सुधारिँदै नेपालगन्जको ट्राफिक व्यवस्था



वीरेन्द्र जैसी । नेपालगन्ज ।

ट्रयाक्टर र टिपर चल्ने बाटोमा कुरिबस्ने, लाइसेन्स चेकिङलाईनै मुख्य कामको रूपमा लिने, सहरी र ट्राफिक अस्तव्यस्त भएका ठाउँमा भन्दा बाहिरी र कम सवारी आवतजावत हुने ठाउँमा मात्रै खटिने गरेको आरोप ट्राफिक प्रहरीलाई लाग्दै आएको छ । तर, पछिल्लो केही महिनायता नेपालगन्जमा ट्राफिक प्रहरीले सहरको ट्राफिक व्यवस्था सुधारमा केन्द्रित भएर काम गरिरहेको छ ।

नेपालगन्जका पाँचवटा चोकमा ट्राफिक लाइट जडान गरिएकोमा तीन वटा चोकमा ट्राफिक लाइट पालना गराउन ट्राफिक प्रहरीले सुरु गरेको हो । ट्राफिक लाइट पालना गराउन सुरु हुँदा मुख्य र व्यस्त चोकहरूमै सवारी साधन पार्किङ गर्ने, जथाभावी सडक क्रसिङ गर्ने, जेब्राक्रसिङको पालना नगर्ने लगायतका समस्या कम भएका छन् ।

ट्राफिक लाइटको पालना स्वतः स्फूर्तरूपमा चालकहरूले नगरिदिँदा प्रहरी खटाएरै पालना गराउनु परिरहेको छ । अहिले पहिलो चरणमा बानी विकास गर्न र सचेतीकरण गर्न प्रहरी खटाइएपनि विस्तारै लाइटको पालना नगर्नेहरूलाई कारबाहीको चरणमा जाने रणनीति रहेको ट्राफिक प्रहरी बताउँछ ।

यसैगरी नेपालगन्जको त्रिभुवन चोकदेखि त्रिवेणी मोडसम्म सदरलाइन भनेर चिनिने सडकको दुबैतर्फ सवारी साधन पार्किङ गरिँदा सडक साँघुरो भएर ट्राफिक अस्तव्यस्त हुने गरेको थियो । लेन पालना गराउन कठिनाइ हुने, जथाभावी पार्किङ गरिने गर्नाले उक्त सडक नेपालगन्जकै सबैभन्दा बढी ट्राफिक अस्तव्यस्तता भएको सडकका रूपमा परिचित थियो । अहिले दुई पांग्रे सवारी साधन मात्रै पार्किङ गर्न मिल्ने र त्यो पनि सडकको मध्य भागमा मात्रै पार्किङ गर्ने व्यवस्था मिलाएर उक्त सडकको अव्यवस्थाको समाधान निकालिएको छ ।

सदरलाइनको सडकमा पार्किङ गराउन रोक्दा व्यापारमा असर पर्ने भन्दै व्यवसायीहरूले विरोध गर्ने र दुईतर्फ पार्किङ गर्दा सडक साँघुरो हुने समस्याको मध्यमार्गी समाधान निकालिएको नेपालगन्ज ट्राफिक पोष्टका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) प्रवीण आचार्यले जानकारी दिए ।

सडकको मध्य भागमा दुईपांग्रे सवारी साधन पार्किङ गर्दा दुईतर्फी लेनहरू अलग–अलग भएका छन् भने जथाभावी ओभरटेक गर्न नसकिने भएको छ । साथै, पैदलयात्रीहरूलाई फुटपाथ प्रयोग गर्न सहज भएको वरिष्ठ सई आचार्यले बताए । सदरलाइनको वर्षाैँदेखिको समस्याको समाधान ढिलै भएपनि ट्राफिक प्रहरीले निकालेको भन्दै व्यवसायीहरू पनि खुसी छन् । स्थानीय व्यापारी रामशंकर वैश्यले भने, ‘ट्राफिक प्रहरीले राम्रो काम गरेको छ । अब जाम लाग्दैन ।

व्यापारलाई पनि सहज भएको छ ।’ अर्का व्यवसायी शिवम गुप्ताले पछिल्लोपटक ट्राफिक प्रहरीले गरेको मिहिनेतले आफूलाई खुसी लागेको बताए । ‘ट्राफिकहरूले बहुत राम्रो काम गरेका छन् । पार्किङ बीचमा गराउँदा सहज भएको छ । हिँड्नेहरूलाई पनि पहिला अप्ठ्यारो थियो । अहिले सहज भएको छ । प्रहरीहरू राती राती पनि काम गरेको देखेको छु ।’

वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) प्रवीण आचार्यका अनुसार रातीको समयमा उक्त सडकको मध्यभागमा पार्किङ गर्ने ठाउँ मार्किङ गर्ने काम प्रहरीहरू आफैँ खटेर गरिरहेका छन् । उनले भने, ‘हामी १३ जना छौँ । ड्युटी आवर केही भनेका छैनौँ । राती कतिबजे आवाजमा जान्छु म आफैँलाई यकिन छैन ।’

यसैगरी भेरी अस्पताल अघिको सडक, धम्बोझीदेखि सेतु विक चोक सडक, घरबारीटोल सडक र त्रिभुवन चोक पूर्व लाइनमा आलो पालो एकतर्फी मात्रै पार्किङ गर्न पाइने नियम लगाइएको छ । यद्यपि यसको पालना पूर्णतः हुन सकेको छैन । ट्राफिक प्रहरीको जनशक्ति नै कम हुँदा उक्त नियम पालना गराउन असहज भएको आचार्यको भनाइ छ ।

धम्बोझी चोक नजिकै नेपालगन्ज गुलरिया सडकको छेउछाउमा गुलरियातर्फ जाने सार्वजनिक सवारीहरूले अनधिकृत पार्किङ गर्ने, सडकमै यात्रु चढाउने र झार्ने गर्दा उक्त खण्ड पनि अस्तव्यवस्त हुने गरेको थियो । अहिले प्रहरीले उक्त खण्डमा पनि सडकमा यात्रु चढाउन र झार्न नदिने व्यवस्था मिलाएको छ । यसैगरी गुलरियाबाट नेपालगन्जतर्फ आउने सवारी मालबाहक ट्रक, टिप्पर, ट्रयाक्टर लगायतका सवारी साधनलाई नन्दनी मिलबाट सिँधै कारकाँदो बाइपास सडक प्रयोग गर्न लगाउने गरिएको छ । जसले मुख्य सडकमा सवारी चाप कम गराएको छ ।

यसबाहेक ट्राफिक प्रहरीले कोहलपुर–नेपालगन्ज सडक खण्डमा गति जाँच गर्ने, ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, पार्किङ र लेन अनुशासन पालना गराउने काम गरिरहेको जनाएको छ । नेपालगन्जको नगर प्रहरीसँग सहकार्य गरेर फुटपाथ खाली गराउने र ई–रिक्सालाई पनि ट्राफिक नियम पालना गराउने काम गरिरहेको वरिष्ठ सई आचार्यले बताए ।

यति हँुदा हुँदै पनि नेपालगन्जमा अझै जथाभावी पार्किङ गर्ने, लेन अनुशासनको पालना नगर्ने लगायतका समस्याहरू रहेका छन् । यसका साथै सार्वजनिक सवारीका कर्मचारीहरले यात्रुहरूको गुण्टा तानातान गर्ने, अस्वस्थ प्रतिस्पर्धा गर्ने गर्दै आएका छन् ।

सडक मार्किङमा बेवास्ता

नेपालगन्जको धम्बोझी चोक, पुष्पलाल चोक र विपी चोकमा ट्राफिक लाइटको पालना गराउन सुरु गरिएको छ । तर, तिनै चोकहरूमा न जेब्राक्रसिङ दुरुस्त छन् न सडक मार्किङ । शुक्रबार नेपालगन्जको पुष्पलाल चोकमा ट्राफिक लाइट पालना नगरेको भन्दै प्रहरीले एक चालकलाई हप्काइरहेका थिए । ती चालकले आफूले मार्किङ स्पष्ट देख्न नसकेर झुक्किएको बताइरहेका थिए ।

ट्राफिक प्रहरी पोष्ट नेपालगन्जका प्रमुख वरिष्ठ सई प्रवीण आचार्य सडक दुर्घटनाको मुख्य कारणमध्ये एक सडक मार्किङ र लेनको पालना नगरिनु रहेको बताउँछन् । तर, नेपालगन्जको मुख्य सडकमै त्यस्ता मार्किङहरू नै मेटिइसकेको छ नि भन्ने प्रश्नमा उनले भने, ‘मार्किङ गर्ने भनेर हामीसँग बजेट हुँदैन । राजमार्गमा सडक डिभिजनले र अन्य सडकमा नगरपालिकाले मार्किङ गर्नुपर्ने हो । हामीले उहाँहरूको ध्यानाकर्षण गराएका छौँ ।’ रत्न राजमार्ग (सुर्खेत रोड) र हुलाकी राजमार्ग (पुष्पलाल चोकदेखि राप्ती) कुनैपनि सडकमा अहिले सडक मार्किङ दुरुस्त छैन । यसैगरी सहरका भित्री सडकहरूमा पनि सडक मार्किङ गरिएको छैन ।

जेब्राक्रसिङ र सडक मार्किङ मेटिइसक्दासम्म पनि दुरुस्त नगरिनुमा सडक डिभिजन नेपालगन्ज र नेपालगन्ज उपमहानगरपालिका दोषी छन् । सडक डिभिजन कार्यालय नेपालगन्जका सूचना अधिकारी रामसागर हरिजन अझै मार्किङको लागि प्रक्रिया सुरु नभैसकेको बताउँछन् । उनले मार्किङको लागि स्टिमेट गर्नै बाँकी रहेको बताए । स्टिमेटपछि ठेक्कामार्फत गर्ने वा सिधै कार्यालयमार्फत काम गराउने भन्ने नै टुंगो लाग्ने उनको भनाइ छ । यता उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षक सूर्य बोगटी पनि सडकमा मार्किङका लागि नगर प्रमुख प्रशान्त विष्टको ध्यानाकर्षण गराएको बताउँछन् ।

पर्यटकीय सवारी चालकलाई अभिमुखीकरण

नेपालगन्जमा रहेर पर्यटकीय सवारी साधन चलाउने चालक तथा सहचालकहरूलाई अभिमुखीकरण गरिएको छ । लुम्बिनी प्रदेश सरकारको पर्यटन विकास परिषद्ले ट्राफिक नियम तथा पर्यटकहरूसँग गर्नुपर्ने व्यवहारबारे अभिमुखीकरण गराएको हो ।

कार्यक्रममा ट्राफिक प्रहरी पोष्ट नेपालगन्जका प्रमुख वरिष्ठ सई प्रवीण आचार्यले ट्राफिक नियमबारे अभिमुखीकरण गराएका थिए । यसैगरी, नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले चाकलहरूले पर्यटकहरूसँग असल र आफन्तको जस्तै व्यवहार गर्न आग्रह गरे । उनले पर्यटकहरू सबैभन्दा पहिले सवारी चालकहरूसँग ठोक्किने भएकोले उनीहरूसँग गरिने व्यवहारले उनीहरूको सम्बन्धित ठाउँका विषयमा सकारात्मक वा नकारात्मक असर पर्ने बताए ।

सिग्देलले केही दिनअघि भारतबाट तीर्थयात्री बोकेर ल्याएको बसका चालकले दाङमा सम्झौताभन्दा बढी भाडा मागेपछि अलपत्र पारिदिएको घटना सम्झिदै त्यस्तो भोगेका पर्यटकले अरुलाई पनि नकारात्मक सन्देश नै प्रवाह गर्ने बताए । चालकमार्फत गरिने व्यवहारले पर्यटकहरूमा सकारात्मक प्रभाव परेमा पर्यटकहरूको सङ्ख्या बढ्ने र त्यसले यातायात व्यवसायसँगै समग्र आर्थिक प्रणालीलाई नै टेवा पु¥याउनेतर्फ चालकहरूको ध्यानाकर्षण गराए ।

यसैगरी, पर्यटन विकास परिषद्का सिइओ रामु जोशीले पर्यटकीय सवारीका चालकहरूले चर्काे भाडा असुल्ने, अपशब्द बोल्ने र रुखो व्यवहार गर्ने लगायतका गुनासाहरू आफूहरूकहाँ आएको बताए । त्यसले पर्यटकीय गतिविधिलाई हानी गर्ने र पर्यटकहरूको देशप्रति तथा सम्बन्धित ठाउँप्रति नै वितृष्णा पैदा गर्ने भएकोले पर्यटकमैत्री व्यवहार गर्न आग्रह गरे । साथै, नजिकका पर्यटकीय स्थलको बारेमा पनि जानकारी आफूले पनि हासिल गर्न र पर्यटकहरूलाई जानकारी गराउन उनको आग्रह थियो ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन १२ गते सोमबार