श्रीमानले गरे श्रीमतीको क्रुरतापूर्वक हत्या



प्रचण्ड खत्री । रूकुम पश्चिम ।

रूकुम पश्चिमको चौरजहारी नगरपालिका– ३ मा एक पुरुषले अत्यन्त क्रुरतापूर्वक आफ्नै श्रीमतीको हत्या गरेका छन् । टाटागाउँका ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले आफ्नै ३० वर्षीया श्रीमती देवीका बुढाथोकीलाई लखेटी लखेटी खुकुरीले हानेर टुक्रा पारेर हत्या गरेका हुन् । घटनाको जानकारी लगत्तै घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रमेश बिष्टका अनुसार श्रीमान् श्रीमतीबीच पहिला पनि विवाद र झैझैगडा हुने गरेको थियो ।

प्रहरीका अनुसार मंगलबार राति सुरुमा दुई जनाबीच घरमै लछारपछार भएको थियो । श्रीमान चन्द्रबहादुरले एक्कासी खुकुरी निकालेर श्रीमतीलाई ताके, उनीहरूको साथमा रहेका छोराछोरी चिच्याउन थाले । डरले देवीका घरबाट निस्किइन् । तर, चन्द्रबहादुर पछ्याउँदै गए । घरभन्दा करिब २५ मिटर पर खेतमा उनलाई भेटाएर कुखुरी हाने । हातले छल्न खोज्दा औँला काटिए । त्यसपछि चन्द्रबहादुरले अन्धाधुन्ध खुकुरी बर्साए ।

आफूलाई बचाउने प्रयासमा रहेकी देवीकाको दुवै हात काटिए । एक हात त टुक्रा भएर अलग्गै भएको डीएसपी बिष्टले बताए । उनका अनुसार दुवै हात काटिएपछि चन्द्रबहादुरले घाँटी काटे । घाँटीको एकातर्फको छालाको भाग मात्र छुट्टिन बाँकी थियो । चन्द्रबहादुर आफैँ चार किलोमिटर टाढा रहेको ईलाका प्रहरी कार्यालयमा रक्ताम्य अवस्थामा खुकुरीसहित पुगे । खुकुरी देखाउँदै, काँप्दै उनले श्रीमतीलाई मारेर आएको बताए । प्रहरीले उनलाई नियन्त्रणमा लियो ।

राति नै घटनास्थल पुगेर प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ । अहिले मृतक देवीकाको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्लेमा राखिएको छ भने चन्द्रबहादुरलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको छ । अत्यन्त क्रुरतापूर्वक आफ्नै श्रीमतीलाई टुक्रा पारेर हत्या गरिएको डिएसपी बिष्टले उल्लेख गरे । उनले मदिरा सेवन गरेको र लगातारको पारिवारिक झगडाले उग्ररूप लिएर हत्या भएको हुनसक्ने बताए । तथापि अनुसन्धानकै क्रममा रहेकोले कारण स्पष्ट भने भएको छैन ।

चौरजहारी नगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष लालबहादुर बुढाथोकीले अत्यन्त दुःखद घटना भएको बताए । उनका अनुसार उनीहरूका दुई छोरी र एक छोरा रहेका छन् । छोराछोरी साथमै रहेका बेला बुवाले ठूलो अपराधिक कार्य गरेको उनको भनाइ छ । १३ वर्षीया ठुली छोरी बुवाले आमालाई लखेट्दै जाँदा पछ्याउँदै गएकी थिइन् । तर उनी नपुग्दै आमालाई टुक्रा पारिसकेको स्थानीयले बताएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार १९ गते बिहीबार