असल अभ्यासमा कृषि सहकारी



पछिल्लो समय केही सहकारी संस्थाका सञ्चालकहरूको बदमासीका कारण खराब सहकारी मात्रै चर्चामा रहँदा असल अभ्यास गरिरहेका सहकारी भने छायाँमा छन् । बचत तथा ऋण सहकारी संघका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी भन्छन्, ‘एउटा कुहिएको आलुले सबै आलु बिगार्छ भनेजस्तै अहिले केही सहकारीका कारण पूरै सहकारी नै खराब हुन् कि भन्ने आशंका नागरिहरूमा उत्पन्न भएको छ । सञ्चार माध्यमले पनि असल सहकारी अभ्यासबारे चर्चा नगर्दा यसो भएको छ ।’
वीरेन्द्र जैसी । नेपालगन्ज ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० राँझा विमानस्थल छेउमा रहेको थपुवा गाउँ नेपालगन्जको एक किनारीकृत गाउँ हो । २०७२ सालमा सोही गाउँका २५ जना स्थानीयहरू मिलेर दूध उत्पादन गरी बजारमा पु¥याउने उद्देश्यले शुद्ध गोरस दुग्ध उत्पादक सहकारी स्थापना गरेका थिए । स्थापना हुँदा उक्त गाउँबाट दैनिक २० लिटर मात्रै दूध संकलन भएको थियो ।

अहिले सोही गाउँबाट दैनिक एक हजार तीन सय लिटर दूध संकलन हुन्छ । एकै किसानले दैनिक ४० लिटरसम्म दूध उत्पादन गरिरहेका छन् । हाल सहकारीमा तीन सय ५० जना सेयर सदस्यहरू रहेका छन् । सहकारीले संकलित दूधको बजारीकरण गरी किसानलाई मूल्य उपलब्ध गराइरहेको छ ।

सहकारीको सुरुवाती दिनहरू सम्झिँदै अध्यक्ष खकेन्द्र न्यौपाने भन्छन्, ‘गाउँसम्म पुग्न राम्रो बाटो पनि थिएन । दूध बोक्ने साधन हुने कुरै भएन । हामीले काँधमा लठ्ठीमा झुण्ड्याएर दूध राँझा र नेपालगन्ज बजारसम्म पु¥याउँथ्यौँ । अहिले हामीसँग आफ्नै तीन पांग्रे गाडी छ ।’ सहकारीले किसानहरूलाई गाईभैँसीको स्याहार, सम्भार, दाना पानीको व्यवस्था, बिरामी हुँदा ख्याल गर्नुपर्ने कुरादेखि आधुनिक प्रविधिबारे जानकारी गराउँदै आएको छ । गाउँमा केही किसानहरूले व्यवसायिक रूपले नै गाईभैँसी पालन गरिरहेका छन् ।

०००

बाँकेकै राप्ती सोनारी गाउँपालिकामा केन्द्र रहेको साकार कृषि सहकारी संस्था अर्काे एक उदाहरणीय सहकारी हो । २०६८ सालमा ४४ जना ३० वर्ष मुनिका युवा मिलेर २० हजार रूपैयाँको पुँजीबाट साकार कृषि सहकारी संस्था स्थापना गरिएको थियो । हाल उक्त सहकारीमा आठ हजार नौ सय जना सदस्य र चार करोड ३५ लाख सेयर पँुजी रहेको छ । उक्त सहकारी ३७ करोड भन्दा धेरै सम्पत्ति भएको बाँकेकै अग्रणी र कुशल व्यवस्थापन भएको सहकारी संस्था हो ।
३० वर्ष मुनिका केही युवाहरूले कृषिलाई व्यवसायीकरणसँग जोड्ने ग्रामीण क्षेत्रमै सम्भावनाको खोजी गर्ने उद्देश्यले साकार कृषि सहकारीको स्थापना गरेका थिए । उक्त सहकारीले अहिले बाँकेका प्रायः सबै स्थानीय तहहरूमा सेवा बिस्तार गरिसकेको छ । विशेषगरी सहकारीले बाँकेको राप्ती सोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाजस्ता ग्रामीण क्षेत्रका किसानहरूलाई एकताबद्ध गरेर उत्पादनमुखी कर्ममा अग्रसर गराइरहेको छ ।

साकारले गर्दै आएको उदाहरणीय काम अन्न बालीहरूको बीउ उत्पादन हो । सहकारीले सदस्यहरूबाट धान, गहुँ, मसुरो, मुङ, मकै र तोरी लगायतका बालीको बीउ उत्पादन गर्न लगाउने, त्यसलाई प्रशोधन गर्ने र बजारीकरण गर्ने काम गर्दै आएको छ । यसैगरी किसानको अन्नबालीजन्य उत्पादन खरिद गरेर बजारीकरण पनि गर्दै आएको छ । साथै, किसानलाई सहुलियतदरमा कृषिका लागि आधुनिक मेसिन र प्रविधि उपलब्ध गराउने काम पनि साकारले गर्दै आएको छ ।
सहकारीले आफ्ना सदस्यहरूलाई आपतविपत पर्दा राहत उपलब्ध गराउने, सीपमूलक तालिम दिने, वित्तीय शिक्षासम्बन्धी तालिम दिने काम गर्दै आएको छ । सहकारीले प्रविधिको प्रयोग गरेर ग्रामीण क्षेत्रका किसानलाई सहज सेवा प्रदान गरिरहेको छ ।

सहकारीले अब होमस्टे सञ्चालन गर्ने र एक घर एक कृषि उत्पादनमा आधारित कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । ‘सबैले सबै उत्पादन गर्दा त्यसको खरिद कसले गरिदिने भन्ने समस्या हुने रहेछ । त्यसकारण एउटा घरले आलु उत्पादन गर्छ भने अरुले अन्य तरकारी उत्पादन गर्ने, आलु चाहीँ त्यही छिमेकीबाट खरिद गर्ने मोडेलमा कार्यक्रम लागू गर्दै छौँ,’ सहकारीका व्यवस्थापक भरत केसीले भने । उनका अनुसार अब सहकारी कृषि पर्यटनको मोडेलमा अघि बढ्दै छ । एउटा गाउँमा होमस्टे सञ्चालन गर्ने र नमुना कृषि प्रणालीमा खेती गर्न लगाउने तयारी सहकारीको रहेको उनले बताए ।

०००

यी त केही उदाहरण मात्रै हुन् । पछिल्लो समय केही सहकारी संस्थाका सञ्चालकहरूको बदमासीका कारण खराब सहकारी मात्रै चर्चामा रहँदा असल अभ्यास गरिरहेका सहकारी भने छायाँमा छन् । बचत तथा ऋण सहकारी संघका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी भन्छन्, ‘एउटा कुहिएको आलुले सबै आलु बिगार्छ भनेजस्तै अहिले केही सहकारीका कारण पूरै सहकारी नै खराब हुन् कि भन्ने आशंका नागरिहरूमा उत्पन्न भएको छ । सञ्चार माध्यमले पनि असल सहकारी अभ्यासबारे चर्चा नगर्दा यसो भएको छ ।’

राष्ट्रिय सहकारी महासंघको २०७९ सालमा तयार गरेको भिजन २०३० सँग सम्बन्धित एक दस्ताबेजका अनुसार देशभरका २५ बढी सहकारीहरूले दुग्ध प्रशोधन उद्योग चलाएका छन् । ३१ वटा सहकारीहरूले चिया उद्योग, ३५ सहकारीले हाटबजार, ६ सय ५४ सहकारीले कृषि सामग्रीको बिक्रीवितरण सञ्चालन गरिरहेका छन् भने ४८ वटा सहकारीले कोल्ड स्टोरेज सञ्चालन गरिरहेका छन् ।

यही वर्ष संसदीय छानबिन समितिले तयार गरेको सहकारीसम्बन्धी छानबिन प्रतिवेदनमा पनि असल अभ्यासमा रहेका सहकारीहरूबारे अलग्गै अध्याय राखेर वित्तीय अवस्था उल्लेख गरिएको छ ।

तर, सहकारीकर्मीहरू अहिले पनि जनस्तरबाट अविश्वासको महसुस भइरहेको बताउँछन् । राप्ती सोनारीकै अष्टम कृषि सहकारी स्थानीय ८ वटा सहकारी मर्ज भएर बनेको सहकारी हो । सबै सहकारी एकै ठाउँ आउँदा नयाँ र उत्पादनमुखी काममा अग्रसर हुन हौसला मिलेको सहकारीका मुख्य प्रबन्धक हरिश केसी बताउँछन् । त्यही हौसलाले आफूहरूले राइस मिल सञ्चालन गर्ने तयारी गरेको उनले बताए । तर, अरु सहकारीका कारण अहिले ऋण असुली गर्नै अप्ठ्यारो भइरहेको उनी बताउँछन् । ‘हाम्रो सहकारीमा कुनै समस्या छैन । तर अरु सहकारीका कारण ऋण उठाउन कठिन छ । प्रहरी प्रशासनको सहयोग नलिइ कतिपय ऋण उठाउन गाह्रो हुने देखिन्छ,’ उनले भने ।

सहकारी संघ बाँकेका अध्यक्ष प्रेम केसी पनि असल अभ्यास भएका सहकारीको चर्चा र उनीहरूबाट सिकाइ गरी सहकारी अभियानलाई उत्पादनमुखी दिशामा लैजानुपर्ने बताउँछन् । संघले अहिले नागरिकहरूमा रहेको भ्रम चिर्न र विश्वास फर्काउन घरदैलोमा जाने रणनीति बनाइरहेको उनले बताए ।

सन् २०२३ मा संसारका उत्कृष्ट तीन सय सहकारीमध्ये एक सय ५ वटा कृषि सहकारी रहेको पाइएको थियो । अर्थ विज्ञ डा. राजेश केशर खनाल पनि नेपालमा कृषि आधारित सहकारीको अभ्यास पनि राम्रो रहेको र सम्भावना राम्रो रहेको बताउँछन् । उनले यस सम्भावनालाई उपयोग गर्न स्वार्थ समूहबाट सहकारीलाई मुक्त गर्नुपर्ने र सहकारी शिक्षालाई विद्यालय तहबाटै लागू गराउनुपर्ने उनको सुझाव छ ।

तर, नेपालमा रहेका ३१ हजार बढी सहकारीमध्ये २५ हजार बढी सहकारीले बचत तथा ऋणको मात्रै कारोबार गर्ने गरेको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । बचत तथा ऋण सहकारी संघका वरिष्ठ उपाध्यक्ष अधिकारी भन्छन्, ‘अब यस्ता सहकारी मर्ज गरेर सङ्ख्या घटाउनुपर्छ । अनावश्यक रूपमा शाखा खोल्न दिनुहुन्न् । सहकारी शिक्षालाई विद्यालयस्तरमै लागू गर्नुपर्छ । सहकारी नियमनका राज्य गम्भीर हुनुपर्छ ।’

  • No tags available
प्रकाशित मिति : २०८१ चैत २६ गते मंगलबार