख्दा आफूले ऐतिहासिक विरोधाभासहरूलाई सकेसम्म कम गरेर पौराणिक ग्रन्थको आधार र कल्पनाको मिश्रण गरेर काव्य रचना गरेको बताए । उनले राजा दंगीशरणको कथा पौराणिक र ऐतिहासिक दृष्टिकोण दुवैबाट चर्चा हुने गरेको र उनको अस्तित्वको विषय वहसको विषय रहेको बताए । कार्यक्रममा नेपालगन्ज र दाङबाट आएका साहित्यकारहरूको उपस्थिति रहेको थियो ।
दङ्गि उर्वशीको कथा एक पौराणिक पात्र उर्वशीलाई ऋषि दुर्वासाले दिउँसो घोडी हुने र राति उर्वसीको रुप लिनुपर्ने श्राप दिएर स्वर्गबाट मत्र्यलोकमा पठाएको मिथकमा आधारित छ । त्यसपछि ती उर्वशी तत्समयमा दाङ क्षेत्रमा राज गर्दै आएका राजा दंगीशरणको सम्पर्कमा आएको र उनीबीच प्रेम सम्बन्ध बनेको मिथकहरू रहेका छन् । यसै मिथकमा आधारित भएर डा. आचार्यले ‘दङ्गि उर्वशी’ महाकाव्य रचना गरेका हुन् ।









प्रतिक्रिया दिनुहोस्