संगीत कलाको भोक जगाउँदै सरस्वती संगीतालय



वीरेन्द्र जैसी,नेपालगन्ज : नेपालगन्ज उपमहनगरपालिका वडा नम्बर १३ का सम्राट जी मल्ल भर्खर ६ वर्षका भए । उनी आजभोली दिनमा एकपटक नेपालगन्जको रामलीला मैदान छेउँमा सरस्वती मन्दिरको प्रांगणमा रहेको सरस्वती संगीतालयमा आएर आफ्ना कलिला औँलाहरु क्यासियोमा चलाउँदै संगीत निकाल्न पर्यत्न गरिरहेका हुन्छन् ।

सम्राटसँगै उनकी ८ वर्षीया दिदी जेनिशा मल्ल पनि करिब चार महिनादेखि वाद्यवादन सिकिरहेकी छन् । जेनिशा क्यासियोमा औँला चलाउँदै लोकप्रिय हिन्दी गीत, ‘जिन्दगी और कुछ भि नहीँ’ को संगीत बजाउने पर्यत्न गर्दै थिइन् भने सम्राट ‘फूलको आँखामा फूलै संसार’ को संगीत बजाउने पर्यत्न गर्र्दै थिए ।
सम्राट र जेनिशालाई संगीत सिकाइरहेका छन् नेपालगन्जका बहुप्रतिभाशाली कलाकार श्यामानन्द सिंहले । ‘अहिले मोबाइल नभएपछि छट्पटिने बालबालिकाहरुका लागि यो एकदमै सही मार्ग हो । यहाँ आउने बालबालिकाका अभिभावकहरु एकदमै खुसी हुन्छन् । यस्तो बजाएको देखेपछि,’ सिंहले भने ।

‘सरस्वती संगीतालय’ नेपालगन्जको बिर्सिइन लागेको ऐतिहासिक साँगितिक संस्था हो । नेपालगन्जका संगीतकार रमेश शर्मा र संगीतप्रेमीहरुको अगुवाइमा करिब २०३४–३५ सालतिर उक्त संगीतालय सुरु गरिएको जानकारहरु बताउँछन् । शर्माले त्यतिबेला अहिलेको जिल्ला हुलाक कार्यालय रहेको ठाउँअघि सञ्चालनमा ल्याएको संगीतालयमै वाद्यवादन र गायनकला सिकेका थिए श्यामानन्दले पनि ।

सरस्वती संगीतालयमा आफूसहित नेपालगन्जका धेरै युवाहरुमा कलाकारिताप्रतिको रस बसाइदिएको कलाकार एवम् सरस्वती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र यादव बताउँछन् । यादवका अनुसार सरस्वती संगीतालयमै प्रसिद्ध चलचित्र अभिनेता तथा निर्देशक वीरेन्द्र हमाल, कलाकार शुष्मा शाहीले पनि कक्षा लिएका थिए । संविधानविद् एवम् संगीतकार भीमार्जुन आचार्यले पनि कुनै समय उक्त सरस्वती संगीतालयमै कक्षा लिएको यादव बताउँछन् ।

पछि २०४० सालतिर सरस्वतीको मन्दिर रहेको हालको स्थानमा संगीतालयको लागि भनेर भवन निर्माण भएको यादवले जानकारी दिए ।
तर, त्यस्तो गौरवशाली इतिहास बोकेको संगीतालय १० वर्षे सशस्त्र द्वन्द्वको प्रभाव र कलाकारहरुको उदासिनताले बन्द हुन पुग्यो । त्यसपछि मन्दिर पनि बेवारिसे जस्तै हुन पुग्यो । अहिले कलाकार सिंहको पहलले नयाँ पुस्तामा वाद्यवादन र गायनप्रति भोक जगाउने काम गरिरहेको छ सरस्वती संगीतालयले ।

२०८१ साल वैशाखमा आन्द्रामा देखिएको क्यान्सरलाई जितेर तंग्रिदै गरेका कलाकार सिंहले संगीतालयलाई पुनर्जीवित गर्ने इच्छा जाहेर गरे । आफूले जानेको सीप नयाँ पुस्तामा हस्तान्तरण गर्ने प्रस्ताव गरेपछि मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शाहले पनि साथ दिए । सिंहले आफूसँग भएका मादल, हार्मोनियम, बाँसुरी लगायतका साधनहरु लिएर आए । करिब २८ वर्षपछि सरस्वतीको मन्दिरमा फेरि संगीत घन्किन थाल्यो ।

संगीतालय पुनः सञ्चालनमा आएको यस अवधिमा एक दर्जन भन्दा बढी व्यक्तिहरुले संगितालयमा उपलब्ध बाद्यवादनको आधारभूत सीप सिकेका श्यामानन्द बताउँछन् । त्यसमध्ये आधाजति बालबालिकाहरु रहेका उनले बताए । ‘एक जना इन्जिनियर साब हुनुहुन्छ उहाँले शौखको रुपमा सिक्न आउनुहुन्छ । कोही जागिरे हुनुहुन्छ, कोही व्यापारी । उहाँहरु संगीतप्रतिको इच्छा पूरा गर्नका लागि भएपनि सिक्न आएको भन्नुहुन्छ,’ सिंहले भने ।
नेपालगन्जका सुरजसिंह ठाकुर त गायक नै हुन्, जो संगीतालयमा विशेषगरी हार्मोनियम सिक्न आइरहेका छन् ।

ठाकुरले चर्चित गायिका एलिना चौहानसँग ‘निष्ठुरीको यादले पलपल मुटु जलाउँछ’ बोलको गीत गाएका छन् भने गायिका अनु चौधरीसँग ‘गुलाबके फूल जैसन बा तोहर जवानी’ बोलको गीत गाएका छन् । नेपालगन्जमा संगीत सिक्ने ठाउँको अभाव रहेको पीडा आफूलाई राम्रोसँग अनुभव भएको बताउँदै सुरजले संगीतालय सन्चालनमा आएसँगै आफूलाई संगीतमा थप साधना गर्ने जाँगर आएको सुनाए ।

‘यो त हाम्रा लागि धेरै खुसीको कुरा हो । नेपालगन्जमा यसबाहेक अर्काे संगीत सिक्ने ठाउँ नै छैन । कहिले कतै कहिले कतै गएर गायनको अभ्यास गर्ने गरेका थियौँ । अहिले यो एउटा ठाउँ पाएका छौँ,’ सुरजले भने ।नेपालगन्जकै शुभम् सिंह हार्मोनियमसँगै गायनको पनि अभ्यास गर्छन् संगीतालयमा आएर । उनले आफ्नो रुचीको क्षेत्र संगीत भएकोले अभ्यास गरिरहेको बताए ।

गत वैशाखमा संगीतालय पुनः सञ्चालनमा आएको दिन नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले भनेका थिए, ‘संगीतालयलाई के आवश्यक पर्छ त्यसको व्यस्थापन गर्न म तयार छु ।’ अहिले संगीतालयलाई वाद्यवादन साधनहरु र थप प्रशिक्षकहरुको आवश्यकता परेको छ । कलाकार सिंहले भने, ‘यहाँ भएका सबै साधनहरु मेरो व्यक्तिगत प्रयासबाट जम्मा गरेको हुँ ।

साना साना नानीहरुको संगीतप्रतिको रुचीलाई थप फक्रिन र फुलाउन पनि यो संगीतालय निरन्तर चल्नुपर्छ ।’ आन्द्राको क्यान्सरको उपचारबाट तंग्रिदै गरेका श्यामानन्दले पेटमा बाँधेको पट्टि देखाउँदै भने, ‘म त कालको मुखबाट बाँचेर आएको हुँ । कलाकारिताप्रतिको मोहले नै मलाई बचायो जस्तो लाग्छ । उपचारबाट फर्किएपछि नै मैले यहाँ संगीत सिकाउन थालेको हुँ । मेरो त कुन बेला हो भर नै छैन ।’

अध्यक्ष यादव आफूहरुले संगीतालयलाई निरन्तरता दिन स्थानीय तहलाई घचघच्याउनेदेखि लिएर अन्य आवश्यक पहल गरिरहेको बताए । सुरजले भने, ‘गुरुले न्यूनतम शुल्कमा यस्तो अप्ठ्यारोमा पनि दुःख गरिरहनुभएको छ । स्थानीय सरकारले यसको महत्व बुझेर प्रशिक्षक थप्नेदेखि लिएर आवश्यक साधनस्रोतको व्यवस्था गरिदिनुपर्छ ।’
यस्तो छ सरस्वती मन्दिरको इतिहास
नेपालगन्ज रामलीला मैदाननजिक रहेको उक्त सरस्वती मन्दिरको इतिहास रोचक छ । कतै लिखित रुपमा नभए पनि श्रु्तिअनुसार जंगलै जंगल रहेको अवस्थामा हाल मन्दिर रहेको स्थानमा डाकुहरु जम्मा हुने गर्थे । पछि डाकुहरुले त्यसै ठाउँमा पूजा गर्न थाले । स्थानीयहरुले त्यो देखेपछि यहाँ सरस्वतीको वास छ भन्ने विश्वासले स्थानीयवासीहरुले पनि पूजा गर्न थालेको विश्वास रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रधानाध्यापक समेत रहेका वीरेन्द्र यादव बताउँछन् ।

पछि उक्त स्थानमा मूर्ति स्थापना गर्ने र संरचनाहरु बनाउने काम हुँदै आयो । विशेषगरी २०४० सालमा सरस्वती संगीतालयको भवन निर्माण भयो भने २०६० साल माघ १२ गते प्रसिद्ध स्वास्थ्यकर्मी, साहित्यकार एवम् समाजसेवी डा.कृष्णजंग राणा र उनकी श्रीमती शान्ता राणाले सरस्वतीको विशाल मूर्ति स्थापना गरे । २०६८ सालमा मन्दिरकै प्रांगणमा मेघराज भण्डारी, देवकुमारी भण्डारी र सीतादेवी भण्डारीले पनि सरस्वतीको मूर्ति स्थापना गरे ।

लागूऔषध दुव्र्यसनीहरुको आश्रयस्थल हुन थालेको मन्दिरलाई व्यवस्थित गर्ने काममा स्थानीय सरकार गठनपछि तत्कालीन वडाध्यक्ष वीरेन्द्र शाहले पहल गरे । उनले मन्दिरको रंगरोगन र जीर्णाेद्धार गराए । मन्दिर व्यवस्थापन समिति गठन गरियो । उच्छृृंखल व्यक्तिहरुले त्यसपछि पनि संगीतालयको झ्यालढोकादेखि सरस्वतीको मूर्तिमा तोडफोड गरे ।
अहिले मन्दिरमा आवश्यक संरचना थप्ने, सुरक्षित बनाउने र मन्दिरमा अवान्छित गतिविधि नियन्त्रण गर्न आफू लागि परिरहेको अध्यक्ष यादव बताउँछन् ।
आज सरस्वती पूजा
आज वसन्त पन्चमीको दिन सरस्वती मन्दिरमा धुमधाम पूजा हँदै छ । हरेक वर्षझैँ यसवर्ष पनि हजारौँ मानिसहरुको सहभागितामा पूजाअर्चनाको कार्यक्रम हुने अध्यक्ष यादवले बताए । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र यादवका अनुसार मन्दिरमा आएर अक्षराम्भ गराउनेदेखि सरस्वतीको पूजा गर्नेहरुको आज मन्दिरमा एकाबिहानैदेखि घुइँचो लाग्छ । ‘अघिल्ला वर्षहरुको आधारमा भन्ने हो भने करिब पाँच हजार मानिसहरु पूजा अर्चना गर्छन्,’ यादवले भने ।
सरस्वती पूजासँगै मन्दिर परिसर संगीतमय हुने पनि यादवले बताएका छन् । संगीतालयका प्रशिक्षक कलाकार सिंहले पनि सरस्वती पूजाको दिन भजनकिर्तन र वाद्यवादन गरेर मनाउने तयारी गरिएको जानकारी दिए ।वसन्त पन्चमीको दिन विद्या, ज्ञान, बुद्धि र कलाका पारखीहरुले सरस्वतीको आराधना गर्ने गर्दछन् । यसदिन बालबालिकालाई पहिलोपटक अक्षर चिन्न सुरु गराउँदा शुभ हुने विश्वास हिन्दु धर्मावलम्वीहरुमा रहेको पाइन्छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८१ माघ २१ गते सोमबार