कर्णालीमा मनसुनबाट ठूलो क्षति हुने अनुमान



नन्दराम जैशी । सुर्खेत ।

कर्णाली प्रदेशमा यस वर्ष मनसुनजन्य विपद्का कारण ठूलो जनधनको क्षति हुने अनुमान गरिएको छ । यस वर्षको मनसुनजन्य विपद्का कारण कर्णालीमा २९ हजार १३२ घरपरिवार प्रभावित हुने अनुमान छ । जसबाट १ लाख २७ हजार ३०८ जना प्रत्यक्ष प्रभावित हुनसक्ने अनुमान छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको राष्ट्रिय कार्ययोजनाको आधारमा कर्णाली प्रदेशका लागि यो तथ्यांक निकालिएको हो ।

विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन प्रदेशमा ९ वटा विषयगत क्षेत्र (क्लस्टर) निर्धारण गरिएको छ । जसको नेतृत्व अर्थ र मु्ख्यमन्त्रीको कार्यालयबाहेक अन्य ६ वटा मन्त्रालयले गर्नेछन् । मुख्यमन्त्री यामलाल कँडेलले विपद्को पूर्वतयारीमा लाग्न समेत सबै पक्षलाई निर्देशन दिइसकेका छन् । कर्णाली सरकारले विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि २ महत्वपूर्ण कार्ययोजना पारित गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव उत्तम गौतमका अनुसार मुख्यमन्त्री प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२’ र ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२’ पारित गरेको हो ।

बैठकले पारित गरिएका कार्ययोजनाहरू तत्काल कार्यान्वयनमा लैजान सरोकारवाला निकायहरूलाई निर्देशन दिइएको उनले जानकारी दिए । विशेषगरी मनसुनको समयमा हुन सक्ने सम्भावित क्षति न्यूनीकरण तथा प्रभावकारी प्रतिकार्यका लागि प्रदेश सरकारले तयारी थालेको छ । विपद्लाई मध्यनजर गर्दै कर्णाली सरकारले राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग सम्झौता गरेर हरेक नागरिकको सामूहिक प्राकृतिक विपद् बीमा गरेको छ ।

शुक्रबार मात्रै यो बीमाको अद्यावधिक गरिएको छ । बीमा कम्पनीले प्राकृतिक विपदमा परी मृत्यु हुन गएमा प्रति व्यक्ति २ लाख क्षतिपूर्ति भुक्तानी गर्ने सम्झौता अद्यावधिक भएको हो । प्रदेश मन्त्रिपरिषद्बाट पारित भएको बीमासम्बन्धी कार्यविधिको अधिनमा रही यस बीमा कार्यक्रम २०७६ चैत १ बाट लागु भएको थियो ।

विपद् पूर्वतयारीमा वीरेन्द्रनगर

मनसुनजन्य विपद्का कारण कर्णालीमा ठूलो जनधनको क्षति हुने पूर्वानुमान भइरहेका बेला प्रदेश राजधानीमा अवस्थित वीरेन्द्रनगर नगरपालिका विपद् पूर्वतयारीमा जुटेको छ । कर्णालीका अन्य स्थानीय तहको तुलनामा वीरेन्द्रनगरले विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि जोड दिएको हो । वीरेन्द्रनगर प्राकृतिकजन्य बहुप्रकोपको उच्च जोखिम रहेका उपत्यका हो ।

यस वर्षको मनसुन सुरुभसँगै वीरेन्द्रनगरले विशेष गरी बाढी–डुबान र नदी कटानको उच्च जोखिममा रहेका तल्लो तटीय क्षेत्रमा पूर्वसूचना प्रणाली, वर्षा मापन केन्द्र स्थापना, उद्धार सामग्रीसँगै यसमा खटिने जनशक्ति तयारी अवस्थामा राखेको छ । नगरपालिकाका प्रमुख मोहनमाया ढकालका अनुसार आपतकालीन कार्य सञ्चालन केन्द्रमार्फत विपद् व्यवस्थापन, पूर्वतयारी तथा प्रतिकार्यलाई तयारी अवस्थामा राखिएको छ । गुुरुुयोजनाविपरीत जोखिमयुक्त स्थानमा धमाधम भौतिक संरचना निर्माण गरिनु, खोला–नालाको बढ्दो अतिक्रमणका कारण वीरेन्द्रनगरमा मनसुनजन्य विपद्को जोखिम बढ्दै गएको उनको भनाइ छ ।

अव्यवस्थित ढल तथा अतिक्रमणले खुम्चिएका वीरेन्द्रनगरका खोलानालामा उत्तरी क्षेत्रबाट आएको पानीलाई सहज निकास दिनसक्ने अवस्था छैन । जसका कारण माथिल्लो (मुख्य बजार) क्षेत्रमा पानी खोलामा नभई सडक तथा बस्तीमा पस्ने समस्या बल्झदै गएको छ । अर्कोतर्फ पानीको निकास साँघुरो हुँदा उपत्यका क्षेत्रमा सामान्य वर्षामा समेत दक्षिणी भू–भाग डुबानमा पर्ने गरेको छ ।

वीरेन्द्रनगरका मुख्य इत्राम, नेवारे, खोर्केखोला अतिक्रमणका कारण साँघुरिन गई बस्तीमा बाढी पस्ने तथा तल्लो क्षेत्रमा डुबानको जोखिम बढ्दै गएको अवस्था छ । यही जोखिमसँग लड्न नगरपालिकाले यसअघि नै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, स्थानीय विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्ययोजना, विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार पारी लागु गरिसकेको छ ।

आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख यामलाल गिरीले विपद्सम्बन्धी ऐन, कार्यविधि, कार्ययोजनाका आधारमा पूर्वतयारीका सम्पूर्ण कार्यहरू तयारी अवस्थामा रहेको बताए । उनका अनुसार केन्द्रले आफ्नो सञ्चार संयन्त्रका माध्यमबाट नगरस्तरीय विपद् व्यवस्थापन समिति, वडास्तरीय व्यवस्थापन समिति, टोल विकास संस्थाहरू, विपद् उद्धार कार्यदल, गैरसरकारी संस्थाहरूलाई तयारी अवस्थामा राखेको छ भने विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाका आधारमा जोखिम संवेदनशिल क्षेत्रमा न्यूनीकरणका कामहरू सम्पन्न गरिएको छ ।

जोखिम क्षेत्र र तयारी अवस्था 

राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार ३८ हजार ३७७ घरधुरी रहेको वीरेन्द्रनगरमा २ हजार ३९५ घरधुरीका कम्तिमा ११ हजार ९७५ जना प्रत्यक्ष एव आंशिक रुपमा बहुप्रकोपजन्य विपद्बाट प्रभावित हुने अनुमान छ । विपद् जोखिमका दृष्टिले वीरेन्द्रनगरका वडा नं २ र ९ बाढी र डुबानको उच्च जोखिमा छन् । यी वडामा वीरेन्द्रनगरको सम्पूर्ण पानी बाहिरिने निकास खोला अवस्थित छ । यस्तै वडा नं १४, १५ र १६ मा पहिरो, वडा नं ३ मा भूकम्प र वडा नं १६ मा चट्याङको उच्च जोखिम छ ।

चट्याङबाट वर्षेनि प्रभावित पनि हुँदै आएका छन् । आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार वीरेन्द्रनगरका इत्रामखोला, आँपखोली, तल्लो पर्सेनीमा नदी कटान नियन्त्रण गर्न तटबन्ध निर्माण गरिएको छ । आँपडालीमा बायो इन्जिनियरिङ विधिबाट गरिएको तटबन्ध प्रभावकारी बनेको नगरपालिकाको दाबी छ । २०७१ सालमा उक्त खोलाको कटानबाट ९ घर विस्थापित भएका थिए । हाल उक्त क्षेत्रमा तटबन्ध गरिएको हो । इत्राम खोलामा पनि तटबन्ध बनेपछि दुई सय बढी घरधुरी लाभान्वित भएको बताइएको छ ।

वीरेन्द्रनगर–९ तल्लो पर्सेनीमा बाढी–डुबानको पूर्वसूचना दिने साइरन जडान गरिएको छ । भने आपतकालीन नम्बर १०१ समेत प्रयोगमा ल्याइएको छ । नगरपालिकाले पूर्वसूचना प्रणाली व्यवस्थापनका साथै उद्धार उपकरण एवं जनशक्तिलाई पनि तयारी अवस्थामा राखेको छ । आपतकालीन कार्यसञ्चालन केन्द्रमा मनसुन पूर्वतयारी तथा प्रतिकार्यका लागि रबरबोट २, दमकल २, डोजर २, लाइफ ज्याकेट ८० थान, रबर ट्युब २० थान, एम्बुलेन्स १, स्टुङइसर ५, फायर बल १० थान, फायर सेफ्टी इक्युपमेन्ट ४ थान तयारी अवस्थामा राखिएको छ ।

नगरपालिकाले स्वयंसेवक ब्युरो गठन तथा परिचालन निर्देशिकाअन्तर्गत तालिमप्राप्त अग्नि नियन्त्रक १४ जना, दु्रत लेखाजोखा ४१, खोज तथा उद्धारकर्ता २४, वासटोली १७ जनालाई परिचालन गर्ने तयारी गरिएको छ । यस्तै नगरपालिकाले ६५ लाख रूपैयाँको विपद् व्यवस्थापन कोषसमेत बनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार १५ गते आइतबार