सुदूरपश्चिममा साढे एकलाख किशोरीलाई ‘एचपीभी’ खोप लगाइँदै



कैलाली :  सुदूरपश्चिम प्रदेशसहित देशभरी आजदेखि किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपीभी) अभियान सुरु हुँदै छ ।
मंगलबारदेखि सुरु हुन लागेको अभियानको तयारी पुरा भई हरेक स्थानीय तहमा जनशक्ति खटाइएको जनाइएको हो ।अभियानअन्र्तगत सुदूरपश्चिममा १ लाख ५१ हजार २ सय ९१ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप लगाइने भएको छ । प्रदेशका सबै नौ जिल्लामा यही माघ २२ देखि २८ गतेसम्म सञ्चालन हुने खोप अभियानका क्रममा सो संख्यामा किशोरीलाई खोप लगाइने स्वास्थ्य निर्देशनलय दीपायलले जनाएको छ ।

खोप दिनुपर्ने संख्या बढी रहेको कैलाली जिल्लाको हकमा भने फागुन ४ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ । निर्देशनालयका निमित्त निर्देशक डाक्टर खगेन्द्र बमले खोप अभियानका क्रममा कक्षा छदेखि १० सम्म अध्ययनरत र विद्यालयबाहिर रहेका किशोरीलाई पनि खोप लगाउन लागिएको बताए । खोप अभियानका लागि १ लाख ८० हजार खोप व्यवस्थापन गरिएको छ ।

उनले भने, ‘विद्यालयमा अध्ययनरत १ लाख ४५ हजार ८ सय ९४ किशोरी र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका ५ हजार ३ सय ७९ किशोरीलाई एचपीभी खोप लगाउन लागिएको छ ।’ खोप लगाउनुपर्ने किशोरीमध्ये सबैभन्दा बढी कैलालीमा ५० हजार ६ सय १३ र कञ्चनपुरमा २७ हजार ५ सय किशोरी छन् ।
सबैभन्दा कम दार्चुलामा ७ हजार २ सय ९१ किशोरी छन् । खोप अभियानका लागि प्रदेशभरि २ हजार ८ सयभन्दा बढी स्वास्थ्यकर्मी र करिब ५ हजार स्वयम्सेवी परिचालन गर्न लागिएको छ ।

अभियान सञ्चालनका लागि हरेक विद्यालयमा खोप केन्द्रको व्यवस्था गरिएको र त्यहाँ छुटेकालाई स्वास्थ्य केन्द्रमार्फत पनि यो खोप दिन व्यवस्थापन गरिएको निमित्त निर्देशक बमले बताए । उनले भने– ‘नेपालमा प्रत्येक दिन चार जना महिलाको पाठेघरको क्यान्सरका कारण मृत्यु हुने गरेको तथ्यांक छ । यो खोप ९५ प्रतिशत प्रभावकारी देखिएकाले खोप लगाइसकेपछि पाठेघरको क्यान्सरको समस्या घट्ने विश्वास गरिएको छ ।’

 

  • No tags available
प्रकाशित मिति : २०८१ माघ २२ गते मंगलबार