म पहिलादेखि देउडाको पारखी रहेकाले काम थाती राखेर पनि देउडा खेल्न जान्थेँ । देउडा खेल्न जाँदा पुरस्कारको साटो कहिले कुटाइ पनि खाइएको छ । त्यतिखेर अरुको श्रीमतीसँग देउडा खेलेको भेटाए कुट्ने गर्थे । अहिले त धेरै प्रोफेसनल भएको छ । त्यतिखेर त लुकेर गोठहरूमा खेल्ने गरिन्थ्यो । बिस्तारै देउडाका भाका हराउँदै छन् । यसतर्फ पनि चिन्तित छु । यसलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न लागि परेको छु । मेरो एउटै उद्देश्य हो, देउडाको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण ।
मेरो नाम विष्णुकान्त आचार्य । मेरो जन्म जुम्लाको सिंजा गाउँपालिका– १ मा भएको हो । हाल म बसाइँसराइ गरेर बाँकेको बैजनाथ गाउँपालिका–४ बानियाभारमा बस्दै आएको छु । मैले दोस्रो सन्तानका रूपमा जुम्लाको सिंजामा नै जन्म लिएको हुँ । मेरो बाल्यकाल सिंजामा नै बित्यो । मैले सामान्य परिवारमा जन्म लिएँ । आमा र बाबा खेतीकिसान गर्नुहुन्थ्यो । त्यसैले मेरो बाल्यकाल खासै राम्रो हुन सकेन । बाबा आमाले मलाई पढाउन पर्छ भनेर गाउँको स्कुलमा भर्ना गर्दिनु भयो ।
मैले गाउँमा रहेको मालिका निमावि धापामा र माध्यमिक तहको शिक्षा भैरव मावि नराकोटबाट लिएँ । २०४२ सालमा मैले एसएलसी दिएँ । पास हुन सकिनँ । एक विषय लाग्यो । मेरो पढाइ खासै राम्रो थिएन । पढाइभन्दा गीत गाउन मेरो सानै हुँदादेखि रहर थियो । बाबाले पनि देउडा गाउने गर्नुहुन्थ्यो । मैले पनि केही कुरा बाबाबाट सिकेको थिएँ । सामान्यतया बेलाबखत गाउने पनि गर्थेँ । एसएलसी पास नभएपछि मैले पढाइ छाडेर काम खोज्न तिर लागेँ । त्यतिखेर सबै जुम्लाका अधिकांश सिंजाका मानिसहरू घुम्ती व्यापार गर्ने गर्थे । हिउँदमा निकै चिसो हुनेभएकाले तराई झरेर घुम्ती व्यापार गर्थे । मैले पनि कम्बल, गलैँचालगायत बेच्न थालेँ । २३ वर्षको उमेरदेखि मैले घुम्ती व्यापार गर्न थालेको हुँ । दशक लामो समयसम्म मैले घुम्ती व्यापार गरेको थिएँ । नेपालको अधिकांश जिल्ला र भारतमा समेत घुम्ती व्यापार गर्न पुगेको छु ।
व्यापार मात्र नभइ ठाउँहरू पनि घुम्न पाइने गथ्र्याे । सुरुवाती दिनहरूमा व्यपारीसँग डिल गर्न डर लाग्ने गथ्र्याे । बिस्तारै सिक्दै गएँ । मेरो घुम्ती व्यापारको सुरुवात बुटवलबाट भएको हो । नेपाल र भारतका दिल्ली, बम्बई, हिमाञ्चल लगायतका ठाउँमा व्यापार गर्न गएको छु । सानै उमेरमा आमा गुमाएँ । एसएलसी दिनुभन्दा पहिल्यै आमा गुमाउँदा सारै दुःख भयो । घरमा बाबा हुनुहुन्थ्यो । मैले कमाउन जाँदा बाबाले केही भन्नु भएन। घरमा पैसाको आवश्यक पनि पथ्र्याे । कमाउने कोही थिएनन् । सबै कुराहरू बिस्तारै घरको जिम्मेवारी र सबै कुराहरूको व्यवस्थापन गर्न मेरै टाउकोमा आइप¥यो । सुरुवाती दिनमा ५ सय कमाउँदा खुसीले गदगद हुने गर्थेँ । साथीहरूसँग दिनभर घरघर र गल्लीमा घुम्दै व्यापार गर्नुपर्ने। पेट पाल्नको लागि काम गर्नै प¥यो । काम नगरे कसरी घरपरिवार र पेट पाल्ने । मसँग सधैँ पैसाको अभाव हुने गथ्र्याे । मेरो पहिलो कमाइ नै ५ सय हो । होटलमा बसाइँ हुन्थ्यो । दिनमा ५ सय कमाए पनि मन सन्तुष्टि हुने गथ्र्याे ।
५ सय कमाउँदा पनि कति धेरै कमाएको जस्तो महसुस हुने । नेपालगन्ज र कोहलपुरमा पनि मैले केही समय व्यापार गरेँ । पछि सबैतिर व्यापार राम्रो हुन थाल्यो । महिनामा ४० देखि ६० हजारसम्म कमाइ हुने गथ्र्याे । भारतमा त ५ महिना बस्दा ५ लाख भारुसमेत कमाएर आएको मलाइ याद छ । दिनभर हिँड्दा निकै थकाइ लाग्ने । तर, बाध्यता थियो । काम गर्नै पर्ने । त्यहाँबाट फर्केर २०५० सालमा मैले बैजनाथमा एक कठ्ठा जग्गा किनेको थिएँ । व्यापार गर्दै जाँदा किनेको सम्पत्ति हो । त्यतिखेर जग्गा पनि सस्तो थियो । अहिलेको जस्तो महंगो थिएन । २०५७ सालमा जन्मभूमि छाडेर बाँकेको बैजनाथ गाउँपालिका–६ बानियाभारमा सपरिवार बसाइँसराइ गरेर आएको हौँ । केही समय यहाँ आएर पनि व्यापार गरेर घरखर्च चलाएँ । आफूले पढ्न नपाए पनि छोराछोरीलाई राम्रोसँग पढाउने रहर थियो ।
छोराछोरीलाई विद्यालय भर्ना गरेर व्यापार गर्न जाने गर्थेँ । आयस्रोत केही थिएन । सबथोक घुम्ती व्यापार थियो । आफूले पढ्न नसकेका कुरा छोराछोरीले पूरा गरेको हेर्ने सारै ठूलोे इच्छा थियो । छोराछोरीहरूले पनि राम्रो सँग पढे । अहिले एक छोरा सरकारी कर्मचारी र अर्काे छोरा आइटी इन्जिनियर छन् । छोरीहरूको विवाह भइसक्यो । छोराछोरीले मेरो दुःख बुझेर पढे । अहिले एकदम खुसी छु । म पहिलादेखि देउडाको पारखी रहेकाले काम थाती राखेर पनि देउडा खेल्न जान्थेँ । केटीसँग बस्दा पनि फकाउँदा यसरी गित गाउने गरिन्थ्यो ।
पात झ¥यो पइयाको, डालो भाग्यो बडपिपलको
गाधीकी मैयाको आज मैले दर्शन पाएँ
म जस्तै पोइ होइजा तोइ जसी जोइ होइजा
मयालु तोइ होइजा ओछान लाउने अर्काे होइजा

अहिले पनि मसँग देउडा खेलेर विजयी भएका दर्जनौँ प्रमाणपत्रहरू छन् । मैले विभिन्न प्रतियोगिताहरूमा प्रथम, द्वितीय र तृतीय हुने समेत गरेको थिएँ । त्यतिखेर देउडाका खेलाडी एक से एक थिए । सुदूरपश्चिम अञ्चल र कर्णाली अञ्चलमा धेरै देउडा प्रतियोगिता हुने गर्थे । म व्यापार छाडेर देउडा खेल्न सहभागी हुने गर्थेँ । देउडा खेल्न जाँदा पुरस्कारको साटो कहिले कुटाइ पनि खाइएको छ । त्यतिखेर अरुको श्रीमतीसँग देउडा खेलेको भेटाए कुट्ने गर्थे । अहिले त धेरै प्रोफेसनल भएको छ । त्यतिखेर त लुकेर गोठहरूमा खेल्ने गरिन्थ्यो । देउडाका पनि विभिन्न हाँगाहरू रहेका छन् । माया प्रीति, देउता पुज्दा, रोपाइँ, विवाह र बर्तवन्धन गर्दा लगायतका ठाउँमा त्यहीअनुसार देउडा गाउने गरिन्छ । सबै ठाउँमा प्रयोग हुने निकै चर्चित पनि हो देउडा । बाबा पनि जुम्लाको देउडीमा अलि चिनिने खेलाडीका रूपमा हुनुहुन्थ्यो ।
म पनि अहिले जेहोस् देउडा खेलेर जीवन त्यसैमा सुम्पेको छु । बैजनाथ आएपछि २०६० सालबाट बानियाभारमा रहेको पशु कृषि हाटबजारमा देउडा खेल्न सुरु गरिएको हो । स्वर्गीय पृथ्वीबहादुर शाहले कृषि हाटबजार खोल्नु भएको थियो । म देउडा खेलाडी भएकाले भेट गर्नुभयो । सुरुवाती दिनमा पशु हाटबजारमा मानिसहरूको चहलपहल घट्यो । सबै कोहलपुरबाट लिने तर, त्यहाँ मानिसहरूको उपस्थित नहुँदा मानिस जम्मा गर्न देउडा खेल्न सुरु ग¥यौँ । द्वन्द्वकालमा र कोरोनाको समयमा देउडा खेल रोकियो । लकडाउन खुलेपछि पुनः हप्ताको शनिबार देउडा खेल्न सुरु गरेका छौँ । बीउ रोप्दा यसरी गाउँने गर्थेउँ ।
सिलाउँदो छ सार्की बाँसबारी छालका जुत्ता
सीता अनुहारकी भेटाएले माम खादाउ सीता अनुहारकी
बीउ राखेको बेर्नु साउनको भलले लैगो
टेके पाइली हेर्नु आजकी मैकन भयो
दुई दशकदेखि हामीले कर्णालीको देउडा बानियाभारमा खेल्दै आएका छौँ । त्यसलाई जगेर्ना गर्न म रातदिन लागिपरेको छु । त्यसैले २०८१ सालमा देउडा सांस्कृतिक संरक्षण प्रतिष्ठान दर्ता गरेर अहिले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छौँ । म अहिले बाँके जिल्ला अध्यक्ष पनि हुँ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबाट बसाइँसराइ गरेर बाँके आएका व्यक्तिहरू सहभागी हुने गर्छन् । अहिले देउडा खेलको विकास पनि भएको छ । अर्काेतर्फ पछिल्लो पुस्ताहरूले यसलाई ग्रहण गर्न जरुरी छ । हामी यसको विस्तारको लागि ठाउँठाउँमा जाँदैछौँ । घरपरिवार छोराहरूले चलाइरहेका छन् । मेरो अधिकांश समय यसैमा बिताउने गर्छु । मलाई पनि देउडा खेल्न नपाउँदा के भुले भुले जस्तै हुन्छ । यसरी खाना लगाउन पुगेको छ । बिस्तारै देउडाका भाका हराउँदै छन् । यसतर्फ पनि चिन्तित छु । यसलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न लागि परेको छु । मेरो एउटै उद्देश्य हो, देउडाको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण ।
लै गयो लै गयो दिदी कन भिनाजुले
समय गै गयो समय गै गयो
समय गै गयो अझ गाउने मन थियो









प्रतिक्रिया दिनुहोस्