धनगढी–घुइयाँघाट–गुम्बाडाँडा सडक स्तरोन्नती नहुँदा सास्ती



शेरबहादुर ऐर । कैलाली ।

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–८ धनगढी गाउँदेखि वडा नम्बर–१२ जोड्ने सडक स्तरउन्नती नहुँदा सो क्षेत्रका नागरिक सास्ती खेप्न बाध्य भएका छन् । बजारबाट नजिकै पर्ने भएपनि सडकका कारण दुर्गम क्षेत्रमा बसेको अनुभुति हुने गरेको स्थानीयको गुनासो छ । ‘यो सडकमा हिड्न मनै लाग्दैन,’ स्थानीय गीता रानाले भनिन्, ‘बजारमा काम नपरोस् भन्ने लाग्छ, कहिले राम्रो सडक बन्ने हो अत्तोपत्तो छैन ।’
स्थानीय तह, प्रदेश र संघीय जनप्रतिनिधिलाई पटक–पटक सडक निर्माणका बारेमा जानकारी गराउँदा पनि बजेट नआएको उनको गुनासो छ।

स्थानीय भीखारी रानाले तीन–चार वर्षदेखि सडक निर्माण हुने भनेर आश्वासन आएपनि नबनेको गुनासो गरे । जनप्रतिनिधिले पटक–पटक बजेट हाल्ने भनेर ठगेको उनको गुनासो छ । ‘नारदमुनी रानाले पनि बजेट हाल्ने बताएका थिए,’ रानाले भने, ‘तर उहाँको कार्यकाल सकिँदासम्म पनि सडक बनेन, अहिलेका जनप्रतिनिधिले पनि सडक आउँछ भनेर हामीलाई ठगिरहेका छन् ।’ वडा नम्बर–१० का चुन्ठा रानाले सडकका कारण धनगढी जानुपर्दा जुगेडा हुँदै मनेहराबाट घुमेर जानुपर्ने बाध्यता रहेको बताए ।

‘वडा नम्बर–१० बाट धनगढी पुग्न ४ किलोमिटरमात्रै दुरी छ,’ रानाले भने, ‘तर सडकका कारण हामी १५ किलोमिटर हिडेर जगेडा हुँदै बजार पुग्नुपर्ने बाध्यता छ, यो समस्या समाधानका लागि जनप्रतिनिधिको ध्याननै गएको छैन् ।’ उनले धनगढीका नगर प्रमुख गोपाल हमाललाई समस्या सुनाएको बताए । ‘मेयर साबले अब छिट्टै काम अघि बढाउने आश्वासन त दिनुभएको छ,’ उनले भने, ‘तर कहिले बन्नेहो थाहा छैन् ।’

नेपाली काँग्रेसकी नेतृ आरजु देउवाले सडक निर्माणका लागि २४ करोड बजेट विनियोजन गरिदिने आश्वासन दिएपनि जेनजी आन्दोलनका कारण त्यो बजेट पनि आउने नआउने अत्तोपत्तो नभएको उनले बताए । सडकको समस्याका कारण विद्यार्थीले बजारमै कोठा भाडामा लगेर बस्नुपर्ने बाध्यता रहेको रानाको गुनासो छ ।

‘राम्रो सडक भए १०–१५ मिनेटकै यहाँबाट साईकलमा पनि बजार पुग्न सकिन्थ्यो,’ उनले भने, ‘तर सडकको वेहाल छ, विद्यार्थीलाई बिहानीपख सडकमा यात्रा गर्नै सकस हुन्छ, त्यसैले बजारमै काठा भाडा तिरेर बस्न बाध्य भएका छन्, न्यून आए भएका स्थानीयलाई सडकका कारण कोठाको भाडा तिर्नुपर्ने बोझ थपिएको छ ।’ धनगढी उपमहानगरपालिका वडा नम्बर–१० का वडाध्यक्ष विशकुमार रानाले २०७४ देखिनै सडक निर्माण गर्ने आवाज उठेपनि बन्न नसकेको बताए । पटक–पटक सडकमा बजेट आयो भनेर प्रचार गरिएपनि हालसम्म कुनै प्रगति नभएको वडाध्यक्ष राना बताउँछन् ।

यसपटक एडीबीको आर्थिक सहयोगमा सडक निर्माणका लागि ठेक्का प्रकृया भने अघि बढेको उनले बताए । ‘वडा नम्बर–८ धनगढी गाउँदेखि वडा नम्बर–१२ को गुम्बाडाँडासम्म ४ किलोमिटर निर्माण गर्ने गरी ठेक्का प्रकृया अघि बढेकाले छिट्टै सडक निर्माण कार्य सुरु हुने अपेक्षा गरिएको छ,’ रानाले भने, ‘सडकको कामले गति लगे हाम्रै कार्यकालमा काम पूरा हुन सक्छ ।’

खराब सडकका कारण वडा नम्बर–१० का धेरै विद्यार्थीले बजारमा कोठा भाडा लगेर अध्ययन गर्नुपर्ने बाध्यता रहेको बताउँदै वडाध्यक्ष रानाले त्यो समस्या एक वर्षपछि अन्त्य हुने दाबी गरे । धनगढी उपमहानगरपालिकाका इन्जिनियर द्धिजराज भट्टले धनगढीगाउँ जुगेडा सडक निर्माण कार्य छिट्टै सुरु हुने बताए । १२ मिटर चौडाई , दुई तर्फी नालासहित ४ किलोमिटर सडकको ठेक्का प्रकृया अन्तिम चरणमा पुगेको उनले बताए। एडीबीको आर्थिक सहयोगमा बन्ने सडकका लागि हाल ठेक्का प्रकृया अघि बढेको इन्जिनियर भट्टले दाबी गरे ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक २० गते बिहीबार