कृषि उत्पादनमा शंखपिपलवासीको प्रतिस्पर्धा : बेमौसमी तरकारीबाट मनग्य आम्दानी



नन्दराम जैशी । सल्यान ।

जहाँ किसानहरूबीच तरकारी उत्पादनमा प्रतिस्पर्धा नै चल्छ । कुन सिजनमा कसले बढी तरकारी उत्पादन गरेर धेरै पैसा कमाउने भन्नेमा किसानबीच प्रतिस्पर्धा हुन्छ । यो दृश्य हो, त्रीवेणी गाउँपालिका–२ शंखपिपल सल्यान जिल्लाको ।
यहाँका किसान बाह्रैमास कृषिकर्ममा व्यस्त हुन्छन् । यहाँका किसानले अन्य खेतीसँगै तरकारी व्यवसायलाई मुख्य आयस्रोतको माध्ययम बनाएका छन् । त्यसैमा झन् बेमौसमी तरकारीबाट मनग्य आम्दानी हुने गरेको किसान मइते घर्तीले बताए । उनको नेतृत्वमा जानकी खाद्यन्न बाली कृषक समूह गठन गरिएको छ । समूहमा २७ घरधुरी आबद्ध छन् ।

यो समूहलाई कृषि क्षेत्र विकास कार्यक्रमले सहयोग गर्दै आएको छ । उक्त सहयोगअन्तर्गत समूहमा आबद्ध सबै जनाले बेमौसमी तरकारी खेतीका लागि टनेल पाएका छन् । टनेल उपलब्ध भएपछि किसानहरू बेमौसमी तरकारी उत्पादनमा झनै हौसिएको किसान कर्णबहादुर थापाले बताए ।

‘सिजनमा टनेलभित्र र बाहिर बारी दुवैमा तरकारी उत्पादन हुन्छ । अफसिजनमा टनेलभित्र मात्रै उत्पादन गर्छौँ,’ उनले भने, ‘४ भाग जग्गामा १ भागमात्रै तरकारी र अन्य सबैमा अन्नबाली लगाउँदा तरकारीबाट बढी फाइदा हुन्छ ।’
उनले यस वर्ष बेमौसमी तरकारीबाट मात्रै ३ लाख ५० हजार आम्दानी गरेका छन् । २०७० सालदेखि व्यवसायिक तरकारी खेतीमा लागेका उनले लेकको जग्गामा अदुवा खेती र बाख्रापालन पनि गर्दै आएका छन् । तरकारी खेतिबाटै उनले कान्छो छोरालाई बुटवलमा फार्मेर्सी पढाएका छन् भने जेठो छोरा काठमाडौँमा मास्टर डिग्री पढ्दै छन् ।

सिजनमा ४० रूपैयाँँ प्रतिकेजीमा बिक्री हुने टमाटर बेमौसमीका बेला १०० रूपैयाँँमा बिक्री हुने गरेको उनले बताए । किसानले उत्पादन गरेको टमाटर, काउली, करेला, भान्टा लगायतका तरकारी बिक्रीका लागि नजिकैका रामबजार, रीखे बजार र लहाम बजारमा निर्यात हुन्छ । रामबजार, रीखे बजारमा किसानले बोकेरै तरकारी बिक्री गर्न लैजान्छन् भने लहाम बजारमा गाडीबाट निर्यात हुन्छ ।

तर बेमौसमी तरकारी उत्पादनका बेलामा भने तरकारी किन्न बारीमै व्यापारीको घुइँचो लाग्ने गरेको किसान सेते पुनले बताए । २०४६ सालदेखि तरकारी खेतीमा लागेका उनले हाल ४ रोपनी जग्गामा तरकारी उत्पादन गरिरहेका छन् । यस वर्ष बेमौसमी तरकारी बेचेर उनले २ लाख ५० हजार आम्दानी गरेका छन् ।

‘मूल्य र उत्पादनमा उतारचढाव हुदाँ आम्दानी पनि थपघट भइरहन्छ । सिजनमा भन्दा बेमौसमी तरकारीबाट मनग्य आम्दानी हुन्छ,’ उनले भने, ‘यही तरकारी व्यवसायबाटै ५ जनाको घरपरिवारको खर्च सजिलै चलेको छ । छोराछोरीलाई पढाइ खर्च गरेर मासिक थोरै थोरै भएपनि बचत गर्दै गएको छु ।’

यहाँका किसानले तरकारी बेचेर आम्दानी भएको केही रकम रोग किरा व्यवस्थापन र बीउ खरिदमा खर्च गर्दै आएका छन् । ‘तरकारी खेतीमा मेहनतअनुसारको घाटा छैन । गाउँमै मेहनत गरे काम खोज्न कतै धाउनुपर्दैन,’ उनले भने, ‘मैले राम्रो मेहनत गर्दा एउटै बोटबाट ६÷७ केजी टमाटर फल्यो, त्यसबाट बीउ खरिदको मूल्य पूरै कभर भयो । बाँकी फलेका सबै टमाटर फाइदामा गणना भयो ।’

गाउँमा उत्पादन भएको तरकारीको मूल्य सबै उत्पादक किसान मिलेर निर्धारण गर्ने गरेको कृषक सुकी राम्जाले बताइन् । पहिले खानका लागि मात्रै उत्पादन गर्दै आएकी उनी हाल व्यवसायिक तरकारी उत्पादनमा लागेकी छिन् ।
कृषि क्षेत्र विकास कार्यक्रम सुर्खेतका पोषण कार्यक्रम अधिकृत रुद्र आचार्यका अनुसार शंखपिपल गाउँका किसानलाई बेमौसमी तरकारी खेतीका लागि आवश्यक ज्ञान, सीपसँगै टनेलसहित अन्य औजार उपकरण सहयोग गरिएको छ ।

यस्तै समूहमा आबद्ध किसानका लागि ४० दिनको वित्तीय शिक्षा तथा व्यवसायिक साक्षरतासम्बन्धी कक्षा सञ्चालन गरिएको उनले बताए । बेमौसमी तरकारी खेतीका लागि सिँचाइ सुविधा पु¥याउन १९ लाख बढीको लागतमा नहर निर्माण गरिएको उनले जानकारी दिए ।

यो कार्यक्रमअन्तर्गत कर्णाली प्रदेशका १० जिल्लाका ५८ वटा स्थानीय तहमा बेमौसमी तरकारी खेती भइरहेको छ । जसमा १८९ वटा समूह, सहकारी आबद्ध छन् भने ४ हजार ८६५ घरधुरी लाभान्वित भएका छन् । सुदृढ बजार सम्बन्ध भएका समूहको सङ्ख्या १०३ रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार १ गते आइतबार