शेरबहादुर ऐर । कैलाली ।
सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट सर्वसम्मत रूपमा बुधबार पारित भएको छ । आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सभामा पेश गरेको ‘अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’लाई सभाबाट पारित गरयोस् भनी पेश गरिएको प्रस्तावलाई सर्वसम्मत रूपमा पारित भएको हो ।
सभामुख भिमबहादुर भण्डारीले विधेयकमाथि ‘हुन्न’ भन्ने शब्द नसुनिएकोले सर्वसम्मत रूपमा पारित भएको सभालाई जानकारी दिए । उनले भने, ‘हुन्न भन्ने शब्द सुनिएन तसर्थः आगामी आर्थिक वर्षको बजेट सर्वसम्मत रूपमा पारित भएको घोषणा गर्दछु ।’
बजेटमाथिको छलफलमा भाग लिएका सत्तापक्ष र प्रतिपक्षी दलहरूले व्यापक विरोध व्यक्त गरे । तर, आर्थिक मामिलामन्त्री थापाले पेश गरेको प्रस्तावमा सत्तापक्षले खुलेर समर्थन गरे भने प्रतिपक्षी दलहरूले मौन समर्थन गरेका थिए । बुधबार बजेटमाथिको छलफलमा भाग लिएका नेकपा माओवादी केन्द्रका सांसद रमेशसिंह धामीले बजेट निर्माणमा आर्थिक चलखेल भएको भन्दै बजेट फेल गरेर जान प्रदेश सरकारलाई आग्रह गरे । आर्थिक चलखेलका आधारमा बजेट निर्माण भएको आरोप लगाउँदै उनले बजेट फेल गरेर गए त्यस्तो चलखेल आफैँ उजागर हुने बताए ।
‘यहाँ छानबिन समिति के के कुरा आए । मेरो एउटै माग छ सरकार नढाल्नोस्, बजेट फेल गर्नोस् । मन्त्रालय बदल्नोस्, एक महिनापछि हेर्नोस् कसको घर कति जनाले घेरा हाल्छन् पैसा फिर्ता माग्नका लागि । कतिको सामाजिक सञ्जालमा आउँछन्,’ पूर्वमन्त्रीसमेत रहेका धामीले भने, ‘आँट गर्नोस् । बोरामा पैसा देख्ने मान्छे छन् । यति भनेपछि सरकारमा नभएको रिसले भनेको लाग्ला तर सत्तापक्षकै माननीयले यो भनिरहेका छन् ।’
नीति तथा कार्यक्रमअनुसार बजेट आउन नसकेको पनि उनले बताए । सरकारमै रहेका काँग्रेस र एमालेबीच बजेट निर्माणका क्रममा देखिएको अन्तरद्वन्द्व छताछुल्ल भएको धामीले बताए । प्रमुख प्रतिपक्षी माओवादीले बजेटलाई लिएर सदन बहिस्कार गर्नसक्ने भए पनि जिम्मेवार भएर त्यसो नगरेको उनको भनाइ थियो । ‘जनतातिर हामी किन फर्कन सकेका छैनौँ, यो कुरा गम्भीर छ,’ धामीले भने, ‘यहाँ हामी सदन बहिस्कार गर्न सक्थ्यौँ तर जिम्मेवार भएर त्यसो नगरेको हो ।’ उनले बजेटमा सरकारले दीर्घकालीन योजनालाई एक हजार, एक लाख छुट्याएर उपेक्षा गरेको बताए ।
नेकपा एमालेका प्रदेश सभा सदस्य धर्मराज पाठकले सुदूरपश्चिम सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा बदमासी भएको बताएका छन् । ‘बजेटमा बदमासी भएको छ, एकएक बदमासी पत्ता लाग्छ,’ उनले भने, ‘यसलाई रोक्न जारुरी छ । मुख्यमन्त्रीज्यू छानबिन समिति गठन गरौँ ।’ उनले यतिबेला कमाउधन्दा चलिरहेको बताए । ‘हामी दुईचार योजनामा मात्र लागिपरेका छौँ, हामी सही ढंगले अगाडि बढिरहेका छैनौँ,’ सांसद पाठकले भने, ‘शासन प्रणाली खराब हुँदो रहेनछ, शासन कस्तो चलिरहेको छ, शासन चलाउनेहरू कस्ता गए भन्ने मुख्य हुने रहेछ ।’
उनले भौतिक पूर्वाधार विकास मन्त्रालयप्रति टीकाटिप्पणी सार्वजनिक भइरहेको बताए । ‘हाकाहाकी पैसा लिएको कुरा उठिरहेको छ । होटलका नाम पनि भनिरहेका छन् सांसदहरूले, प्रदेश सभाकै बैठकमै प्रमाण दिन्छौँ भनिरहेका छन्,’ सांसद पाठकले भने, ‘सम्बन्धित मन्त्रीमाथि यो नैतिक प्रश्न हो कि होइन ? दुई चार करोडका लागि मात्र राजनीतिमा आएका हौँ भने ठीकै छ ।’ सरकारले केही अघि प्रदेशभरीको रोडको सञ्जाल बनाएर वाहवाही कमाएको भए पनि बजेट भने नराखेको औँल्याए ।
‘भौतिक योजना मन्त्रालयभित्र सयौँ योजनाहरू टुक्रेटाक्री आएका छन्,’ उनले भने, ‘भौतिक मन्त्रालय भनेको के हो ? सालबसाली बसाउने मन्त्रालय हो ? पहाडमा मान्छे छैन भन्छन् । तटबन्ध त गएका गएकै छन् त । कसलाई बचाउनका लागि हो त ? केही मन्त्रीहरूलाई नैतिक प्रश्न उठेको छ । त्यसको जवाफ चाहीँ चाहिन्छ ।’ आन्तरिक मामिला मन्त्रालयले गरेको बजेट विनियोजन तथा कार्यक्रममाथि टिप्पणी गर्दै उनले विपद्को जोखिममा सुदूरपश्चिम सबैभन्दा धेरै रहेकोले विपद् पूर्वतयारीमा बजेट विनियोजन नगरेको बताए । ‘हाम्रा प्राथमिकता के हुन् भन्नेमा मन्त्रीहरू अलमलमा छन्,’ उनले भने ।
सबैभन्दा बढी उपभोक्ता समितिबाट बदमासी भइरहेको बताउँदै उनले भ्रष्टाचार रोक्ने हो भने उपभोक्ता समितिबाट काम नगर्ने संकल्प गर्न आवश्यक रहेको बताए । नेकपा एमाले संसदीय दलका राजेन्द्रसिंह रावलले बाँदरले आफ्नो घर पनि नबनाउने र अरूको घर पनि बन्न नदिने बताए । ‘बाँदरले आफ्नो घर पनि बनाउँदैन, अर्काको घर पनि बन्न दिँदैन,’ रावलले भने, ‘तपाईँहरूलाई यतिबेला चपरीमुनिमा बास बस्ने म्यान्डेट छ, चपरीमुनि नै बस्नुस् । उक्साहट र हीनताबोध नगर्नुस्, गीत नगाउनुस् ।’
नेता रावलले एमाले सम्मिलित बजेट जनताको पक्षमा र जनताको स्वामित्वमा हुनुपर्दछ भन्ने मान्यता राखेको बताए । आधारभूत पूर्वाधारका क्षेत्रमा बजेट विनियोजन कमी भएको औँल्याउदै उनले कृषि ऊर्जा पर्यटन, सामाजिक, शिक्षा मानवीय विकासलाई निरन्तरता दिइएको बताए । ‘साक्षरताको सुदृढीकरण, उच्च शिक्षा, प्राविधिक शिक्षा सकारात्मक हुन्,’ उनले भने, ‘बजेटमा प्रादेशिक भौगोलिक असन्तुलन देखिएको छ ।’
सुदूरपश्चिमका प्रदेश सभा सदस्य मानबहादुर धामीले प्रदेश सरकार नैतिक रूपमा ढलिसकेको बताए । ‘सङ्ख्याको हिसाबले झण्डै दुई तिहाई हुनुहुन्छ, नैतिक हिसाबले यो सरकारले आफ्नो धरातल गुमाइसकेको छ,’ उनले भने, ‘एक पटक परीक्षण गर्नुहोस् मुख्यमन्त्रीज्यू । पुनः विश्वासको मत लिनुहोस् भन्ने आग्रह गर्न चाहन्छ ।’उनले बजेटमाथिको छलफलमा सहभागी अधिकांश प्रदेश सभा सदस्यले बजेटको विरोध गरेको बताए । ‘२७ जनामा एक दुई जनाबाहेक कसैले समर्थन गरेको छैन,’ उनले भने, ‘सुदूरपश्चिम सरकार नैतिक रूपमा ढलिसक्यो ।’
बजेट धेरै राम्रो भन्न सकिने अवस्था नरहेको अर्थमन्त्रीको स्वीकारोक्ति
सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट धेरै राम्रो भन्न सकिने अवस्था नरहेको बताए । ‘बजेट समग्रमा धेरै राम्रो भन्न सकिने अवस्था मैले पनि पाएको छैन,’ उनले भने, ‘स्रोतको कमी र अन्य कतिपय कारणले सोचेको जस्तो गर्न सकेका छैनौँ ।’ उनले सांसदहरूले माग गरेकै आधारमा धेरै मन्दिरमा बजेट परेको कुरा आफूलाई पनि महशुस भएको बताए ।
‘माननीयज्युहरूले नै मन्दिरका योजना लिएर आउनु भएको थियो,’ मन्त्री थापाले भने, ‘कसैले मेरोमा ५० जना पुगिसके भने, कसैले सय जना पुगिसके भनेर मन्दिरको योजना ल्याउनु भयो । सबै योजनालाई समेट्दा मन्दिरको योजना यसपालि धेरै भएकै हो ।’ उनले कतिपय वडामा छ सय योजना परेको सांसद्हरूको गुनासो आएपछि वडाअनुसार समेत छुट्याएर अध्ययन गरिएको बताए । उनले एउटा पालिकामा समेत छ सय योजना नपरेको दाबी गर्दै मन्त्री थापाले कुनै वडामा धेरै योजना परेको आफूले पनि भेटाएको बताए ।
उनले एक सयभन्दा बढी योजना परेको वडा नभेटिएको बताए । बहुवर्षीय योजनामा कम रकम विनियोजन भएको विषयमा मन्त्री थापाले पछि पनि रकमान्तर गर्न सकिने व्यवस्था गरिएको बताउँदै थप बजेट आवश्यक परेको बहुवर्षीय योजनामा थप बजेट विनियोजन गरिने बताए ।
बजेट किनबेच र बिचौलिया संस्कृतिको अन्त्य गर्ने प्रदेश सरकारको नीतिगत प्रतिबद्धता रहेको मन्त्री थापाले बताए । त्यसैका लागि गत वर्षदेखि चार बुँदे मापदण्ड बनाइएको बताउँदै उनले योजना खरिदबिक्रीको प्रमाण भेटिए कारबाहीको दायरामा ल्याउने बताए ।
एमाले दलका नेता राजेन्द्रसिंह रावलको अभिव्यक्ति विवादित
नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बजेटमाथिको छलफलका क्रममा बुुधबार प्रदेश सभा बैठकमा व्यक्त गरेको अभिव्यक्ति विवादमा परेको छ । नेता रावलले बजेट छलफलका क्रममा प्रतिपक्षी दलहरूलाई ‘बाँदरले आफ्नो घर पनि बनाउँदैन, अर्काको घर पनि बन्न दिँदैन’ भन्ने टिप्पणी गरेका थिए ।
संसदीय दलका नेता रावलको मन्तव्य सकिना साथ प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका सांसद मानबहादुर धामीले नियमापत्ति गर्दै उक्त अभिव्यक्ति संसदीय मर्यादा र गरिमाको बर्खिलाप भएको भन्दै अभिलेखबाट हटाउन आग्रह गरेका थिए । धामीको नियमापत्ति पछि सभामुख भण्डारीले रावलका अभिव्यक्तिमाथि छानबिन गरी रेकर्डबाट हटाइने बताए ।
बजेट पारितसँगै अनिश्चित बैठक
असार १ मा प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले ३३ अर्ब ४७ करोड बराबरको बजेट सभामा पेश गरे । सोही दिन पेन ड्राइभमार्फत प्रदेश सभा सदस्यहरूलाई वार्षिक कार्यक्रम पुस्तिका हष्तान्तरण गरी सार्वजनिक गरियो । तर, १३ असारसम्म बजेटमाथिको छलफल अनिश्चित बनेको थियो ।
१३ गतेदेखि सुरु भएको बजेटमाथिको छलफल बुधबार सर्वसम्मत ढंगले पारित भएको छ । यससँगै प्रदेशसभा बैठक पुनः अनिश्चित बनको छ । सभामुख भण्डारीले ‘अर्को बैठक आह्वान नभएसम्मका लागि बैठक अनिश्चित भएको’ सभालाई जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्