कोहलपुर, २ मंसिर/ नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त वाम गठबन्धनले बाँके क्षेत्र नं ३ को चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।
प्रतिवद्धतापत्र सार्वजनिक गर्दै नेकपा एमालेका नेता एवं पूर्व सांसद दलबहादुर सुनारले बाँके क्षेत्र नम्बर ३ मा १५ हजार बढी मतले वामगठबन्धन अगाडि रहेको बताए ।
शुक्रबार प्रतिवद्धता पत्रका सार्वजनिक कार्यक्रममा बोल्दै क्षेत्र नम्बर ३ का निर्वाचन परिचालन समितिका संयोजक समेत रहेका सुनारले क्षेत्र नम्बर ३ मा वाम गठबन्धन १५ हजार बढी मतले अगाडि रहेकोले गठबन्धनको जीत सुनिश्चित रहेको बताए ।
स्थानिय निर्वाचनमा आएको मतको विश्लेषण गर्दैै पूर्व सांसद सुनारले काँग्रेस, राप्रपा र मधेशी दलको मत जोड्दा पनि वाम गठबन्धन १५ हजार ७४ मतले अगाडि रहेको दाबी गरे । उनले क्षेत्र नम्बर ३ को प्रदेश सभा ‘क’ मा ९ हजार ९ सय १६ मत र प्रदेश सभा ‘ख’ मा ५ हजार २ सय ८२ मतले वाम गठबन्धन अगाडि रहेको जानकारी दिए ।
सोही कार्यक्रममा बाँके क्षेत्र नं.३ का प्रतिनिधि सभाका उम्मेदवार नन्दलाल रोकायले पुँजी विकास गरी उत्पादनसँग जोड्ने नीति ल्याइने बताए । उनले राजनीतिकरुप चेतनाशिल क्षेत्र नम्बर ३ को मुहार फेर्ने प्रतिवद्धता जनाए । प्रतिवद्धता पत्रमा गर्न सक्ने कुरा मात्रै राखेकोले ५ बर्षको कार्यकालमा पुरा गरेर मात्रै विदा लिने प्रतिवद्धता ब्यक्त
गरे ।
कार्यक्रममा प्रदेश नम्बर २ का उम्मेदवार बाबुराम गौतमले आफ्नो क्षेत्रलाई नमुना क्षेत्र बनाउने बताए । सो प्रतिबद्धता पत्रको सार्वजनिक कार्यक्रममा एमाले जिल्ला सचिव रत्न खत्री, क्षेत्र नम्बर ३ को प्रदेश सभा २ का संयोजक पदम धिताल र सहसंयोजक रक्षाराम कुर्मी लगायतको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया दिनुहोस्