बर्दियाकी एसईई टपर आरतीको कथाः जो डाक्टर बन्न चाहन्छिन्



आरती सानैदेखि पढाइमा अब्बल थिइन् । कक्षा नर्सरीदेखि बोर्डिङ स्कुलमा अध्ययन गरेकी उनी कक्षामा ‘नेभर सेकेण्ड’ विद्यार्थी हुन् । आरतीले कक्षा आठको परीक्षामा समेत चार जिपिए ल्याएकी थिइन् । स्कुलले ५० प्रतिशत छात्रवृत्तिमा उनलाई पढाएको थियो । उनले एसईई परीक्षामा बर्दिया जिल्लामै पहिलोपटक चार जिपिए ल्याएर इतिहास रचेकी छन् ।

शुभाकर विश्वकर्मा गणेश रावत । बारबर्दिया (बर्दिया) ।

बर्दियाको बारबर्दिया–६ जयनगर । जयनगर चोकको पूर्वतर्फ ५ सय मिटर कच्ची बाटो छिचोलेपछि एकान्तमा भेटिन्छ एउटा घर । माटोले बनेको घर, हरियाली फाँट र रूखको काखैमा छ । मूलघरको अघिल्तिर परम्परागत शैलीको अर्को घर छ । त्यसको अगाडि बाँधिएको छ, लैनो भैँसी । बुधबार बिहान उक्त घरमा पुग्दा घरभित्र थिइन्, आरती पौडेल । आरतीकी आमा गंगा पौडेल घर नजिकैको बारीमा काममा व्यस्त थिइन् । घर पुग्ने बित्तिकै नमस्कारसहित स्वागत गरिन् ।

अनि बोलाइन् बारीमा काम गर्दै गरेकी आमालाई । अनि सुरु भयो, बारबर्दिया–५ सदाशिव टोलमा जन्मे, हुर्के बढेकी आरतीको प्रेरणादायी यात्राका बारेमा संवाद । चार जनाको सानो परिवार । श्रीमान–श्रीमती र दुई छोरी । त्यो पनि दुईतिर छन् । परदेश (कुवेत)मा छन्, घनश्याम पौडेल । घरदेशमा आमा (गंगा पौडेल) दुई छोरी हुर्काउँदै घरव्यवहार धानिरहेकी छन् । दुई छोरीको पालनपोषण र राम्रो शिक्षादीक्षाका लागि पौडेल दम्पतीले सँगै बसेर सुख दुःख साट्न पाएनन् ।

विगत १२ वर्षदेखि वैदेशिक रोजगारीमा रहेका घनश्याम बेला बखत घर आइरहन्छन् । मध्यम वर्गीय पौडेल परिवारको सम्पूर्ण जीविकोपार्जनको माध्यम घनश्यामको वैदेशिक रोजगारीको कमाइ नै हो । घरमा अन्य व्यवहार भने गंगा नै चलाउँछिन् । उनीहरूको दैनिकी सामान्य रूपमा चलिरहेको छ । केही दिनअघि सार्वजनिक भएको २०८१ को माध्यमिक शिक्षा परिक्षा (एसईई)मा उनै आरतीले बर्दिया जिल्लामै सर्वोत्कृष्ट ग्रेड चार जिपिए ल्याइन् ।

उनी बर्दिया जिल्लामा पहिलोपटक चार जिपिए प्राप्त गर्ने एकमात्र विद्यार्थी हुन् । सानैदेखि लगनशील र सामान्य परिवारमा हुर्के पढेकी आरतीले प्राप्त गरेको सफलताले पौडेल परिवारमात्रै होइन सिंगो बर्दिया हर्षित भएको छ । दुःख र संघर्षको बीचमा वर्षौँपछि ऐतिहासिक खुसीलाई स्वागत गरेको छ, पौडेल परिवारले । आरती पढेको द भ्वाइस एकेडेमी स्कुलको शिर उचो भएको छ । बर्दिया जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल स्कुलले आरतीको सम्मान कार्यक्रम आयोजना ग¥यो । जयनगर बजार परिक्रममा गरियो । अहिले आरतीलाई सम्मान थाप्न भ्याइ नभ्याइ छ । मिसन टुडेको टिम उनको घरमा पुग्दा उनी हर्षित देखिन्थिन् ।

‘रिजल्ट हेर्नेबित्तिकै आँखाबाट आँसु आयो’

एसईईको नतिजाका बारेमा आरती भन्छिन्, ‘रिजल्ट मैले कान्तिपुर अनलाइनबाट हेरेको थिएँ । रिजल्ट हेर्नेबित्तिकै आँखाबाट आँसु नै आयो ।’ उनले आफूले चार जिपिए आउला भनेर आश नै नगरेको बताइन् । आरतीका अनुसार ३.९० सम्म आउँछ कि भन्ने थियो । चार नै आउला भन्ने थिएन । आफ्नो जीवनमा पहिलोपटक आएको अनपेक्षित खुसी आरतीले आफ्नी आमा गंगासँग साटिन् । गंगा पनि भावुक नहुने कुरै थिएन ।
छोरीको कुरा सुन्नेबित्तिकै उनी पनि छोरीलाई अंगालो हाल्दै रोइन् ।

गंगा भन्छिन्, ‘एकदम खुसी लाग्यो । सहनै सकिनँ, मैले त डाँको छोडेर रोएँ छोरीलाई अंगालो हालेर ।’ आरतीको खुसीको सिमाना सगरमाथामै जब पुग्यो जति बेला आरतीले प्राप्त गरेको नतिजा बर्दिया जिल्लाकै उत्कृष्ट हो भन्ने थाहा भयो । आरती सुनाउँछिन्, ‘बर्दिया मै उत्कृष्ट रहेछ भन्ने एक घण्टापछि थाहा पाएको हो मैले । सामाजिक सञ्जाल फेसबुकबाट ।’ परिवारमा प्राप्त खुसी कुवेतमा रहेका बुवालाई समेत भिडिओ कलबाट सुनाइन् आरतीले । बुवापनि एकदमै खुसी भएको र आफूलाई बधाई दिएको उनले बताइन् ।

मेधावी आरतीको सफलताको सूत्र

आखिर आरतीको सफलताको सूत्र के हो त ? आरती सुनाउँछिन्, ‘सफलताको लागि निरन्तरता । अध्ययनमा एकाग्रता । पुस्तक अध्ययनमा नियमितता । पढ्दा लेखन अनिवार्य ।’ यिनै सामान्य सूत्र, जसले आरतीलाई असामान्य खुसी र सम्मान दिएको छ । आरतीको बिहान सबेरै उठ्ने, राति १२ बजेसम्म नियमित पढ्ने र लेखेर पढ्ने बानी थियो । आफ्नो जिपिएमा लेखाइले पनि सहयोग गरेको उनको भनाइ छ ।

उनी अरुलाई सल्लाह दिन्छिन्, ‘पढ्दा एकाग्रता चाहिन्छ । ध्यान दिएर पढ्नुपर्छ । कहिले पढ्ने, कहिले नपढ्ने नगर्नुहोला । नियमित रूपमा पढ्दा फाइदा हुन्छ ।’ उनको यही क्षमताका कारण जिल्लामै स्वर्णीम अक्षरले लेखिने इतिहास रचेकी छन्, आरतीले । उसो त आरती सानैदेखि मेधावी छात्रा थिइन् । कक्षा नर्सरीदेखि कक्षा १० सम्म द भ्वाइस एकेडेमी स्कुलमा अध्ययन गरेकी हुन् । स्कुलका प्रिन्सिपल भिमसेन गिरी आरती कक्षामा सधैँ प्रथम भइरहने छात्रा भएको बताउँछन् ।

उनका अनुसार आरतीले कक्षा ८ को परीक्षामा समेत चार जिपिए अंक ल्याएर सर्वोत्कृष्ट अंक प्राप्त गरेकी थिइन् । त्यतिबेला बारबर्दिया नगरपालिकाले नै आरतीलाई सम्मान गरेको थियो । उनी भन्छन्, ‘आरती अन्य विद्यार्थीभन्दा फरक क्षमताकी थिइन् । आफैँमा अध्ययनशील थिइन् । बुवा आमाले समेत एकदम राम्रो सहयोग गर्नुभयो । आरतीको परिवार मध्यम खालको छ । तर पढाइमा निकै तेज छिन् । अक्षरसमेत धेरै राम्रा छन् ।’

आरतीको क्षमता र उनलाई थप सहयोगका लागि स्कुलले कक्षा ८ देखि ५० प्रतिशत छुट शुल्कमा पढाएको प्रिन्सिपल गिरीले बताए । आरतीलाई स्कुलकै होस्टेलमा राखेर थप सुविधा प्रदान गरेर पनि सहयोग गरेको उनको भनाइ छ । आरतीकी आमा गंगा पौडेल ध्यान दिएर पढ्दा सफलता हासिल हुने उदाहरण आफ्नी छोरीले पेस गरेको बताउँछिन् । उनी भन्छिन्, ‘एकदमै धेरै हर्षित छु । ‘ए प्लस’ ल्याउँछिन् भन्नेमा ढुक्क थिएँ । चार जिपिए नै ल्याउलिन भन्ने सोँचेको थिएन ।’ उनले अरुलाई राम्रोसँग पढाइमा मात्रै ध्यान दिन आग्रह गरिन् ।

शिक्षक भएको हेर्न चाहन्छिन् आमा, आरतीको चाहाना डाक्टर बन्ने

गंगा पौडेलले दश कक्षाभन्दा माथि पढ्न पाइनन् । पारिवारिक जिम्मेवारीले थिचेपछि आफूले पढाइलाई निरन्तरता दिन नसकेको उनी बताउँछिन् । पछि विवाह भएपछि पारिवारिक जिम्मेवारी आइलाग्यो । विवाहलगत्तै आरती जन्मिइन् । त्यसपछि आफूले चाहेर पनि पढ्न नसकेको उनी बताउँछिन् । गंगाका बुवा अहिलेपनि पढ भन्छन् । गंगा भन्छिन्, ‘मेरो बुद्धि पुगेन । घाँस काट्न जान्थेँ । अहिले त छोरीहरूलाई पढाउने बेला हो ।’

आफूले पढ्न नसकेको अभाव छोरीहरूबाट पूर्ति गर्न चाहन्छिन्, गंगा । आरती शिक्षक भएको हेर्न रहर छ उनलाई । ‘मेरो भनेको हुन्छ भने त शिक्षक भएको हेर्न मन छ । नर्सरीदेखि नै बोर्डिङ स्कुलमा पढेकी हुन् । उच्च शिक्षा हासिल गरेर आफू पढेकै स्कुलमा पढाउन् भन्ने छ । मलाई शिक्षक एकदम मन पर्छ ।’ आफूले सानैदेखि आरतीलाई शिक्षक नै बनाउँछु भनेर पढाएको उनको भनाइ छ ।

आरतीको भने ‘प्लस टु’मा बायो साइन्स पढ्ने र त्यसपछि एमबीबीएस पढेर डाक्टर बन्ने धोको छ । डाक्टर नै किन बन्न चाहन्छिन् त, आरती भन्छिन्, ‘सानैदेखिको रहर नै थियो । कसैको ज्यान बचाउनु जत्तिको ठूलो कुरा केही होइन । त्यसैले म डाक्टर बनेर आफ्नै गाउँ ठाउँमा सेवा गर्न चाहन्छु ।’ प्रिन्सिपल गिरीका अनुसार आरतीलाई निःशुल्क पढाउनका लागि काठमाडौँका विभिन्न विद्यालयहरूबाट प्रस्ताव आएको छ । परिवार र आरतीसँग सल्लाह गरेर काठमाडौँमै राम्रो स्कुलमा पढाउने धोको रहेको उनले बताए ।

स्कुलकी मेधावी विद्यार्थीकी रूपमा रहेकी आरतीको उच्च शिक्षा अध्ययनका लागि ३१ हजार रूपैयाँ नगद सहयोग स्कुलले गर्ने प्रिन्सिपल गिरीले घोषणासमेत गरेका छन् । उक्त स्कुलबाट २२ जना एसईईमा सहभागी भएका थिए । जसमध्ये ५ जनाले ‘ए प्लस’, १४ जनाले ‘बी प्लस’ नतिजा निकालेका छन् । जिल्लामा एसइईमा पाँच हजार दुई सय ८९ जना विद्यार्थी सहभागी थिए । जिल्लाको उत्तीर्ण प्रतिशत ५६ दशमलव ४ प्रतिशत रहेको शिक्षा इकाइ तथा समन्वय कार्यालयका प्रमुख सूर्यबहादुर खत्रीले जानकारी दिए ।

उनका अनुसार गत वर्षको एसईई परीक्षामा कसैले पनि चार जिपिए ल्याएका थिएनन् । बर्दिया जिल्लामै प्रथम स्थान हासिल गरेकी आरतीलाई स्कुलले सम्मान कार्यक्रम आयोजना गरेर सम्मान गरेको छ । उनलाई जयनगर बजारसमेत परिक्रमा गराइएको थियो । उनीहरूलाई बारबर्दियाका नगर प्रमुख छविलाल थारू र उपप्रमुख रत्नकुमारी पाण्डेले सम्मान गरेका थिए । विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धि अन्तक्र्रिया तथा अभिभावक सम्मान कार्यक्रमको आयोजना गरेर आरतीको अभिभावकलाई सम्मानसमेत गरेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार १९ गते बिहीबार