धनगढीले एक वर्षसम्म भुक्तानी गरेन शिक्षकको तलब



शेरबहादुर ऐर । कैलाली ।

कैलालीको धनगढी उपमहानगरपालिकाको शिक्षा शाखाले एक शिक्षकको तलब वर्षसम्म पनि भुक्तानी गरेको छैन । उपमहानगरपालिकाको धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालयबाट सरुवा गरिएका शिक्षक नरेन्द्रबहादुर वडले वर्षदिनसम्म पनि चार महिनाको तलब भुक्तानी नपाएको बताएका हुन् । उपमहानगरपालिकाको शिक्षा महाशाखालाई विद्यालयले तलब माग फाराम बुझाउँदासमेत सर्वोच्च अदालतमा मुद्दा दायर गरेकै कारण उनको तलब भुक्तानी नगरेको देखिएको छ ।

उपमहानगरपालिकाको २०८१ साल वैशाख १ गते वडलाई जानकारी नदिई धनगढी नमुनाबाट धनगढी उपमहानगरपालिका वडा नम्बर १० स्थित जनकल्याण माध्यमिक विद्यालय जुगेडामा सरुवा गरेको थियो । सो पश्चात वडले आफू बिरामी रहेको भन्दै सरुवाको निर्णय नमान्ने भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । विद्यालयमा निमावि द्धितिय श्रेणीमा कार्यरत शिक्षक वडले वैशाखदेखि भदौसम्मको तलब नगरको शिक्षा महाशाखा र विद्यालयले नदिएको उनले बताएका छन् ।

वडले नगरपालिकाले गरेको सरुवा आफूलाई चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका थिए । सर्वोच्च अदालतले २०८१ जेठ ३ गते रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म सरुवा कार्यान्वयन नगर्न आदेश जारी गरेपछि वड पुनः सोही विद्यालयमा जेठ ९ गते हाजिर भएका थिए । पछि सर्वोच्च अदालतले साउन २१ गते सो रिट निवेदन खारेज गर्दै प्रशासनिक अदालत हुँदाहुँदै सो निवेदन सर्वोच्चमा आउन नहुने निर्णय गरेको थियो ।

सर्वोच्चको सो निर्णयपछि आफू कानुनको सम्मान गर्दै आफूलाई सरुवा गरेको जनकल्याण माध्यमिक विद्यालयमा हाजिर भएको उनले बताए । तर आफू नयाँ विद्यालयमा कार्यरत भएको एक वर्ष बढी भइसक्दा पनि विद्यालय र नगर शिक्षा महाशाखाले आफ्नो तलब भुक्तानी नगरेको शिक्षक वडको गुनासो छ । आफूले पटक–पटक विद्यालय र नगर शिक्षा शाखा तथा सम्बन्धित सबै ठाउँमा निवेदन दिएका भए पनि नगरको शिक्षा महाशाखाले कुनै जवाफ नै नदिएको उनले बताए ।

विद्यालयका प्रधानाध्यापकलाई मौखिक रूपमा समेत जानकारी दिँदा तलब भुक्तानी नगरेको उनले बताए । धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मण भट्टले आफूले नगरपालिकाको शिक्षा महाशाखामा तलब भुक्तानीका पटक–पटक निवेदन दिएको भए पनि शिक्षा महाशाखाले विद्यालयको खातामा तलब भुक्तानी नगरेकोले तलब दिन नसकिएको बताए । उनले भने, ‘हामीले धनगढीलाई तलब भुक्तानीका लागि माग फाराम भरेर बुझाइसकेका छौँ ।

तर, उहाँको तलब उपमहानगरपालिकाले अहिलेसम्म दिएको छैन । हामीले उनको सरुवाको पत्र पाएपछि रमानापत्र बनाएका थियौँ । तर, उनले बुझेनन् । उनले विद्यालयबाट सरुवा नहुने बताएपछि यहीँ अध्यापन गराइरहे । मैले शिक्षक वडलाई सँगै लगेर समेत नगरपालिकाको शिक्षा शाखामा सो विषयबारे जानकारी गराएको थिए तर अहिले सम्म हाम्रो विद्यालयको खातामा तलब भुक्तानी भएको छैन ।’ नगरले किन तलब भुक्तानी गरेन सो बारे समेत आफूलाई जानकारी नदिएको उनले बताए ।

शिक्षकले आफ्नो काम गरेको तलब पाउनु पर्ने भन्दै आफूले पटक–पटक नगरमा जानकारी गराएको र आफ्नो कुनै कमजोरी नरहेको उनले बताए । यता सो विषयमा जानकारी लिन खोज्दा धनगढी उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख घुम्मन सिंह बडायकले शिक्षकको हाजिरी रजिष्टर उपलब्ध नभएकाले तलब भुक्तानी नगरेको बताए ।

उनले भने, ‘हामीले बैशाखमै शिक्षक वडलाई धनगढी नमुनाबाट जुगेडा विद्यालयमा सरुवा गरेका थियौँ । सरुवा निर्णयमा आपत्ती जनाउँदै सर्वोच्च अदालतमा मुद्दामा दायर गरे । सो अवधिमा उनले काम गरे नगरेकोबारे हाजिरी रजिष्टर विद्यालयले उपलब्ध गराएको छैन । सरुवा नबुझेको अवस्थामा काम गरेको सुनिश्चितता नभएकोले तलब भुक्तानी नगरिएको हो ।’ विद्यालयले रमाना पत्र तयार गरेकोले हाजिरी रजिष्टर उपलब्ध गराउन समस्या भइरहेको जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक १८ गते मंगलबार