डडेल्धुरा ।
गृहमन्त्री रमेश लेखकले एक वर्षपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका छन् । बुधबार डडेल्धुरामा पार्टी कार्यकर्तासँगको भेटघाट कार्यक्रममा गृहमन्त्री लेखकले काँग्रेस र एमालेको गठबन्धनबाटै देउवा प्रधानमन्त्री बन्ने बताए । ‘मैले हिजो पनि पार्टीको केन्द्रीय समिति बैठकमा ८४ सम्म यो गठबन्धनलाई निरन्तरता दिनुपर्छ । सरकार बनेको १ वर्ष हुन थालिसकेको छ ।
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू हुनुहुन्छ । एक वर्षपछि हाम्रो पार्टी सभापति आदरणीय नेता शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुन्छ,’ उनले भने ‘८४ को निर्वाचन शेरबहादुर दाइले गर्नुहुन्छ ।’ उनले काँग्रेस र एमालेको गठबन्धन मुलुककै आवश्यकता भएको बताए । उनले राजनीतिमा षड्यन्त्र हुने गरेको भन्दै पछिल्लो समय आफू पनि राजनीतिक षड्यन्त्रको एम्बुसमा परेको बताए ।
‘मान्छेका आ–आफ्नो राजनीतिक उद्देश्य छन् । सरकार र समीकरणलाई कसरी कमजोर गर्ने ? काँग्रेसलाई कसरी कमजोर गर्ने भन्ने कुरा होला,’ उनले भने ‘मेराविरुद्धमा राजनीतिक षड्यन्त्र भएको हो । यो कुरा बिस्तारै स्पष्ट हुँदै गएको छ । एउटा कार्यालयका कर्मचारीमाथि छानबिन हुँदा मन्त्रीलाई नै जोड्नुको नियत प्रष्टै छ ।’
उनले सरकार र विपक्षी दलबीचको सहमतिअनुसार अध्यागमनमा देखिएको समस्या समाधान गर्न उच्चस्तरीय समिति बनेको उनको भनाइ छ । सुदूरपश्चिमको विकासका लागि सरकार सबै तवरबाट लागि परेको गृहमन्त्री लेखकले भनाइ थियो ।









प्रतिक्रिया दिनुहोस्